मुटुरोगप्रति चेतना बढ्दैछ
उहाँको यस अभियानले मुटुरोगको रोकथामका निम्ति मानिसमा स्वास्थ्य चेतनाको स्तरवृद्धि हुँदै गएको तथ्य डा. अनिलले दिने ‘हेल्थ टिप्स्’प्रति दर्शकले दिने लाइक, कमेन्ट, शेयर तथा भ्युजले प्रमाणित गर्दछ । २३ जुलाई २०२२ मा अमिलो, पीरो, गुलियो, चिल्लो र मसलासम्बन्धी डा. अनिलले पोस्ट गर्नुभएको आठ मिनेट लामो एउटा भिडियोलाई १ लाख जनाभन्दा बढीले लाइक गरेका छन् ।
त्यस्तै, ४ हजारभन्दा बढीको कमेन्ट, ३४ हजारभन्दा बढी शेयर र करिब ३० लाख जनाले भिडियो हेरेका छन् । डा. अनिल आफैंले निर्माण गरेका तथा विभिन्न सञ्चारमाध्यमले उहाँसँग सम्बन्धित रहेर बनाएका गरी २५ हजारभन्दा बढी भिडियो इन्टरनेटमा छन् । तीमध्ये प्रायः सबै मुटुरोगको रोकथामप्रति केन्द्रित छन् । यस अर्थमा मुटुरोगको रोकथामका निम्ति डा. अनिलले ‘सामाजिक क्रान्ति’को शुरुआत गर्नुभएको मान्न सकिन्छ ।
रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम विकल्प हो । रोग लागिहालेमा के गर्ने ? भन्ने चाहिँ दोस्रो विकल्प हो । दुवै विकल्पका निम्ति मानिसले आफ्नो जीवनशैली र व्यावहारमा परिवर्तन गर्न जरुरी रहेकाले कसरी बढीभन्दा बढी मानिससम्म स्वास्थ्य चेतना पु¥याउन सकिन्छ भनेर क्रियाशील रहँदै आएको डा. अनिलको भनाइ छ । आफ्ना १२ लाखभन्दा बढी फ्लोर्स र उनीहरूका माध्यमबाट स्वदेश–विदेश, गाउँ–शहरका लाखौं मानिससमक्ष स्वस्थ मुटुको महाअभियानमा क्रियाशील मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलसँग विश्व मुटु दिवस–२०२२ का सन्दर्भमा नेपाल समाचारपत्रका लागि राजु श्रेष्ठले गर्नुभएको कुराकानी ।
डाक्टरसाबले सामाजिक सञ्जालमार्फत ‘हेल्थ टिप्स’ दिँदै आउनुभएको छ । यसरी दिनुका कारण के होला साथै ‘हेल्थ टिप्स’ को विषय छनोट कसरी गर्नुहुन्छ ?
समाजमा छिटो सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम सामाजिक सञ्जाल हो । हाम्रो समाज, जीवनशैली, आनीबानी र व्यवहारका कारण मुटुरोगको समस्या जटिल बन्दै गएको छ । यसलाई नियन्त्रण गर्न मानिसमा स्वास्थ्य चेतना जगाउनुपर्छ भनेर यो माध्यम रोजेको हुँ ।
त्यहाँमा समावेश गरिने विषयवस्तु मैले दैनिकरूपमा भेट्ने बिमारीबाट लिने गरेको छु । बिरामी जाँच्ने क्रममा उहाँहरूमा देखिने स्वास्थ्य समस्या, रोगप्रतिको बुझाइ, खानपान, जीवनशैलीलगायत समाजमा खड्किरहेको विषय के हो भन्ने पहिचान गरी त्यसलाई समेटेर सबैले बुझ्नेगरी सरल भाषामा आफ्नो प्रस्तुति दिने गरेको छु ।
यसको प्रभावकारिता कस्तो पाउनुभएको छ ?
समाजमा निक्कै ठूलो परिवर्तन ल्याएको मैले महसुस गरेको छु । मुटुरोगप्रति आममानिसको सचेतना बढेको छ । मैले ११ वर्ष अघि यस अभियान शुरू गर्दाको अवस्था र अहिले मानिसमा आफ्नो स्वास्थ्यप्रतिको जागरुकता बढ्दै गएको छ । जीवनशैलीमा परिवर्तन, आनीबानीमा सुधार तथा नियमित स्वास्थ्य परीक्षण, उच्च रक्तचापप्रतिको होसियारी, नियमित औषधि सेवन गर्नुपर्छ भन्ने चेतना बढेको छ । त्यतिमात्र होइन हृदयघातको शंका लागेमा तत्काल कुन औषधि प्रयोग गर्न सकिन्छ, भनेर फेसबुकमा प्रश्न सोध्यांै भने ४÷५ हजार जनाबाट ‘एस्प्रिन’ भन्ने जवाफ आउँछ, यो महत्वपूर्ण उपलब्धि हो । यसमा सञ्चारमाध्यम तथा स्वास्थ्यका क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीहरूको पनि निक्कै ठूलो साथ छ ।
तपाईं निक्कै व्यस्त चिकित्सक हुनुहुन्छ, स्वास्थ्य सचेतनाका निम्ति कसरी समय व्यवस्थापन गर्नुहुन्छ, कहिलेकाहीं होस् भो भन्ने लाग्दैन ?
सामान्यतया मुटुरोग ४० देखि ७० वर्ष उमेर समूहका मानिसमा लाग्ने गरेको पाइन्छ । त्यो उमेरका प्रायः मानिस परिवारको मुख्य सदस्य हुन्छन् । यदि, घरमुलीमा यस्तो समस्या देखाप¥यो भने त्यो घरमा आइपर्ने आर्थिकलगायतको जटिला कस्तो होला । हाम्रो सानो प्रयासले जटिलता कम गर्न सक्यौं भने आफ्नो व्यक्तिगत कठिनता सामान्य हुन् ।
मुटु, मस्तिष्क तथा मृगौलालाई उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल जस्ता समस्याले असर पु¥याउँछ । त्यो समस्याको पहिचान र नियमित स्वास्थ्य परीक्षण गरी चिकित्सकको सल्लाह बमोजिम आफ्नो जीवनशैली खानपानमा परिवर्तन गर्न सकेमा हुनसक्ने जटिलता तथा दुर्घटनाबाट बच्न वा न्यूनीकरण गर्न सकिन्छ ।
जनस्वास्थ्यका सवालमा सरकार मात्र होइन व्यक्ति तथा समाज पनि गम्भीर बन्नुपर्छ । त्यसका निम्ति स्वास्थ्य शिक्षासहितको जनचेतना आवश्यकता छ । हो, म दैनिक ११÷१२ घण्टा बिमारीको सेवामा सक्रिय रहन्छु । तथापि, मैले स्वास्थ्य सचेतनासम्बन्धी प्रस्तुति दिँदै आएको हुन्छु । आफ्नो व्यक्तिगत समय, परिवारलाई दिनुपर्ने समय, आफन्तहरूलाई दिनुपर्ने समयलाई कटाएर स्वास्थ्य सचेतना जगाउन लागेको हुन्छु । यो कठिन छ तर समाजमा ल्याएको परिवर्तनबाट सन्तुष्टि मिल्छ ।
नेपालमा मुटुरोगको अवस्था चाहिँ कस्तो छ ?
मुटुरोगको समस्या धनी राष्ट्रमा भन्दा गरिब राष्ट्रमा बढी छ । नेपालको सन्दर्भमा मुटुरोगको समस्या गम्भीर नै छ । स्तरीय उपचारको कमी, भौगोलिक जटिलता, पर्याप्त स्वास्थ्य बीमा नहुनु, चेतनाको कमीलगायतका कारणले गर्दा नेपालमा मुटुरोगको अवस्था गम्भीर भएको हो ।
सन् २०१९ को एउटा अध्ययनअनुसार नेपालका करिब २५ प्रतिशत जनतामा उच्च रक्तचापको समस्या छ । आफूलाई उच्च रक्तचाप भएको थाहा नै नपाउने ५५ प्रतिशत छन् ।
समस्याको पहिचानपछि चिकित्सकले औषधि सेवन गर्न सल्लाह दिँदा पनि औषधि खान नमान्ने ५५ प्रतिशतभन्दा बढी नेपालीले ढिलागरी औषधि स्वीकार गर्दा मुटुका साथै मृगौला, मस्तिष्कमा समेत असर पु¥याएको पाइन्छ ।
त्यस्तै, ७३ प्रतिशतले आफूमा मधुमेहको समस्या भएको थाहा नपाएरै बसिरहेको अवस्था छ । उच्च कोलेस्ट्रोल ११ प्रतिशत मानिसमा देखिएको छ भने करिब ९८ प्रतिशतलाई कोलेस्ट्रोल भएको थाहा नै छैन । शरीरका अन्य भागमा जटिल समस्या पारेपछि मात्र परीक्षण र उपचारको थालनी गर्ने स्थिति रहेको छ । गम्भीर समस्या उत्पन्न भएपछि गरिने उपचारबाट आउने परिणामभन्दा पीडा बढी हुने अवस्था छ ।
यहाँले केही समय अघि गुलियो, नुनिलो, मसलेदार खानाका बारेमा एउटा प्रस्तुति दिनुभएको थियो । त्यो निक्कै प्रभावकारी देखिएको छ, यो किन दिनुभएको हो ?
प्रायः नेपालीका खानामा गुलियो, चिल्लो, नुनिलो, मसलेदार र पीरो हुन्छ । अझ दशैंका बेला यस्ता खानेकुरा बढी हुन्छन् ।
मानव स्वास्थ्यका लागि सबैभन्दा हानिकारक गुलियो पदार्थ हो । त्यसपछि नुनिलो, चिल्लो र मसलेदार खाना हानिकारक हुन् । अमिलो र पीरो राम्रोमध्ये पर्छ । यी कुरा हाम्रो दैनिक खानपिनसँग सम्बन्धित हुन् ।
खानपिन, बानी–व्यवहार र जीवनशैलीले मुटुरोग लाग्ने÷नलाग्ने धेरै हदसम्म निर्धारण गर्छ । आफ्नो जीवनशैलीलाई प्रभाव पार्ने यस्ता जानकारीले मुटुरोगबाट बच्ने उपाय जनमानससमक्ष पुग्छ । यसले अदृश्यरूपमा स्वास्थ्य समस्या हुनबाट जोगाइराखेको हुन्छ ।
अन्त्यमा हाम्रा पाठकलाई थप केही भन्न चाहनुहुन्छ ?
कतिपयलाई मुटुरोगको लक्षण थाहा नपाउँदा ग्यास्ट्रिकको औषधि सेवन गरेर बस्ने वा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने अवस्था छ । अर्कोतिर समस्या पहिचान भएर पनि ढिलो उपचार पाउँदा दुःखद घटना हुने गरेका छन् । त्यसैले नियमित स्वास्थ्य परीक्षण गर्न जरुरी छ । कतिपयले यसलाई अनावश्यक वित्तीय भारका रूपमा लिने गरेको पनि पाइन्छ । तर, समयमा उपचार नहुँदा हुन सक्ने दुर्घटनाका अगाडि त्यो सामान्य हो ।
मुटुरोगले स्वास्थ्यबाहेक आर्थिक, सामाजिक एवं परिवारमा पार्ने असरका बारेमा सचेत हुनुपर्छ । हृदयघातको उपचार महँगो पनि छ । साथै जीवन नै जानसक्ने खतरा पनि भएकाले नियमित स्वास्थ्य परीक्षण, स्वच्छ तथा स्वस्थ आहार, नियमित व्यायाम, मदिरा र सुर्तीजन्य पदार्थबाट टाढा रहँदै मानसिकरूपमा आराम उत्तम उपाय हो ।
बढ्दो उमेरसँगै आउने स्वास्थ्य जटिलतालाई कम गर्न खानपानबारे सचेतना बढाउनु अहिलेको आवश्यकता र चुनौती दुवै छ । मानव शरीर प्राकृतिक भएकाले अप्राकृतिकरूपमा बनाइएका चिजले शरीरलाई बेफाइदा गर्छ । निस्क्रिय जीवन जिउने, खानपानमा ध्यान नदिने, चिकित्सकको सल्लाह नमान्ने गर्दा मानिसले आफूले मात्र दुःख पाउने होइन । घरपरिवार, समाज र देशलाई नै नोक्सानी पु¥याएको हुन्छ । newsofnepal