अपांगता भएका शिक्षक तलबबाट बञ्चित
शारीरिक अपांगता भएका सिराहाका शिक्षक परशुराम साह चार महिनादेखि तलब सुविधाबाट बञ्चित भएका छन् । शिक्षा ऐन विपरीत उनी कार्यरत सारस्वरनाथ माविबाट घर अपायक पर्ने तथा आवतजावतमा समस्या हुने ठाउँमा सरुवा गरिएको विद्यालयमा नजाने अडान लिएपछि तबल रोक्का गरिएको पाइएको छ ।
शिक्षक साह, खुट्टामा पोलियो भएर अपांगता भएका व्यक्ति हुन् । छडीको सहायतामा बिस्तारै हिँड्छन् । लामो पैदलयात्रा गर्न सक्दैनन् । उनी शिक्षक सेवा परीक्षा पास गरेर अपांग आरक्षित कोटाबाट सिफारिस भएर ०७१ असोजदेखि सिराहा नगरपालिकाको सारस्वरनाथ माविमा प्राथमिक तहमा पढाउँदै आएका शिक्षक हुन् ।
प्रचलित शिक्षा नियमावली २०५९ मा अपांगता भएका शिक्षकलाई सरुवा गर्दा घर पायक गर्नुपर्ने व्यवस्था छ । तर शिक्षक साहले सरुवा नमागीकनै सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले आफूखसी अर्को व्यवस्था नहुन्जेलसम्मका लागि श्री मावि लगडी गदियानीमा काज खटाइएकाले सोही अनुसार हाजिरी हुन जान भनी ०७८ फागुन २३ गते पत्र लेखे । भोलिपल्ट विद्यालय जाँदा मूलगेटमै ताल्चा लगाइयो । काज पठाउन खोजिएको विद्यालय साहको घरबाट १८ किलोमिटर टाढा पर्छ ।
साहले फागुन १२ मा नगरपालिकामा सूचनाको हक बमोजिम अपांगता भएका व्यक्तिहरुको विवरण, सामाजिक सुरक्षा पाइरहेको अवस्था लगायतबारेमा सूचना माग गरेका थिए । शिक्षक भएर पनि सूचना माग गरेको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले निवेदन फिर्ता लिन दबाब दिएका थिए ।
उक्त दबाब नमान्दा दुख दिने मनसायले विकट ठाउँमा सरुवा पठाउन खोजेको साहले सुनाए । ‘शिक्षामा देखिएका बेथितिविरुद्ध बोलेकै कारण कानुनले नदिएको अधिकार प्रयोग गरी मेरो घरबाट १८ किमिको दुरी पर्ने मावि लगडी गदीयानीमा गरेको काज सरुवा गरिएको’ भन्दै साहले कानुन विपरीत गरिएको काज सुरुवा निर्णय बदरको माग गरेको चैत २ गते सिराहाको शिक्षा विकास तथा समन्वय इकाइमा लेखेको पत्रमा उल्लेख छ ।
उनले सरुवा बदरको माग गर्दै चैत ७ मा नगरपालिकामा पत्र लेखे । हाजिरी गर्न पाउनुपर्ने भन्दै पुनः चैत ९ मा शिक्षा विकास तथा समन्वय इकाइमा पत्र लेखे । सुनुवाइ नभएपछि चैत ११ गते राजविराजको उच्च अदालतमा रिट हाले । उच्च अदालत जनकपुर राजविराज इजलासले कार्यरत विद्यालयमै खटाउन भनी चैत १३ मा साहकै पक्षमा अन्तरिम आदेश जारी गर्यो ।
अन्तरिम आदेशमा भनिएको छ, ‘निवेदकलाई निज कार्यरत रहेको सारस्वरनाथ माविमा काम गर्न दिनु, हाजिर गर्नमा बाधा अवरोध नगर्नु नगराउनु, निज कार्यरत विद्यालयबाट रमाना पत्र नदिनु, दिन नलगाउनु ।’ उक्त आदेशपत्रसहित उनी भोलिपल्ट सारस्वरनाथ मावि पुगे तर प्रअले हाजिर गराएनन् । ‘त्यसपछि म प्रमुख जिल्ला अधिकारीसमक्ष गए, वहाको निर्देशनपछि चैत्र २४ गते कार्यरत रहेकै विद्यालयमा हाजिर भए हुँदै आएको छु । तर हालसम्म तलब पाएको छैन,’ उनले भने ।
अदालतको आदेशपछि पनि दुख पाइरहेको बताए । ‘तलबको कुरा गर्दा नगरपालिकाका प्रशासकीय अधिकृतले हाजिरीको लागि मात्रै अदालतले आदेश दिएको हो, निजलाई तलब खुवाउनु भनेर अदालतले आदेश नदिएसम्म दिन सक्दैनौं, तलब खानुछ भने पालिकाले गरेको विद्यालयमा हाजिर हुन जानू भनेको छ,’ साहले कान्तिपुरसित गुनासो पोखे, ‘अरु सबैको माघदेखि चैतसम्मको तलब निकासा भएको छ, मेरो पठाइएको छैन ।’
सूचनाको हक बमोजिम नगरपालिकामा सूचना माग गरेपछि प्रशासकीय अधिकृतले दुख दिएको भन्दै शिक्षक साहले सूचना आयोगमा जानकारी गराएका थिए । जेठ ९ गते सूचना आयोगले एक हप्ताभित्रमा सोको जवाफ लेखिपठाउन प्रशासकीय अधिकृत यादवसँग माग गरेको छ ।
सिराहा नगरपालिकाका प्रशासकीय अधिकृत बलिराम यादवले सरुवा गरिपठाएको स्कुलमा निकासा भएको तलब फिर्ता लिएर हाल पढाइरहेकै सारस्वरनाथ माविमा निकासा गरिने, निर्वाचनले गर्दा ढिलाइ भएको बताए । ‘तलब रोक्का गरिएको होइन, सरुवा गरिपठाएको स्कुलमा निकासा भएको हो, फिर्ता माग गरेका छौं, फिर्ता आएपछि दिन्छौं,’ उनले भने । kantipurnews