खडेरीले धान स्वाहा

0

 एक साता बढिको खडेरीले उदयपुरका किसानले लगाएको धान घामले डढ्न सुरु गरेको छ।

आकाशे पानीमा निर्भर रहेका सदरमुकाम आसपासका तराई भुभागका किसानको धान चर्को घामले डढ्न सुरु गरेको हो।

धान रोपेको एक हप्ता वितिसक्दासमेत आकाशबाट पानी नपरेपछि पुनः रोप्नु पर्ने अवश्था सृजना भएको त्रियुगा नगरपालिका-६ का धनेश्वर चौधरी बताउँछन्।

उनी भन्छन्, ‘आकाशे पानी सिजनको बेला नभई वेमौसमी आउँदा किसान मर्कामा परेका छन्। उनले थपे, ‘जतिबेला किसानलाई पानीको आवश्यकता छ त्यो बेला आएन्, वरु पाकेको बाली थन्काउने बेला मुसलधारे पानी पर्दा किसानको अन्नवालीमा क्षति पुगेको हो। यो बेला पानी परिदिएको बेला किसानले धेरै अन्न भित्र्याउन पाउँथे, अर्का किसान विभिषण दास चौधरी भन्छन्, ‘तर त्यसो नभई लगातारको खडेरीले बिउसमेत जोगाउन चर्को पर्ने देखिन्छ।’

‘जताबाट पनि किसान मर्कामा छन्, बाली थन्काउने बेलामा पानी परेर राम्रोसँग थन्काउन पाइएन, अब यतिबेला रोपेको धान जोगाउन पानी चाहिएको छ, आउने अत्तोपत्तो छैन्। दिगो समाधानका लागि सिँचाइ कुलो निर्माण, जमिनमुनी वोर्डिङ्ग धसाएर सिँचाइ  सुविधा पुर्‍याउने कुरामा सरकारको ध्यान जान जरुरी छ’, उनले भने।

जिल्लामा ५० प्रतिशत धान रोपाइँ भइसकेको कृषि प्रसार अधिकृत अनिश मुडभरीले बताए। बाँकी ग्रामीण भेगमा धमाधम रोपाइँ भइरहेको बताए। उनले भने, ‘जति ठाउँमा कुलो सिँचाइको सुविधा छ, ती ठाउँमा रोपाई अन्तिम चरणमा पुगेको छ बाँकी आकाशको भरमा बसेकाहरुले खडेरीका कारण लगाउन सकेका छैनन्।

कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख महेश चौधरीले खडेरी नलाग्ने हो भने धेरै जग्गा बाँझो नरहने बताए। उदयपुरमा १३ हजार ३८० हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गरिँदै आएको छ।

उदयपुरमा ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको छ भने बाँकी क्षेत्रफलमा आकाशे पानीको भरमा रोपाइँ गरिन्छ।

सिँचाइसुविधा पुगेको क्षेत्रमा पनि पानीको मुल नफुट्दा खेतहरु बाँझै रहेको छ। धान खेतीका लागि सिँचाइ गरिने त्रियुगा खोला, सेतीखोला, लामाखोला, द्वार खोला, बरुवा, तावाककरु बैजनाथ खोलाको सिँचाइबाट धान खेती हुँदै आएको छ।   annapurnapost

You might also like