जेलमा रहेका आलमको नाम प्रदेशबाट पनि सिफारिस
बम विस्फोट र विस्फोटमा घाइते भएकालाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा जेलमा रहेका कांग्रेस नेता मोहम्मद अफ्ताव आलमको नाम प्रदेश कार्यसमितिले पनि सिफारिस गरेको छ ।
रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि क्षेत्रीय समितिबाट सर्वसम्मत सिफारिस भएका आलमको नाम जिल्ला कार्य समितिले भने काटेको थियो । प्रदेश कार्य समितिले भने क्षेत्रको सिफारिसलाई सदर गरेर केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार आलमलाई कांग्रेसले उम्मेदवार बनाउने निर्णय गरेपनि मनोनयन दर्ता भने हुँदैन । ऐनले जेलमा रहेको व्यक्तिले उम्मेदवारी दिन नमिल्ने व्यवस्था गरेको छ ।
मधेस प्रदेश कार्यसमितिका प्रचार विभागका प्रमुख नितिशकुमार गुप्ताले प्रदेशबाट सिफारिस भएका उम्मेदवारको नाम केन्द्रीय कार्यसमितिलाई बुझाइएको बताए । उनका अनुसार जिल्लाबाट नाम काटिएका आलमको नाम समेत रायसहित केन्द्रीय कार्य समितिलाई बुझाइएको छ ।
कांग्रेसको विधानअनुसार उम्मेदवार चयन गर्दा क्षेत्र, जिल्ला र प्रदेशको सिफारिसका आधारमा केन्द्रीय संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था छ । त्यसअनुसार प्रदेश कार्यसमितिले उम्मेदवारको नाम सिफारिस गरी पठाएको हो ।
प्रदेश कार्यसमितिले जिल्लाबाट छुटेका नेताहरूको नाम समेत थप गरी सिफारिस गरेको गुप्ताले जानकारी दिए । उनका अनुसार प्रदेश कार्यसमितिले कांग्रेसकी पुर्वकोषाध्यक्ष सीतादेवी यादवको नामसमेत सिफारिस गरेको छ ।
आलम अहिले पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागारमा छन् । उनीमाथि २०६४ चैत २७ गते पहिलो संविधानसभा चुनावमा विस्फोटक पदार्थ बनाउने क्रममा घाइतेलाई जिउँदै जलाएको अभियोगमा मुद्दा चलिरहेको छ ।
उनलाई जिउँदै मानिसलाई इँट्टाभटामा हालेको आरोप छ । तर, आलमले भने आफूलाई निर्दोष दाबी गर्दै आएका छन् । उनले आफूलाई थुनामुक्त गर्न दिएको रिट निवेदन सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी चढ्दै स्थगित हुँदै आएको छ । kantipurnews