दसैंका लागि पाँच हजार खसीबोका–च्याँग्रा ल्याइँदै
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० असोज घटस्थापनाका दिनबाट सुरु हुने बडापर्व दसैंलक्षित ५ हजार खसीबोका र च्यांग्रा ल्याउने भएको छ । जसमा २ हजार खसीबोका र ३ हजार च्यांग्रा छन् ।
दसैंमा बजार मूल्यभन्दा केही सहुलियत दरमा काठमाडौंका उपभोक्तालाई मासु आपूर्ति र बढ्दो बजारभाउ नियन्त्रण प्रयासमा सो कम्पनीले विगतका वर्षजस्तै यसपटक पनि करिब ५ हजार खसीबोका र च्यांग्रा काठमाडौं भिœयाउन लागेको हो ।
भदौ अन्तिम सातादेखि सहुलियत मूल्य पसल
अहिलेसम्म दसैंलगायत विशेष चाडपर्वलक्षित खाद्य वस्तु आपूर्ति र व्यवस्था मिलाउने जिम्मेवारी प्राप्त सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न स्थानबाट खसीबोका र च्यांग्रा काठमाडौं ल्याउने तयारी गरेको छ ।
सो कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार विगतका वर्षको निरन्तरतास्वरूप यसपटक पनि राजधानी भिœयाइने खसीबोका र च्यांग्रा देशका विभिन्न ठाउँबाट खरिद गरी कम्पनीका डिपोमा संकलन तयारी सुरु भएको छ ।
दसैंमा काठमाडौं ल्याइने खसीबोका र च्यांग्रा खरिदका लागि अनुमानित करिब ६ करोड बजेट छुट्याइएको छ । यसमा अझै उपभोक्ताको माग आधारमा तलमाथि वा घटबढ हुन सक्ने न्यौपाने बताइन् ।
विगतका वर्षझैं लाहान, वीरगन्ज, मुस्ताङ, दाङ, तुलसीपुर, हेटौंडा र नेपालगन्जलगायत स्थानबाट खसीबोका र च्यांग्रा ल्याउने तयारी गरिएको छ । यी ठाउँबाहेक अझै उपलब्धताका आधारमा ‘कुन ठाउँबाट कति खरिद गरी ल्याउने ?’ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।
तोकिएका ठाउँमा कम्पनीका कर्मचारीले खसीबोका खरिद गरेको र चलेकै मासुको बजारभाउअनुसार मूल्य निर्धारण हुने कम्पनीले जनाएको छ । ‘अहिले नै मूल्य यति पर्छ भन्न सकिन्न, हामीले खरिदका आधारमा मूल्य निर्धारण गर्नुपर्नेहुन्छ,’ न्यौपानेले भनिन्, ‘तर, खाद्यका खसीबोका र च्यांग्रा निजी व्यवसायीले ल्याएकाभन्दा केही सस्तो हुनेछ ।’
हाल, हरेक वस्तुमा बढेको बजारभाउको मार खेप्न बाध्य उपत्यकावासीलाई निजी क्षेत्रभन्दा केही सस्तोदरमा खसीबोका तथा च्यांग्रा उपलब्ध गराउने र बजारभाउसमेत नियन्त्रण गर्ने उद्देश्य कम्पनीको छ ।
दसैंका उपभोक्तालाई सहुलियत दरमा खसीबोका र च्यांग्रा मात्र नभएर खाद्य कम्पनीले काठमाडौंलगायत देशका विभिन्न स्थानमा दसैं–तिहार र छठपर्वलक्षित सहुलियत पसलसमेत सञ्चालनमा ल्याउने तयारी थालेको छ ।
कम्पनीले नजिकिँदै गरेको दसैं–तिहार, छठपर्वलक्षित सहुलियत मूल्य पसल भदौ अन्तिम सातादेखि नै सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
कम्पनीका अनुसार सहुलियत पसलमा विभिन्न किसिमका चामल, दाल, अन्य गेडागुडीलगायत खाद्य वस्तु सहुलियत दरमा उपलब्ध हुनेछन् । फरकफरक प्रकारका उपभोक्ताको स्वाद र खरिद सामथ्र्य ध्यानमा राखेर कम्पनीले एउटै वस्तुका पनि धेरै किसिमका प्रकार उपलब्ध गराउँदै आएको छ ।
सहुलियत पसलमा चामलसँगै गेडागुडी, दाल, आटा, गहुँ, तेल, घिउ, चिनी, नुन, चिउरा, पिठो, माछा मासुलगायत उपलब्ध हुनेछन् ।
दसैंलक्षित सहुलियत पसल सञ्चालनका लागि सबै तयारी गरिसकेको जानकारी गराउँदै न्यौपानेले भनिन्, ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुमति पाउनेबित्तिकै सहुलियत पसल देशभरका विभिन्न स्थानमा सञ्चालन हुनेछन् ।’ rajdhanidaily