संकल्प बहुउद्धेश्शीय सहकारी संस्थाको साधारणसभा सम्पन्न
बर्दघाट – संकल्प बहुउद्धेश्यीय सहकारी सहकारी संस्था लिमिटेड बर्दघाट– ४ को १४ औँ बार्षिक साधारणसभा शनिबार बर्दघाटमा सम्पन्न भएको छ । कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले सहकारीले ऋण र बचतमा मात्र ध्यान नदिई आफ्ना शेयर सदस्यहरुलाई उत्पादन संग जोड्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै जिल्ला सहकारी संघका प्रतिनिधि दिल कुमारी कुंवरले सहकार्य बाट नै सहकारी संचालन हुने हुदां शेयर सदस्य र सञ्चालकको ईमान्दारिता बाट सहकारी उत्कृष्ट हुने बताउनुभयो ।
सभामा अध्यक्ष छविलाल खरेलले आर्थिक २०७८/ ०७९ को लक्ष्य तथा प्रगति विवरण र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्नुभयो । सभाले लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक रवि पाण्डेयले प्रस्तुत गरेको प्रतिबेदन समेत पारित गरेको छ ।
कुल २ करोड ९८ लाख ३० हजार ७ सय १८ रुपैया बराबरको आर्थिक कारोबार गरेको संस्थाले ८ लाख २८ हजार ८० रुपिया शुद्ध नाफा गर्न सफल भएको संस्थाकी ब्यवस्थापक चुनु कुमारी मानन्धरले जानकारी दिनुभयो ।
संस्थाले बर्दघाट–६ बेताहानी मा घाँसको बीज बृद्धि कार्यक्रम समेत गर्दै आएको छ । गतबर्ष करिब १० क्विन्टल जै घाँसको बीउ उत्पादन गरेको संस्थाले यसबर्षमा कृषि तथा पशु फर्म समेत संचालन गर्ने जनाएको छ ।
सो अवसरमा संस्थाका सल्लाहकार संयोजक चुडामणि भण्डारी, सल्लाहकार गणेश कुमार पाठक, पत्रकार कृष्ण ढकाललगायतले बोल्नुभएको थियो । कार्यक्रममा संस्थामा उत्कृष्ट बचत कर्ता फूलमाया श्रेष्ठ, उत्कृष्ट ऋणी धनमाया नेपाली र संचालकबाट उत्पादनमा सहयोग गर्ने जीताराम चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष मुक्तमाया महतो थारुको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव विनोद कण्डेलले गर्नुभएको थियो । संस्थाका अध्यक्ष छविलाल खरेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यसैबीच संस्थाले साधारण सभाबाट रिक्त भएको सचिव पद तथा कोषाध्यक्ष सहित ३ जना सदस्य सभाको बन्द सत्रबाट थप गरिएको छ । सचिवमा विश्वेश्वर पटेल, कोषाध्यक्षमा भीमादेवी अधिकारी र सदस्यहरुमा लालु गिरी,भुसाई थारु र द्रोण प्रसाद ढकाललाई निर्वाचित गरिएको अध्यक्ष मण्डल संयोजक तथा संस्थाका सल्लाहकार रमेश बस्यालले जानकारी दिनुभयो ।
त्यस्तै रिक्त दुई लेखा सदस्यमा नर बहादुर थारु र लक्ष्मी न्यौपानेलाई निर्वाचित गरिएको छ ।