मतदान केन्द्रमै परिचय पत्र, नागरिकता देखाएर पनि मतदान गर्न पाउने

0
  धनगढीका देवराज जोशी बिहीवार पञ्चोदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा थिए। उनी मतदाता परिचय पत्र हराएपछि मतदान केन्द्र पुगेका थिए। वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने वा नपाउने भन्ने विषयमा अन्यौलता भएपछि जोशी मतदान केन्द्रमा पुगेका हुन्।

परिचय पत्र नभएका उनको मतदाता नामावलीमा नाम छ। मतदाता नामावलीमा नाम भएकाले अन्य सरकारी कागजात ल्याएर आउन आयोगले खटाएका कर्मचारीले उनलाई सम्झाएका छन्। उनी मतदान गर्न पाउने भएका छन्। त्यसपछि उनी खुसी हुँदै घर गए।

सुदूरपश्चिम प्रदेशका हजार बढी मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण सुरु भएको छ। मंगलबारदेखि प्रदेशका एक हजार एक सय बढी मतदानस्थलमा खटिएका कर्मचारीले नयाँ मतदाताको परिचयपत्र वितरण गर्न थालेका छन्। मतदाता नामावलीमा नाम दर्ता भए, अन्य सरकारी परिचयपत्रको आधारमा पनि मतदान गर्न पाइने निर्वाचन कार्यालयहरुले जनाएका छन्।

स्थानीय तहको निर्वाचनमा मतदाता परिचय पत्रसँग नागरिकता, लाइसेन्स लगायतका सरकारी कागजातले मतदान गर्न पाउनेछ। तर मतदाताको नामावलीमा नाम दर्ता गराएको हुनुपर्ने प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका निमित्त प्रमुख प्रेम भट्टले बताए।  ‘कसैको मतादता परिचय पत्र भएन। मतदाता नामावलीमा नाम छ भने नागरिकता लिएर मतदान गर्न पाउनेछ। जुन निर्वाचन आयोगले अन्तिम नामावली तयार गरेको छ। माघ २४ सम्म मतदाता नामावलीमा नाम भएकाले मतदान गर्न पाउनेछन्,’ उनले भने।

नयाँ मतदाताको परिचयपत्र मतदान केन्द्रहरुबाट वितरण हुँदैछ। तर पूराना र हराएका मतदाता परिचय पत्रहरु भने केन्द्रमा छैनन्। पूराना परिचय पत्र भएका मतदाताहरुले अन्य सरकारी कागजात लिनुपर्ने छ। ‘मतदाता परिचय पत्र भए, मतदाता परिचय पत्र बोकेर जाने। मतदाता परिचय पत्र छैन भने, मतदाता नामावलीमा नाम छ भने नागरिता बोकेर पनि जाने। उहाँहरुको मतदाता नामावलीमा नाम भएको भेरिफाइ हुने छ’ भट्टले भने।

यस्तै मतदान स्थलमा खटिएका कर्मचारीले बुधवारदेखि अन्य तयारी पनि थालेका छन्। मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षाको काम पनि जारी छ, भने बुथ निर्माण पनि सुरु गरिएको छ। मतदाता परिचयपत्र वितरण भने आज बिहीबार पनि हुने छ।

सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमा एक हजार १३५ मतदानस्थल र दुई हजार १०३ मतदान केन्द्र छन् भने १६ लाख ३२ हजार १५० मतदाता रहेका छन्। एक लाख ९६ हजार ४७६ मतदाता नयाँ छन्। कैलालीमा भने पाँच लाख २५ हजार १२५ मतदाताको मतदाताले मतदान गर्दैछन्।

स्थानीय तह निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका ८८ पालिकामा प्रमुख, उपप्रमुख तथा ७ सय ३४ वडा अध्यक्ष र २ हजार ९३६ वडा सदस्य चयनका लागि वैशाख ३० मा निर्वाचन हुनेछ।   dineshkhabar

You might also like