स्थानीय तह निर्वाचन : सैनामैनामा एमाले र गठबन्धनबिच कडा प्रतिस्पर्धा
आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै रुपन्देहीको सैनामैना नगरपालिका चुनावी माहोलले तातेको छ । यहि वैशाख ३० गते हुने निर्वाचनमा नगरमा नेकपा एमाले र संयुक्त गठबन्धनबिच मुख्य प्रतिस्पर्धा देखिएको छ । यद्यपि, नगरमा अन्य दलहरु र स्वतन्त्र उम्मेदवारहरु पनि चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिएका छन् ।
सैनामैनामा राष्ट्रिय पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) , र जनता समाजवादी पार्टीले प्रतिनिधित्व गरिरहेका छन् । नगरमा संसदमा प्रतिनिधत्व गर्ने दल राष्ट्रिय प्रजातन्त्र पार्टी पनि रहेको छ । पालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच तालमेल गरेपछि दुबै पार्टी संयुक्त गठबन्धन बनाएर घरदैलो अभियानमा व्यस्त छन् ।
त्यस्तै गत स्थानीय तहको निर्वाचनमा नगरमा रहेका ११ वटा वडामध्ये प्रमुख उपप्रमुख सहित ९ वटा वडामा नेकपा एमालेले विजयी हासिल गरेको थियो । सोही वर्चस्वलाई कायम राख्न नेकपा एमालेले पनि चुनावी अभियानलाई तिव्रताका साथ अगाडि बढाउँदै घरदैलोमा भोट माग्न तल्लिन छ ।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट प्रमुख पदमा चित्र बहादुर कार्कीले नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार फणिन्द्र प्रसाद शर्मालाई पराजित गर्दै विजयी हासिल गरेका थिए । यहि वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पनि प्रमुख पदमा कार्की र शर्माबिच नै मुख्य प्रतिस्पर्धा रहेको छ ।
गत निर्वाचनमा कार्कीले १३ हजार ३६ मत प्राप्त गरि सैनामैनाको पहिलो नगरप्रमुखमा विजयी भएका थिए । भने शर्माले १० हजार ३ सय ५ मत प्राप्त गरेका थिए । पालिकामा गत निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र एक्ला एक्लै प्रतिस्पर्धामा थिए । तर, आसन्न निर्वाचनमा दुई दल एकआपसमा गठबन्धन गरेपछि नगरमा अहिले चोकका चिया पसलदेखि कार्यालयसम्म नेकपा एमालेले आफ्नो वर्चस्व जोगाउला वा गठबन्धनले एमालेको वर्चस्वलाई तोड्न सक्ला भन्ने सर्वत्र चासोको विषय बनेको छ । यसपटक संयुक्त गठबन्धन जित्नै पर्ने र एमालेलाई पुरानै साख जोगाउनुपर्ने दबाब छ ।
उपप्रमुख पदमा पनि गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट नै बिना रानाले जित हासिल गरेकी थिइन् । उनले गत निर्वाचनमा १३ हजार २ सय ६१ मत प्राप्त गरेकी थिइन् । भने नेपाली कांग्रेसकी लक्ष्मी चौधरीले ९ हजार ७ सय ९ मत प्राप्त गरेकी थिइन् । यो निर्वाचनमा पनि एमालेको तर्फबाट उनी नै उपप्रमुख पदको दाबेदार छिन् । यता गठबन्धनको तर्फबाट भने मान बहादुर महत ( नारायण ) प्रतिस्पर्धामा छन् ।
चुनावी मैदानमा उत्रिएका सैनामैनाका राजनीतिक दलहरुले सुशासन, सडक तथा यातायात, भूमि व्यवस्थापन, शिक्षा, खानेपानी तथा सरसफाई, स्वास्थ्य, कृषि तथा पशुपन्छी, उद्योग एवम् व्यापार व्यवसाय, महिला, युवा तथा रोजगार, जलस्रोत तथा सिंचाई पूर्वाधार, युवा तथा खेलकुद, पर्यटन पूर्वाधार विकास तथा पर्यटन प्रवद्र्धन लगायतलाई मुख्य एजेण्डा बनाएका छन् ।
कूल ७८ हजार ४ सय ७७ जनसंख्या रहेको सैनामैना नगरपालिकामा ५१ हजार २२ जना मतदाता छन् । जसमा २७ हजार ८ जना महिला र २४ हजार १४ जना पुरुष रहेका छन् । १३ निर्वाचन केन्द्र तोकिएको नगरमा ११ वटा वडा रहेका छन् । गत निर्वाचनमा ३५ हजार ९ सय ६६ मतदाता रहेको नगरमा अहिले १५ हजार ५६ जना नयाँ मतदाता थपिएका छन् । malmalafm