एउटै घरबाट ६ शिक्षक
काठमाडौँ — उनको घर कुनै सामुदायिक विद्यालयका प्रधानाध्यापकको कार्यकक्ष जस्तै छ । शिक्षकहरू भेला हुने, बाहिर निस्कने । विराटनगर–१४ जतुवाका विष्णुदेव यादव ७५ वर्षका छन् । बिहानको करिब–करिब एउटै समय उनका चार छोरा, दुई बुहारी र एक छोरी सरकारी विद्यालयतिर सोझिन्छन् । घरको मूल गेट छेवैको अतिथि गृहको बरन्डामा बसेर छोरा, बुहारी र छोरीहरू स्कुलतिर गएको हेरेर यादव बितेका दिन सम्झिन्छन् ।
जेठा छोरा ४५ वर्षीय राजेश्वरप्रसाद विराटनगर–१४ को जनता बाल आधारभूत विद्यालयका प्राचार्य छन् । माइला ४० वर्षीय अरविन्दकुमार जहदा–१ को बुधेश्वरी माविमा पढाउँछन् । साइँला ३६ वर्षीय राजीवकुमार विराटनगर–१८ को श्रीराम आधारभूत विद्यालयका प्राचार्य छन् । कान्छा ३३ वर्षीय सञ्जीवकुमार विराटनगर–१७ को रघुपति आधारभूत विद्यालय र माइली बुहारी सोनम विराटनगर–१६ को जनविकास मावि पढाउँछन् । साइँली बुहारी विराटनगर–८ को गायत्री संस्कृत विद्यालयकी लेखापाल हुन् । छोरी ममता विराट आधारभूत विद्यालयमा शिशु कक्षा पढाउँछिन् ।
हरेक बिहान ९ बजेतिर घरका सात सदस्य जब स्कुलतिर निस्कन्छन्, विष्णुदेवलाई आफूले पढाउँदाका दिनहरू सम्झनामा आउँछ । उनले २०२४ सालमा विराटनगरको सत्यनारायण विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि २०२६ सालदेखि विराटनगरका घरघर धाएर मारवाडी घरानाका बालबालिकालाई ट्युसन पढाउन थाले । त्यतिबेलै उनी मासिक ६ हजारसम्म कमाउँथे । बिहानदेखि साँझसम्मै उनी दैनिक करिब १० घण्टा पढाउँथे । धपेडीका ती दिनमा भने उनको कमाइ मासिक १० हजारसम्म पुग्थ्यो । यही कमाइको बचतले उनले चार छोरा र दुई छोरीलाई उच्च शिक्षासम्म पढाए, दुई बिघा जमिन पनि किने ।
छोराछोरी, बुहारी मोटरसाइकल र स्कुटर चढेर स्कुलतिर जान्छन् । तर विष्णुदेवको पालामा यस्तो कहाँ हुनु ? उनी पैदल नै हिँडेर विद्यार्थीका घरघर पुग्थे । कतिलाई एक्लै त कतिका घरमा विद्यार्थी जम्मा पारेर उनले दिनमा ५० जतिलाई पढाउँथे । त्यतिबेला १० घर पुगेर ट्युसन पढाउन उनलाई सरदरमा एक घण्टा रोज नहिँडी सुखै थिएन । चर्को धुप होस् कि भुइँकुहिरो, उनले पैदलै विद्यार्थीका घर–घर पुग्न छाडेनन् । हिँड्दा–हिँड्दै कहिलेकाहीँ त उनको जुत्ता–चप्पल पनि फाट्थ्यो, खुट्टाका छाला दर्फरिन्थे । अलिक आम्दानी बचत गर्न थालेपछि भने उनले साइकल चढेर पेडल घुमाउन थाले । त्यसपछि त विष्णुदेवलाई पढाउन जान सजिलो भएको थियो ।
डुलीडुली पढाउने शिक्षक भए पनि उनले विद्यार्थीका परिवार र सिंगो समाजबाट पाउने सम्मान र आदर सम्झेर पैदल हिँड्दाको दुःख भुल्थे । त्यतिबैले विष्णुदेवको मनमा एउटा संकल्प थियो– ‘म जस्तो शिक्षकलाई यति सम्मान छ भने सरकारी शिक्षकलाई कति सम्मान होला । म मेरा सबै छोराछोरीलाई शिक्षक नै बनाउँछु ।’ यतिबेला विष्णुदेव छोराछोरी र बुहारीको कर्मले पुलकित हुन्छन् खुसीले मुस्काउँछन् । उनका ४ छोरा र २ छोरीसहितको १७ सदस्यीय संयुक्त परिवार छ । परिवारमा छोराछोरी, बुहारी र नाति–नातिना छन् । आफूले देखेको सपना शिक्षक बनेर छोराछोरी र बुहारीहरूले पूरा गरेको देख्दा उनी सन्तुष्टिको सास फेर्छन् ।
सिंगो जतुवा बस्तीमा विष्णुदेवको घरको परिचय शिक्षक उत्पादन गर्ने कारखानाका रूपमा छ । छिमेकी जयराम यादव विष्णुदेवको परिवार टोलकै उदाहरण भएको बताउँछन् । प्रदेश स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले भने, ‘यो सब विष्णुदेवले उसबेला विराटनगरका घर–घर पुगेर ट्युसन पढाएर गरेको लगानीको फल हो ।’ छोराछोरी र बुहारीलाई मात्रै शिक्षक बनाएर विष्णुदेवको मनको धोको मेटिएको छैन । इन्जिनियरिङ पढ्दै गरेकी नातिनी, बीएड पढ्दै गरेका एक नाति र आईएड पढ्दै गरेका अर्का नातिमध्ये दुईलाई शिक्षक बनाउने धोको छ ।
विष्णुदेवलाई शिक्षकहरूले समाजबाट पाउने मानमनितो पछिल्ला वर्षहरूमा घट्दै गएजस्तो लाग्छ । उनले भने, ‘जमाना थियो शिक्षकलाई समाजले आदर्श मान्थ्यो ।’ हिजोआज भने शिक्षक र विद्यार्थी दुवैले आदर्श र अनुशासन बिर्सन थालेकाले सम्मानमा कमी आएको र शैक्षिक वातावरण प्रभावित बन्दै गएको उनको बुझाइ छ । समाजका आदर्श मानिने शिक्षकहरू नै दलको झन्डा बोकेर कुदिरहेको देख्दा–सुन्दा उनलाई झ्वाँक नै चल्छ । ‘जब शिक्षकहरू राजनीतिक दलका कार्यकर्ता बने तब उनीहरू आफ्नो कर्तव्यबाट चुके । अहिले समाजले शिक्षकलाई राजनीतिक दलका एजेन्ट ठान्छन्,’ उनले गुनासो गरे ।
विष्णुदेवका छोराहरू बाबुको सपना पूरा गर्न पाउँदा खुसी मात्रै व्यक्त गर्दैनन्, आफूहरूलाई बुबाले सम्मानित पेसामा लगाएकामा गर्व पनि गर्छन् । जेठा छोरा राजेशले आफूहरू चारै दाजुभाइ बीएडको पढाइ सकेपछि शिक्षक बनेको बताए । उनले भने, ‘सन्तुष्ट त छौं नै, आर्थिक रूपमा पनि सिंगो परिवार सबल भएको छ ।’ kantipurnews