बैतडीमा ‘स्कुल’को क्यान्टीनलाई बाख्राको खोर बनाएपछि…
बैतडीमा एक विद्यालयले प्रयोग गर्दै आएको भवन बाख्रा बाध्ने खोरमा परिणत भएको छ। जिल्लाको सुर्नया गाउँपालिकास्थित वडा नं ७ मा रहेको केदार माध्यामिक विद्यालयले प्रयोग गर्दै भवनलाई स्थानीय गणेश साउँदले बाख्रा बाध्ने खोर बनाएका हुन्। साउँदले उक्त जमिन र भवन आफ्नो दाबी गर्दै विगत करिव ४ महिनादेखि कब्जा गरेको बताइएको छ।
उक्त भवन २०५२ सालमा शिखरपुर स्वास्थ्य चौकीको लागि निर्माण गरिएको थियो। स्वास्थ्य चौकीलाई थप संरचना आवश्यक परेपछि स्वास्थ्य चौकी अर्को ठाउँ सरेको थियो। स्वास्थ्य चौकी सार्ने क्रममा विद्यालयले ३ लाख दिएर उक्त भवन प्रयोग गर्ने गरी स्वास्थ्य चौकीबाट लिएको थियो।
विद्यालय प्रशासनका अनुसार त्यसपछि विद्यालयले दिवा खाजा बनाउने क्यान्टीनको रूपमा सो भवनको प्रयोग गर्दै आएको थियो। गत वर्ष नापी कार्यालयबाट प्राविधिक टोली बेलाएर नापजाँच गर्ने क्रममा उक्त भवनको जमिन विद्यालयको नाममा रहेको भेटिएको विद्यालयका प्रद्यानाध्यापक उत्तर बहादुर कुवँरले बताए। तर गणेश साउँदले भने स्वास्थ्य चौकीलाई आफूले दान गरेको जमिनमा आफ्नो मात्रै हक हुने बताउँछन्। २०५२ सालमा स्वास्थ्य चौकीलाई आफूले दान गरेको र स्वास्थ्य चौकी सरेपछि उक्त जमिन र संरचना आफ्नो भएको उनी बताउँछन्।
नापीको टोली बोलाएर नापजाँच गरेको विषयमा आफू जानकार नरहेको उनको भनाइ छ। शनिबार उक्त विषयको विवाद समाधानका लागि गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुवँर सहितको टोली छलफलमा बसेको भएपनि स्थानीय गणेश बहादुर साउँदले आफूले उक्त संरचना नछोड्ने अडान राखेपछि छलफल विनानिष्कर्ष टुङ्गिएको थियो। dineshkhabar