स्वर्ग पुगिएला त यो बाटो
हिन्दूधर्मअनुसार ‘जीवनमा राम्रो काम गर्ने व्यक्ति मृत्युपश्चात् स्वर्गमा पुग्छ, नराम्रो काम गर्ने व्यक्तिका लागि मृत्युपछि स्वर्गको ढोका बन्द हुन्छ ।’ तर, धार्मिक मान्यताअनुसार ‘स्वर्ग जाने बाटो’ गुल्मी धुर्कोट गाउँपालिका–५ वस्तु हो ।
‘स्वर्ग जाने बाटो’मा प्राकृतिक रूपमा हात्तीको शरीर, पुच्छर र सँुड स्पष्ट देख्न सकिन्छ । यहाँ करिब २३ जति प्राकृतिक रूपमा उत्पत्ति भएका शिवलिंग छन् । धार्मिक हिसाबमा शिवलिंगको महत्व छुट्टै छ ।
हात्तीको शरीर र शिवलिंग हुँदै पुगिने ठाउँलाई ‘स्वर्ग’ नामाकरण गरिएको छ । त्यसैले ‘स्वर्ग जाने’ बाटोबाट धर्मात्मा मात्र छिर्न सक्ने र पापी छिर्न नसक्ने धार्मिक मान्यता छ ।
स्वर्गमा पुगिसकेपछि सेतो रङको शिवलिंग, विभिन्न भगवान् र गोहीलगायत प्राकृतिक रूपमै उत्पत्ति भएको आकृति देख्न सकिन्छ ।
…
वस्तुे कमलावनमा १ सय ८५ मिटर लामो विचित्र गुफा छ । सोही गुफाभित्र रहेको ‘स्वर्ग जाने बाटो’ निकै आकर्षक र धार्मिक हिसाबले महत्वपूर्ण छ ।
‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुंगिन्छ । अर्थात्, त्यसदेखि अगाडि कुनै पनि दृश्य नभएकाले पनि त्यो स्थललाई ‘विचित्रताको अन्तिम दृश्य’का रूपमा लिने गरिएको जानकार एवं हिमालय माविका प्रध्यानाध्यापक कृष्णप्रसाद भण्डारी बताउ“छन् ।
ढेंडु बाँदर लखेट्दा गुफा
ढेंडु बाँदर लखेट्दा ५ असार २०४५ मा गुफा पत्ता लाग्यो । गाउँको बारीमा मकै खान गएको ढेंडु बाँदर लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले एकाएक पहराबीचको सानो प्वालबाट भित्र पसेको देखे ।
पछि, ‘के को प्वाल रहेछ ?’ भनी हेर्न जाँदा गुफा पत्ता लाग्यो । त्यसपछि सुरुमा साबिकको वस्तु गाविसकै १०÷१२ व्यक्ति हातमा राँका (आगोको मुस्लो) र लाइट बालेर गुफाभित्र सामूहिक छिरे ।
गुफा पत्ता लाग्दा मोटा र लामा रूखका जरा एवं अन्य लहरामा करिब १० मिटर माथिसम्म झन्डिएर जानुपथ्र्यो । बस्तीदेखि केही तल ख-यानमा रहेको गुफामा बूढापाका जाने त्यत्ति सहज थिएन ।
अनकन्टार ठाउँ, त्यो पनि ओढारभित्र, हिंस्रक जनावरको प्रवाह नगरी पूरै लम्बाइ चहारेर फर्केका व्यक्तिले गुफाभित्र अनेक विचित्र वस्तु देखेका आधारमा गुफाको नामै ‘विचित्र’ रहन गयो ।
५ सय अटाउने सभाहल
विचित्र गुफामा ५ सय जना अटाउने स्थानलाई ‘सभाहल’ भनिएको छ । त्यसमाथिपट्टिको सिलिङमा विभिन्न आकृतिका कलात्मक बुट्टा र त्यसबीच रातोमाटोले पोतेर सफा गरेको मण्डप छ ।
शिवलिंगसहितको मन्दिर, रामकृष्णको प्रतीक, नागका आकृति, गोपीकृष्ण, जटायु, श्रीपेचलगायत आकृतिले गुफा झन् मनमोहक बनाएको छ ।
गुफामा फेला परेका आकृतिलाई नरसिंह अवतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिंगलगायत नामाकरण गरिएको संरक्षक भानुभक्त भण्डारी बताउँछन् ।
गुफाभित्र पारदर्शी ढुंगा, शिवलिंग, गाईका थन र निकै कलिला चट्टान छन् । ११ कक्ष र गुफाभित्रको चौडाइ फरकफरक ठाउँमा ३ देखि ६० फिटसम्म छ । तल्लो सतह लेसाइलो माटोले बनेको छ ।
गुफाभित्र रहेका मार्गमध्ये पहिलो मार्गमा दुवैतर्फ कडा चट्टान, छतमा दरार एवं चुनढुंगा, दोस्रो कक्षमा छतमा मण्डपाकार आकृति, तेस्रो कक्षमा नरसिंह अवतारको आकृति, चौथो कक्षमा शेष नागको आकृति, पाँचौं कक्षमा कृष्णले दही पोखेको आकृति रहेका छन् ।
त्यस्तै, सातौं कक्षमा अयोध्यापुरीबाट परिचित कक्ष पूजामण्डप, नवौं कक्षमा रावणले सीतालाई हरण गरी लंका लैजाँदाको रथ र जटायुले माथिबाट आक्रमण गरेको मूर्ति, दसौं कक्षमा पारदर्शक पत्थर एवं ११औं कक्षमा गणेश मूर्ति, रामचन्द्रको धनुषवाण राख्ने शोलीलगायत रहेको संरक्षक भानुभक्त भण्डारीले राजधानीलाई जानकारी दिए । गुफामा मुख्य ढोकाबाट भित्र पसेपछि पाँच द्वारको प्राकृतिक आकार देख्न पाइन्छ ।
अध्ययन बाँकी नै
पर्यटनको हिसाबले महत्वपूर्ण गुफाले समग्र जिल्लाकै पहिचान बोकेको छ । तर, आवश्यक प्रचारप्रसार एवं पूर्वाधार व्यवस्थापन नहुँदा गुफाको पहिचान ओझेलमा परेको छ ।
गुफाभित्र सजिलै तोडफोड गर्न सकिने तस्बिर संरक्षणमा ध्यान दिने र थप लम्बाइ’bout अध्ययन गरेमा पर्यटन विकासमा ‘कोसेढुंगा’ साबित हुने विचित्र गुफा संरक्षण समिति अध्यक्ष युवराज भण्डारीको विश्वास छ ।
‘अनुसन्धान भए सम्भवतः नेपालकै ठूलो हुन सक्ने गुफाका अझ धेरै कुरा लुकेरै बसेका छन् । अहिलेसम्म दुई तलासम्म मात्रै अध्ययन गरिएको छ,’ भण्डारी भन्छन्, ‘अन्य तला र त्यसभित्र भएका छुट्टै सुरुङको उत्खनन् र अनुसन्धान हुन सकेकै छैन ।’
केही सुधारका प्रयास
छल्दी खोलादेखि गुफासम्म पुग्नका लागि ४ सय ५० मिटर लामो सोलिङ र सिढीँ निर्माण गरिएको छ । सिँढीबाट गुफासम्म पुग्न करिब १० मिटर पुल र गुफाभित्र पनि सिँढी निर्माण गरिएको छ ।
गुफानजिकै पिकनिकस्थल र सूचना केन्द्रका नाममा पर्यटक आवासका लागि भवनसमेत निर्माण गरिएको छ । केही दिनअघि मात्रै गुफानजिकैबाट रांगदलचौर फेदीसम्म जोड्ने ३ सय ७० मिटरको झोलुंगे पुल शिलान्यास गरिएको छ ।
धुर्कोट गाउँपालिकाले ‘२०८१’लाई ‘पर्यटन वर्ष’लाई बनाउँदै छ । जसमा गुफा र धुर्कोट कोतलाई प्राथमिकतामा राखिएको पालिका अध्यक्ष भुपाल पोखरेल बताउ“छन् । ‘गुफा गाउँपालिकाको भाग्य र भविष्य हो,’ अध्यक्ष पोखरेल भन्छन्, ‘गुफाको पूर्वाधार र प्रचारप्रसारमा जोड दिएका छौं ।’
गुफासम्म यसरी पुगिन्छ
सदरमुकाम तम्घासबाट सेउघा–छल्दी–पनाहा–हुलाके हु“दै धनार्जेसम्म १८ किलोमिटर पक्की सडकमा पुगिन्छ । यसपछि ३ किलोमिटर कच्ची सडक पार गर्दै करिब २५ मिनेट पैदल यात्रापछि गुफासम्म पुगिन्छ भने धनार्जीबाटै १० मिनेट सवारी यात्रामा गुफासम्म पुग्न सकिन्छ ।
त्यस्तै, बाग्लुङ, प्युठान, मालिका गाउँपालिकालगायतका ठाउँबाट धनार्जीमा पुगेर सवारी वा पैदल यात्राबाट गुफासम्म पुग्न सकिन्छ । सदरमुकाम तम्घासबाट सेउघा–सिमाघाट–जैसिथोक हुँदै वस्तु शिवालय मन्दिरमा पुग्ने र त्यहाँबाट करिब १० मिनेटको सवारी यात्रा एवं २० मिनेटको पैदलपछि गुफासम्म पुग्न सकिन्छ । rajdhanidaily