हेजिङको विषयमा राष्ट्र बैङ्क र कर्मचारीले बुझेनन् : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा राष्ट्र बैङ्क र कर्मचारीहरूले नबुझेको बताउनुभएको छ । शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
मन्त्री शर्माले आफू उर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर हेजिङ चाहिन्छ भन्दा मन्त्रीले देश बर्बाद बनायो भन्ने आरोप लागेको गुनासो गर्नुभयो । विगत लामो समयदेखि नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउन हेजिङ आवश्यक भनेर नियमावली बनाउने कुरा अगाडि बढे पनि राष्ट्र बैङ्क ब्यूरोकेसीलाई बुझाउन नसक्दा ठूलो लडाई लडेर अहिले मन्त्रिपरिषदबाट हेजिङसम्बन्धि नियमावली पास भएको जानकारी उहाँले दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘म उर्जामन्त्री हुँदा हेजिङ आवश्यक रहेको छ भन्ने लाग्यो । मैले हेजिङको विषय उठाएँ, तर अहिलेसम्म फाइनल भएको छैन । मैले राष्ट्र बैङ्कलाई हेजिङको विषयमा बुझाउन धेरै मेहनत गरेको छु । ब्यूरोकेसीलाई हेजिङको विषयमा बुझाउन धेरै मेहनत गरेको छु तर बुझ्दैनन् । हेजिङ चाहिन्छ यो देशलाई भन्दा देश बर्बाद पार्यो मन्त्रीले भन्ने गरिन्छ । हेजिङ जलविद्युतलाई आवश्यक छ तर उसैले चाहिँदैन भन्छ । सबैभन्दा बढी उसैलाई चाहिएको छ । अहिले मुस्किलले ठूलो लडाई लडेर मन्त्रिपरिषदबाट नियमावली पास भएको छ ।’’
नेपालको जलविद्युत क्षेत्रमा सबैभन्दा बढी हेजिङको आवश्यकता भए पनि हाइड्रो व्यवसायीहरूले नै चाहिँदैन भनेको मन्त्री शर्माले बताउनुभयो । विदेशी लगानी ल्याउन नेपालको वैदेशिक लगानीसम्बन्धी नीति निकै कसिला छ । मन्त्री शर्माले राष्ट्र बैङ्क, अर्थ मन्त्रालय, वन मन्त्रालयको नीति कसिलो भएको बताउनुभयो ।
मन्त्री शर्माले भन्नुभयो, ‘‘वैदेशी लगानी ल्यानको लागि परियोजनाको तयारी र परियोजना प्रतिको विश्वास हुनुपर्छ । हाम्रो नीति, कानुन र व्यवहारका कारणले विश्वास नभएको अवस्था छ । सरकारले वैदेशिक ऋण कति लिने भन्ने प्रश्न छ । ऋण लिने तर मुलुकको उत्पादन नबढाउने, हाम्रो ढुङ्गा बिक्री गर्न नपाउने, काठ काट्न नपाउने, जडीबुटी बिक्री गर्न नमिल्ने ? हाम्रो रिस्वर्स प्रयोग गर्न नहुने अनि विकास गर्ने के बाट ? गर्ने कसरी ? गम्भीर प्रश्न छ ।’’
वैदेशिक लगानीसम्बन्धी कसिलो नीतिले देश विकास हुन नसक्ने भन्दै नीति र सोचमा परिवर्तन गर्नुपर्छ । मन्त्री शर्माले पहाड खनेर ढुङ्गा बिक्री गरौँ भन्ने प्रस्ताव गर्दा देश बिक्री गरेको आरोप लाग्ने गरेको उहाँको भनाइ छ । उहाँले आफ्नो देशमा भएको स्रोत प्रयोग नगरी कुनैपनि देशमा लगानी बढ्न र पुँजी निर्माण गर्न नसक्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘पहाड फोरेर ढुङ्गा चलाउनै हुन्न कुनै ठाउँ नचलाउने होला । एउटा पहाड खनेर बिक्री गर्न किन मिल्दैन ? काठ बिक्री गर्न नमिल्ने, अदालतले पनि ढुङ्गामा, जङ्गलमा र प्राकृतिक स्रोतका हातै लगाउन मिल्दैन भन्छ । यहाँ कसैले पनि सबै जङ्गल काट्ने र सबै पहाड फोड्ने कुरा गरेको छैन नि !’ त्यस्ता स्रोतबाट पुँजी निर्माण गर्नसक्छौं । अब हेजिङको कुरा उठेको छ ।’’
मन्त्री शर्माले नेपाल इन्फास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआइडीसीएल) मर्जमा जान नमानेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले संस्थागत वा व्यक्तिगत स्वास्थ्यका लागि मर्जमा जान नमान्नु राम्रो नभएको बताउनुभयो ।
मन्त्री शर्माले संस्थाको सीइओ एउटै हुने भएकाले मर्जरमा जान नमान्नु पुरानो मानसिकता भएको टिप्पणी गर्नुभयो । उहाँले निफ्राले पूर्वाधार विकासमा प्रभावकारी भूमिका खेलेर लगानीको व्यवस्था गर्ने क्षमतामा वृद्धि गर्नु आवश्यक भएको बताउनुभयो ।
मन्त्री शर्माले नेपालमा खडा भएका लगानी कोष, सञ्चय कोष, कर्मचारी सञ्चय कोष जस्ता संस्थामा भएको पैसा पूर्वाधारमा लगानी नगरेर ब्याज खाने गरेको आरोप लगाउनुभयो । उहाँले कोषहरूमा भएको अर्ब रकम बैङ्कमा जम्मा गरेर ब्याज खाने तर पूर्वाधारमा लगानी नगर्नाले पूर्वाधारको विकास हुन नसकेको भन्दै अब त्यस्ता संस्थाहरूमा रहेको रकम पूर्वाधारमा लगानी लगाउनुपर्ने बताउनुभयो ।
त्यस्तै अर्थमन्त्री शर्माले उर्जामन्त्री पम्फा भुसाल र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विद्युत् धेरै बेचेर जलविद्युतको विकास गर्ने अभियानलाई सङ्केत गर्दै प्रश्न उठाउनुभयो । उहाँले विद्युत् बेच्ने भन्दा पनि प्रयोग गर्न सक्नुपर्ने भन्दै विद्युत् बेच्ने कुरामा गर्व गर्नु नपर्ने बताउनुभयो । मन्त्री शर्माले अब विद्युत् बेच्ने युग गएको जिकिर गर्नुभयो । उहाँले विद्युतबाट हाइड्रोजन,एमोनिया बनाउने प्रविधि आएको भन्दै विश्वमा ५ जीमा विकास भएको भएपनि नेपालले २ जीका कुरा गरिरहेको बताउनुभयो । gorkhapatra