त्रिविका कर्मचारीको दबाबपछि नेविसंघले खोल्यो २ ठाउँका ताला, ५ ठाउँमा जारी

0

कर्मचारीको चौतर्फी दबाबपछि नेविसंघले त्रिभुवन विश्वविद्यालयको आर्थिक र कर्मचारी प्रशासन महाशाखामा लगाएको ताला आईतबार खुलाएको छ ।नेविसंघले असार २७ गते यी महाशाखा सहित रजिष्ट्रार कार्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, व्यवस्थापन र मानविकी डीन कार्यालयमा तालाबन्दी गरेको थियो ।

साउन १२ गते देखि उपकुलपति कार्यालयमा गरिएको तालाबन्दी पनि जारी छ । परीक्षामा हुबहु प्रश्नपत्र सोध्नेलाई कारबाही हुनुपर्ने र समयमा नै नतिजा सार्वजनिक हुनुपर्ने लगायत माग अघि सार्दै नेविसंघले तालाबन्दी गरेको हो ।

तालाबन्दीका कारण कर्मचारीले दुई महिनादेखिको तलब सुविधा समेत पाउन सकेका छैनन् भने विश्वविद्यालयको आर्थिक कारोबार ठप्प भएको छ । कर्मचारी संघसंगठनले चाडपर्वको मुखमा तालाबन्दी नखुलाए फुटाई दिने चेतावनी दिएका थिए । महाशाखा प्रमुखहरुले पनि विज्ञप्ति निकालेर तालाबन्दी खोल्न आग्रह गर्दै आएका थिए ।

महाशाखा प्रमुखहरु सँग वार्ता गर्न गएका नेविसंघका नेता कार्यकर्तालाई आईतबार कर्मचारीले विरोध स्वरुप घेराबन्दी समेत गरे । नेविसंघ कार्यकर्ता श्यामराज ओझा लगायत वार्तामा गएका थिए । ओझाले तालाबन्दीका कारण कर्मचारी मर्कामा परेकाले खुलाईएको बताए । विश्वविद्यालय सुधारका लागि आफूहरुले आन्दोलन गरेको उनको भनाई थियो । ताला खुलेपछि महाशाखा प्रमुखहरुले नेविसंघलाई धन्यवाद दिएका छन् । अन्य ५ निकायमा गरिएको तालाबन्दी भने जारी छ ।

नेविसंघ त्रिवि इकाई पूर्वसभापति हरि आचार्य र पूर्वसचिव योगेन्द्र रावल समुहले २०७७ सालदेखि नै त्रिविमा पटक/पटक तालाबन्दी गर्दै आएको छ । उनीहरु भने वार्तामा सहभागी थिएनन् । आचार्य र रावलमाथि उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गरेको आरोपमा अदालतमा मुद्दा विचाराधीन छ । गतसाता नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले त्रिविका नेविसंघका सबै कमिटी भंग गरेका छन् । kantipurnews

You might also like