धनगढीको बजार क्षेत्रमै बढे चोरीका घटना, दिनदहाडै घरमा पस्छन् चोर
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को कैलाश टोलका सरिता चन्दको घरबाट गत शुक्रबार बिहान ११ बजे नगद तथा गरगहना चोरी भयो। घरधनी चन्द नजिकै रहेको पसलमा सामान किन्न गएको मौका छोपी चोरले घरको ढोकामा लगाएको ताला खोलेर भित्रै पसेर चोरी गरेको थियो।
दराजभित्र राखेको ५ तोला सुनको गहना, नगद ७ हजार र मोबाइल चोरी गरेर आँखा सामुन्नेबाट चोर भाग्न सफल भएको चन्दले बताइन्। अन्दाजी २० वर्षीय ती चोरको पिछा गरेपनि समात्न नसकेको उनले बताइन्। तीजको मुखैमा दिनदहाडै घरमा चोरी हुँदा निकै पीडा भएको चन्दले दुखेसो गरिन्। ‘एकै छिन सामान किन्न नजिकैको पसलमा गएकी थिएँ,’ उनले भनिन्, ‘घर आउँदा त चोर समान चोरेर बाहिर निस्किन लागेको थियो। चोर–चोर भनेर कराउँदा पर्खाल नाघेर भाग्यो, पिछा गर्दा पनि समात्न सकिएन।’
पूरानो मुख्य मन्त्री निवास तथा वहालबाला आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलको निवास रहेको कैलाश टोलमा हरेक महिना चोरीका घटना घट्ने गरेको स्थानीय बताउँछन्। गत जेठ २६ गते मात्रै उपमहानगर–४ स्थित सहिदगेट–क्याम्पस रोड सडकमा रहेका पसलहरुमा चोरी भएको थियो। एकै रातमा त्यहाँका ८ पसलमा चोरी भएकाे थियाे।
यस्तै गत वर्षको कात्तिक महिनामा पनि चन्दको घरमा चोरीको प्रयास भएको थियो भने एक हप्ता अगाडि मात्रै स्थानीय गौरी भट्टको घरबाट सारी लगायतका लत्ताकपडा चोरी भएका थिए। एकपछि अर्को चोरीका घटना हुने कैलाश टोलकै खेमराज पनेरुको घरमा बस्ने डेराबालाको कोठाबाट नगद १ लाख चोरी भएको थियो भने गत वर्षको माघमा स्थानीय गोविन्द धामी र मुगु रानाको घरबाट नगद तथा गहना चोरी भएको थियो।
२ वर्ष अगाडि कैलाश टोलकै विक्रम सिंहको घरबाट गाडी चोरी भएको थियो भने प्रकाश भट्टको निर्माणाधीन घरबाट चार वटा चौखट चोरी भएका थिए। कैलाश टोलमा चोरीका घटना बढ्दा निकै असुरक्षित भएको स्थानीयले महसुस गरेका छन्।
हरेक महिनाजसो हुने चोरी नियन्त्रण गर्न प्रहरीको गस्ती नियमित हुनुपर्ने स्थानीय नृप ठकुल्ला माग गर्छन्। ‘हाम्रो टोलमा हप्तैपिच्छे चोरी हुने गरेको छ। टोलमा प्रहरी विट राखिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना छ,’ उनले भने, ‘टोलमा एकपछि अर्को घरमा चोरी हुँदा असुरक्षा बढेको महसुस भएको छ।’
धनगढीको वडा नम्बर ४ मा मात्रै होइन अन्यत्र पनि दैनिक चोरीका घटना हुने गरेका छन्। वडा नम्बर २ को बैयाँबेहडीका बसन्त जोशीको घरबाट भदौ ६ गते बुलेट बाइक चोरी भएको थियो भने बसपार्क पछाडि ओमशान्ति टोलका अशोक खड्काको घरबाट भदौ २ गते विहान ३ बजेको समयमा २२० सिसी पल्सर मोटरसाइकल चोरी भएको थियो।
धनगढीमा पानी तान्ने मोटर, साइकल, मोटरसाइकलसँगै नगद र गरगहना चोरी हुने घटना बढेको स्थानीयले बताएका छन्। नगर क्षेत्रमा नियमित प्रहरी गस्ती हुनुपर्ने माग नगरवासीको छ। नगर क्षेत्रमा नियमित गस्ती बढाएर सुरक्षा व्यवस्था मिलाउन प्रहरी लागिपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
‘हामी चोरीका घटना नहुन भनेर निरन्तर गस्ती पनि गरिरहेका हुन्छौँ,’ उनले भने, ‘वडा नम्बर ४, २ र १ लगायत नगर क्षेत्रमा थप प्रहरी परिचालन गरेर चोरी नियन्त्रण गर्न प्रहरी सक्रिय नै छ। वडा अध्यक्ष र स्थानीयले पनि प्रहरीलाई सहयोग गर्नुहुन्छ। सबैको सहयोग र सक्रियतामा चोरीका घटना रोक्न थप प्रयास गर्नेछौँ।’
प्रहरीको गस्ती चोरी प्रभावित क्षेत्रमा नहुने हुँदा एकपछि अर्को चोरीका घटना हुने गरेको स्थानीयको गुनासो छ। dineshkhabar