सडक विस्तारको एक वर्ष म्याद थप
नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का लिएको निर्माण कम्पनीको एक वर्ष म्याद थप गर्ने तयारी गरेको छ । बुटवल–नारायणगढ सडक विस्तारको काम ९० दशमलब ६६ प्रतिशत अर्थात सडक विस्तारको अधिकांश काम सक्नुपर्नेमा तर सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्ट्रक्शन इञ्जिनियरिङ कर्पोरेट लिमिटेडले जम्मा १८ दशमलब ४४ प्रतिशत मात्र काम सकेको छ ।
कम्पनीले काम गर्न ढिलाई गरेको भन्दै आलोचना भइरहेको बेला चाइना स्टेट कन्ट्रक्शन इञ्जिनियरिङ कर्पोरेट लिमिटेडले एक वर्ष म्याद थप गर्ने तयारी गरेको हो । कम्पनीले निर्माण व्यवसायीबाट निर्माण आरम्भमा ढिलाई गर्नु, रुख कटान गर्नुपर्ने सङ्ख्या बढ्नु र कटान आदेश ढिलो गरी प्राप्त हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, विद्युत् लाइन सार्न समस्या हुनु आदि कारण देखाएर काम ढिलो हुनुको कारण पेश गरेको छ ।
नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख रमेशकुमार दिष्टीले लक्ष्यभन्दा ७८ दशमलब २२ प्रतिशत कम काम भएको बताउनुभयो । सडक विस्तारमा ढिलो हुनुका कारणलाई खानेपानी लाइन स्थानान्तरण गर्न समस्या, वर्षाको पानी निकासको समस्या, काठ दाउरा हस्तान्तरणमा समस्यालगायतका कारण पनि अगाडि सारेको छ ।
ठेक्का सम्झौताअनुसार काम रोकिएको समयावधि गणना गर्दै त्यस अवधिको म्याद थप गरिएको स्रोतको भनाइ छ, जसअनुसार पूर्वी खण्डमा ३८६ र पश्चिम खण्डका लागि ३६५ दिन म्याद थपिएको छ ।
नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर लाई खण्ड‘ख’ अन्तर्गत राखिएको छ । ६४ दशमलब ४२५ किलोमिटर सडक खण्ड रहेको नवलपुरमा १७.६ किलोमिटर ६ लेन, ४२.७ किलोमिटर ४ लेन, ४.१ किलोमिटर ३ लेन (दाउन्ने खण्ड) को सडक विस्तार हुने बताइएको छ । दुई खण्ड गरेर कुल ठेक्का रकम १६ अर्ब ९९ करोड रुपियाँ छ । चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनसँग गैंडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो ।
सडक विस्तार ढिलो हुँदा एक देखि सवा एक घण्टामा पार गर्न सकिने नवलपुर सडक खण्ड पार गर्न तीन घण्टा बढी लाग्ने गरेको छ । जसले गर्दा यात्रुहरुलाई निक्कै सास्ती हुने गरेको छ । त्यसैगरी ठाउँ–ठाउँमा जीर्ण भएका सडकहरु मर्मत नहुँदा धुलोको प्रदूषणले यात्रुहरुले सास्ती खेप्नु परेको छ । gorkhapatra