नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको आरोप लगाएका छन् । शुक्रबार पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले दाहालले केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने क्रममा नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउने अभिलाषा राखेको बुझेको बताएका हुन् ।
राष्ट्रपतिसँग अब दोस्रो पटक संसद्बाट प्रमाणीकरणका लागि जाँदा प्रमाणाीकरण नगर्ने छुट नरहेको उल्लेख गर्दै प्रमाणित नगरे राजीनामा दिने अवस्था आउनसक्ने चेतावनीसमेत दाहालले दिए ।
दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले संविधानअनुसार प्रमाणित गर्नुपर्ने दाहालको भनाइ थियो । राष्ट्रपतिले नागरिकता विधेयक यसपटक प्रमाणीकरण गर्नेमा आफू विश्वस्त रहेको दाहालले बताए । राष्ट्रपतिबाट प्रमाणीकरण नभए अदालतमा जाने वा राजीनामा आउने उनले बताए ।
‘कसैले पनि भ्रम फैलाउन वा भ्रम पाल्न जरुरी छैन । किनभने हामीले अहिले गरेको कुरा यतिमात्रै हो कि जन्मसिद्ध नागरिक बनेका बाबुआमाका छोराछोरीहरुले वंशजको नागरिकता पाउनुपर्छ । लाखौँको संख्यामा छन्, उनीहरुलाई नागरिकताविहीन बनाउन हुँदैन । ७ वर्षे प्रावधान एमालेको पहलमा होइन, माओवादीको पहलमा वैवाहिक अंगीकृतको बारेमा प्रावधान राखिएको हो । मैले भनिसकेँ, दोस्रो पटक संविधानले कतै ठाउँ नै दिएको छैन, त्यसकारण उहाँले प्रमाणीकरण गर्नुहुन्छ ।
केही दिनअघि उहाँसँग भेटेर कुरा गर्दा उहाँ यो विषयलाई ठूलै राजनीतिक विषय बनाउने मोडमा रहेको देखेको थिएँ । त्यसकारण नगर्ने सम्भावना पनि छ । त्यसो भए एउटा कुरा अदालतमा इस्यु जान्छ । अदालतको फैसला पछि अघि बढ्छ । दोस्रो उहाँले राजीनामा दिने हो । मैले त भनेको पनि थिएँ, राष्ट्रपतिजीलाई यदि तपाईले दोस्रो पटक पनि प्रमाणीकरण गर्नुभएन भने कि राजीनामा कि अदालतमा जान्छ । यी दुई वटा हुनसक्छ,’ दाहालले भने ।
अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनमा सहमतिअनुसार नै आगामी निर्वाचनका लागि सिट बाँडफाँट हुनेसमेत बताए । आज बस्ने बैठकले सिट बाँडफाँटको टुंगो लगाउने उनको दाबी छ । अध्यक्ष दाहालले अंगीकृत नागरिकताको विषयमा माओवादीको अग्रसरतामा नै सात वर्षको प्रावधान राज्य व्यवस्था समितिमा बहुमतले पारित गरिएको भएपनि त्यति बेला सर्वसम्मत हुन नसकेको बताए । kantipurnews