निर्वाचनको औचित्य छैन : गजुरेल
'शान्तिपूर्ण कार्यक्रममा दमन भए त्यसको प्रतिवाद'
बुटवल २५ असोज – नेकपा (क्रान्तिकारी माओवादी ) का स्थायी कमिटी सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले मंसिर ४ गते हुने निर्वाचनको औचित्य नभएको बताउनुभएको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रुपन्देहीद्धारा मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
एमसीसी , एसपीपी र नागरिकता विधेयक पारित गरेर संसदले जनघात र राष्ट्रघात गरेको आरोप लगाउदै गजुरेलले मंसिर ४ को निर्वाचनबाट निर्वाचित संसदले पनि सोही ऐन कानून कार्यान्वयन गर्ने भएकोले निर्वाचन बहिष्कार गर्नुपर्ने बताउनुभयो ।
आफुहरुको चुनाव बहिष्कार शान्तिपूर्ण हुने भन्दै उहाँले शान्तिपूर्ण कार्यक्रममा दमन भए त्यसको प्रतिवाद गरिने चेतावनी दिनुभयो ।
बर्तमान संविधानप्रति आफुहरुको असहमति रहेको भन्दै गजुरेलले संविधानलाई झुटको पुलिन्दाको संज्ञा दिनुभयो । अहिले नेपालमा अभ्यास गरिएको लोकतान्त्रिक गणतन्त्र विश्वमा कहि कतै नभएको भन्दै उहाँले यो ब्यवस्था लोकतन्त्र नभएर लुटतन्त्र भएको विचार ब्यक्त गर्नुभयो । पञ्चायतकालमा लोकेन्द्रबहादुर चन्द र सुर्यबहादुर थापाको दुई गुट भए जस्तै अहिले संसदवादी दलहरुमा सत्ता गठवन्धन र प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा छुट्टाछुट्टै गठवन्धन बनेको भन्दै गजुरेलले दुवै गठवन्धनको उद्धेश्यमा सत्तामा पुगेर कमाउने मात्रै रहेको टिप्पणी गर्नुभयो ।
दलहरु आ आफ्नो घोषणा पत्र लिएर चुनावमा जाने र निर्वाचनमा कसैको पनि बहुमत नआए मात्रै सरकार बनाउन गठवन्धन गर्नु स्वाभाविक भए पनि चुनाव अघि नै गठवन्धन गर्नु लोकतान्त्रिक मुल्यमान्यता बितरीतको कार्य भएको उहाँको दावी थियो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रुपन्देहीका अध्यक्ष केजी कुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी ) का पोलिटब्युरो सदस्य तथा मोर्चाका केन्द्रीय उपाध्यक्ष केबी गुरुङ लगायतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम मोर्चाका बिक्रम नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
पत्रकार भेटघाट पछि अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले जानकारी गराउनुभयो ।