हामी नेपालसँगको सहकार्यमा गर्व गर्छौं : अमेरिकी विदेशमन्त्री ब्लिंकेन

0

 

काठमाडौँ — अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा आफ्नो धारणा ट्विटमार्फत राखेका छन् । विदेशमन्त्री ब्लिंकेनले नेपालसँगको सहकार्यमा अमेरिकाले गर्व गरेको बताउँदै मित्रताका दशकौं वर्ष पूरा गर्न अमेरिका तयार रहेको समेत बताएका छन् ।

उनले नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको बताएका छन् । ‘हामी साझेदारको रूपमा हाम्रा उपलब्धिहरूमा गर्व गर्छौं । मित्रताको धेरै दशकहरूका लागि तत्पर छौं,’ उनले ट्वीटमा उल्लेख गरेका छन् ।

त्यस्तै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले पनि अमेरिका र नेपालबीचको सम्बन्ध पुस्तौंदेखि चल्दै आएको र चलिरहने बताएका छन् ।

अमेरिका र नेपालबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वर्षगाँठको अवसरमा राजदूत बेरीले शुक्रबार एक वक्तव्य जारी गर्दै उक्त कुरामा जोड दिएका हुन् । ‘अमेरिकी र नेपालीहरूबीचको सम्बन्ध एक यस्तो सम्बन्ध हो, जुन पुस्तौंदेखि चल्दै आएको छ र चलिरहने छ भन्ने कुराको स्मरण गराउँदछु,’ उनको भनाइ छ ।

नेपाल र अमेरिकाबीच सन् १९४७ को अप्रिल २५ मा द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको हो । यस वर्ष अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको छ । ७५ वर्षको यस अवधिमा दुवै देशमा भएका परिवर्तनका दशकहरूमा अमेरिका र नेपाल एकअर्काको साथमा उभिँदै आएको राजदूत बेरीले बताएका छन् ।

‘अमेरिकी जनताले नेपालीहरूलाई चिकित्सा र विज्ञानमा प्रशंसनीय प्रगति गर्ने, पर्वतारोहीका रूपमा लगभग असम्भव उचाइमा पुग्ने, राष्ट्रसंघीय शान्ति सेनामा सम्मानजनक र बहादुरीका साथ सेवा गर्ने र कला र संस्कृतिको विशाल विविधतामार्फत विश्व सम्पदालाई समृद्ध बनाउने मानिसहरूका रूपमा चिन्दछन्,’ उनले वक्तव्यमा भनेका छन् ।

बेरीले नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले हाम्रो साझेदारीको सशक्त परिणामलाई झल्काउने बताएका छन् । उनले सन् १९५० को दशकमा औलोले करिब २५ प्रतिशत जनसंख्या असर गरेको उल्लेख गर्दै यूएसएआईडीमार्फत अमेरिकी सरकारले औलो नियन्त्रण कार्यक्रमलाई सहयोग गरेको बताएका छन् ।

‘सन् १९६८ भित्र औलोका बिरामीहरूको संख्या राष्ट्रव्यापी रूपमा २० लाखभन्दा बढीबाट २ हजार ४६८ मा झर्‍यो,’ उनको भनाइ छ, ‘महामारी सुरु भएयताका पछिल्ला दुई वर्षमा अमेरिकाले नेपाललाई झन्डै ३८ लाख कोभिड-१९ खोपका मात्रा र १२ करोड ४८ लाख डलरभन्दा बढीको कोभिड सहायता प्रदान गरेको छ ।’

राजदूत बेरीले गत फागुनमा नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपाल कम्प्याक्ट सम्झौतालाई अनुमोदन गरेको र यो कम्प्याक्ट कार्यक्रमको प्रतिफलस्वरूप नेपालमा ऊर्जा र यातायात क्षेत्रको आधुनिकीकरणमा मद्दत पुग्ने तथा २ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग पुग्ने जनाएका छन् ।

‘नेपालको समृद्ध इतिहासको अमेरिका प्रशंसा गर्दछ । सांस्कृतिक संरक्षणका लागि राजदूत कोष नामक कार्यक्रमले विश्वभरका सांस्कृतिक सम्पदाको संरक्षणमा मद्दत गर्दछ,’ उनको वक्तव्यमा उल्लेख छ, ‘झन्डै २० वर्षको अवधिमा यस कार्यक्रमले नेपालमा २५ वटा सांस्कृतिक संरक्षण परियोजनालाई सहयोग गरी ३८ लाख डलरभन्दा बढी लगानी गरेको छ । यस कार्यक्रमका परिणाममध्ये काठमाडौंको सुन्दर गद्दी बैठकको जीर्णोद्धार पनि पर्दछ ।’

राजदूत बेरीले जनता-जनताबीचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै यस दशकौंको अमेरिका-नेपाल सम्बन्धको जग रहेको बताएका छन् ।

‘आजको दिनमा जलवायु सङ्कटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउनेजस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि हामीलाई पहिलेभन्दा बढी एकअर्काको आवश्यकता छ,’ उनले भने, ‘यो काम हामी एकअर्कासँग मिलेर गर्न उत्सुक छौं र यसबाट फल प्राप्त गर्ने छौं; जसरी पुस्तौंदेखिको हाम्रो मित्रताले हामीलाई प्रतिफल दिँदै आएको छ ।  kantipurnews

You might also like