दिनहुँ बढ्दै डेंगुका बिरामी

0

देशका धेरै जिल्लामा डेंगुको संक्रमण फैलिएको छ। सबैभन्दा बढी तराईका जिल्लामा फैलिएको छ भने अन्य जिल्लामा पनि यसका बिरामी भेटिन थालेका छन्। राजधानी काठमाडांैसहित झापा, उदयपुर, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, बुटवल र जाजरकोटमा यसको बढी संक्रमित भेटिएको सम्बन्धित जिल्ला अस्पतालहरूको तथ्यांक छ।

एडिस जातको लामखुट्टेको टोकाइबाट हुने यो रोगको संक्रमणका कारण बिरामीमा अत्याधिक ज्वरो आउने, मांसपेशी दुख्ने, आँखा दुख्ने, टाउको दुख्ने, कमजोरी हुने लगायतका लक्षण देखिने गरेका छन्। बिरामी बढेसँगै अस्पतालमा चाप बढेको छ।

परीक्षणको किट गुणस्तरहीन 

जिल्ला अस्पताल उदयपुरमा आएका बिरामीमा डेंगुको लक्षण देखिए पनि हालसम्म पहिचान हुन सकेको छैन। डेंगु रोग परीक्षणका लागि प्रदेश सरकारले उपलब्ध गराएको किटको विश्वसनीयतामाथि प्रश्न उठेपछि बिरामीको पहिचान हुन नसकेको हो।

एक वर्षअघि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पठाएको किटबाट परीक्षण गर्दा रिपोर्टमा शुद्धता नआउँदा किटको गुणस्तरीयतामा प्रश्न उठेको हो। डेंगुका लक्षण देखिएका बिरामीलाई परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आउने र सामान्य अवस्थाका बिरामीलाई परीक्षण गर्दा पोजेटिभ देखिने गरेको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेड (मेसु) मुकेश झाले बताए। भने, ‘बिरामीको रिपोर्ट हेर्दा किटको समस्या हो कि भन्ने लागेको छ। त्यसैले नयाँ किट मगाएर पुनः परीक्षण गर्ने तयारीमा लागेका छौं।’

जिल्ला स्वास्थ्य कार्यालयका डेंगु रोग नियन्त्रण फोकलपर्सन लौकाजी राईले, अघिल्लो वर्षको किटबाट परीक्षण गर्दा रिपोर्टमा शुद्धता नआएको बताए। भने, ‘केही किटमा समस्या देखिएको छ, ल्याबमा राखेर हेर्दा कहिले पोजेटिभ, कहिले नेगेटिभ देखिने र धेरैजसो धमिलो देखिएर पहिचान नै नहुने समस्या छ।’ अघिल्लो वर्षको किटमा समस्या देखिएपछि त्यसको प्रयोगमा रोक लगाइएको उनले बताए। भने, ‘प्रदेश सरकारले भर्खरै ३ सय नयाँ किट पठाएको छ सबै पालिकामा वितरण गरेर परीक्षणको तयारी गरेका छौं।’

डेंगु नियन्त्रणका लागि बजेट भर्खरै आएकाले परीक्षणको दायरा फराकिलो बनाइ उपचार सेवा र सचेतनामूलक कार्यक्रम सञ्चालनको तयारीमा रहेको उनले बताए। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले कतैबाट पनि किटमा समस्या आएका बारेमा जानकारी नभएको बताए। भने, ‘किटमा समस्या आएको भए हामीलाई जानकारी गराउनुपर्ने हो, त्यस्तो कहीँ कतैबाट आएको छैन, यदि त्यस्तो रहेछ भने त्यसको गुणस्तरीयताको परीक्षण गर्छौं।’

यता, स्थानीय तहले भने डेंगु रोग नियन्त्रणका लागि खासै चासो दिएको पाइँदैन। महामारी, विपद्सम्बन्धी आपतकालीन बजेट सबै स्थानीय तहले विनियोजन गरे पनि डेंगु रोग नियन्त्रणका लागि कसैले योजना बनाएका छैनन्। रोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन, प्रभावकारी उपचार सेवा र परीक्षणको दायरा फराकिलो बनाउनुपर्नेमा कुनै पनि स्थानीय तहले त्यस्तो खालका योजना हालसम्म बनाएको पाइएको छैन। जिल्लाका चारवटै नगरपालिका त्रियुगा, कटारी, चौदण्डी, बेलका लामखुट्टे प्रभावित क्षेत्र हुन्। यी क्षेत्र तराईसँग जोडिएका र अत्याधिक गर्मी ठाउँ भएकाले लामखुट्टे अत्याधिक पाउने गर्छ। आर्थिक वर्ष ०७६÷०७७ मा जिल्लामा १९ जनामा डेंगु रोग देखापरेको थियो।

झापामा पनि डेंगु, छैन बिरामीको तथ्यांक 

झापामा पनि डेंगु संक्रमणका बिरामी देखा पर्न थालेको छ। जिल्लाका निजी अस्पतालहरूमा डेंगु संक्रमणका बिरामी देखा पर्न थालेका हुन्। जिल्लामा डेंगु संक्रमित फेला परे पनि स्थानीय पालिकाका स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालय झापासँग भने डेंगु बिरामीको यकिन तथ्यांक नै छैन। झापाका पत्रकार अम्बिका भण्डारीलाई डेंगु संक्रमण भएको छ।

डेंगु संक्रमण पुष्टि भएपछि उनले भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा उपचार गराएकी छिन्। हाल घरमा आराम गरिरहेकी उनले सामाजिक सञ्जालमा लेखेकी छिन, ‘फेरि जाँच्दा ल्याब रिपोर्टले डेंगु पोजेटिभ नै भन्यो।’ त्यति मात्र नभएर अहिले निजी अस्पतालहरूमा पनि डेंगु संक्रमणका बिरामीहरू उपचार गराइरहेको छ। केही दिनअघि बिर्ता सिटी अस्पतालमा केही डेंगुका बिरामी उपचार गराउन पुगेको जानकारी प्राप्त भएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए। ‘स्वास्थ्य कार्यालयले पालिकाहरूसँग समन्वय मात्र गर्ने हो,’ उनले भने, ‘लार्भा नष्टदेखि डेंगु नियन्त्रण तथा रोकथामसम्बन्धी सम्पूर्ण काम पालिकाको स्वास्थ्य शाखाहरूले गर्नुपर्ने हो।’ जिल्लामा डेंगु संक्रमित भेटिन थाले पनि पालिका र स्वास्थ्य कार्यालयले अहिलेसम्म कुनै ठोस कदम नचालेको पाइएको छ।

पालिकाहरूलाई डेंगु संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले पत्राचार गर्न लागेको स्वास्थ्य कार्यालय झापाका डेंगुका फोकल पर्सन वीरेन्द्र दासले बताए। पालिकाका स्वास्थ्य शाखाहरूले नियमित रूपमा रिपोर्टिङ नगर्दा जिल्लाको यकिन तथ्यांक कार्यालयसँग नभएको जानकारी दिँदै उनले भने, ‘हाल निजी अस्पतालहरूमा डेंगुका बिरामीहरू भेटिएको जानकारी आयो, पालिकाहरूसँगै त्यसको कुनै आधिकारिक जानकारी छैन, हामीले बिरामीको तथ्यांक माग गरिरहेका छौं,’ उनले भने।

जिल्लाको सहरी क्षेत्र दमक, बिर्तामोड, मेचीनगर र भद्रपुर डेंगु संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत तथा सूचना अधिकारी चूडामणि लुइँटेलले जानकारी दिए। अहिलेसम्म सुन्नमा आएको बिरामीहरू त्यही क्षेत्रमा भेटिएको उनले बताए।

देशभर डेंगुको महामारी फैलिरहेकाले स्वास्थ्य कार्यालय झापाले गत साउन ११ गते नै प्रदेश १ को सामाजिक विकास मन्त्रालयलाई डेंगु परीक्षणका लागि ३ सय किट माग गरेको थियो। तर, मन्त्रालयले ५० किट मात्र पठाएको उनले बताए।

२०७६ सालमा जिल्लामा डेंगु महामारीका रूपमा फैलिएको थियो। त्यस वर्ष एक हजार बढी डेंगुका बिरामी भेटिएको थियो। त्यसपछि दुई वर्ष खासै बिरामी भेटिएन। ‘अहिले फेरि डेंगुका बिरामी भेटिन थालेको छ,’ उनले भने।

बागमतीमा फैलिँदै डेंगु 

स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार साउन महिनामा जिल्लामा संक्रमित भएपछि ७६ जनामा डेंगु संक्रमण देखिएको छ। भरतपुरमा उपचारका लागि आएका चितवनमा सहित नवलपरासी र मकवानपुरका ९ सय ८९ जनाको परीक्षण गरिएको थियो।

सुरुवाती समयमा देखिएको संक्रमणको संख्याअनुसार चितवनमा संक्रमण बढ्ने अनुमान जिल्ला स्वास्थ्य कार्यालय चितवनले गरेको छ। डेंगुको संक्रमणको जोखिम हुने मौसम सुरु भएकाले बढ्न सक्ने स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी रामकुमार केसीले बताए।

चितवनमा सबैभन्दा धेरै संक्रमित खैरहनी नगरपालिकाका छन्। गत आर्थिक वर्षमा ३ सय ३ जनामा डेंगु संक्रमण भएको थियो। गत वर्ष ५ हजार ४ सय ५५ जनामा थियो।

मकवानपुरमा बढ्दै संक्रमित

मकवानपुरमा पनि डेंगुको संक्रमण बढेको छ। आर्थिक वर्षको सुरु डेढ महिनामै जिल्लाका ५ सय ५८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए। संक्रमण दर हेर्दा संक्रमितको यो संख्या गत आर्थिक वर्षभन्दा झन्डै तेब्बर हो। गत आर्थिक वर्ष २०७८÷७९ मा वर्षभरि संक्रमित हुनेको संख्या १ सय ९५ थियो। यस वर्ष भदौ १५ गतेसम्म नै संक्रमितको संख्या ५ सय ५८ पुगेको हो।

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकामा डेंगुका संक्रमित धेरै देखिएका छन्। उपमहानगरका ४ र ५ नम्बर वडामा बढी संक्रमित छन्। १०, ११ लगायत हेटौंडाका अधिकांश वडामा डेंगुको संक्रमण फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ। त्यसैगरी जिल्लाको बागमती गाउँपालिका, बकैया गाउँपालिका, भीमफेदी, मनहरी लगायतका स्थानीय तहमा पनि डेंगुका बिरामी फेला परेका छन्।

हेटौंडा उपमहानगरपालिका–४, ५, १० र ११ मा अत्यधिक डेंगुको संक्रमित फेला परेपछि उपमहानगरपालिकाले डेंगु नियन्त्रण गर्न भन्दै प्रत्येक टोलको घरदैलोमा पुगेर सन्देशमूलक अभियान चलाएको छ। जसमा लामखुट्टे नियन्त्रणको विभिन्न उपायहरूको अवलम्बन गर्न सुझाव दिइएको उपमहानगरपालिको स्वास्थ्य महाशाखाले जनाएको छ।

सामान्य लक्षण देखिएका अधिकांश बिरामीहरू चितवनको भरतपुर अस्पताल र मकवानपुरको हेटौंडा अस्पतालमा भर्ना भई उपचार गराइरहेको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए। उनका अनुसार डेंगुबाट प्रभावितभई गम्भीर प्रकृतिका बिरामीहरूको भने काठमाडौंको शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा उपचार भइरहेको छ।

सिन्धुलीमा पनि संक्रमण बढ्दै

सिन्धुलीमा पनि पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार जिल्ला सदरमुकामस्थित कमलामाई नगरपालिका, दुधौली नगरपालिका र मरिण गाउँपालिकामा डेंगुको संक्रमणका बिरामीहरू पाइएको छ। कमलामाई नगरपालिकामा २०, मरिण गाउँपालिकामा ४ र दुधौली नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीका डेंगु फोकलपर्सन गंगाराम कार्कीले बताए।

संक्रमणमा परेकामध्ये एक जनाको अवस्था गम्भीर छ। कमलामाई नगरपालिका–६ का संक्रमितको स्वास्थमा थप समस्या आएपछि उनलाई काठमाडौं लैजाने तयारी गरिएको छ। संक्रमितको सिन्धुली अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थाहरूमा राखेर उपचार थालिएको छ। यस्तै पालिकास्थित स्वास्थ्य संस्थाहरूमा समेत उपचारको व्यवस्था मिलाइएको बताइएको छ। सिन्धुली अस्पतालसहित विभिन्न पाँचवटा स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ। जिल्लाको हरिहरपुरगढी, सुनकोसी, घ्याङलेख, गोलन्जोर, फिक्कल र तीनपाटन गाउँपालिकामा भने हालसम्म डेंगुका संक्रमण पुष्टि भएको छैन। जिल्लामा ज्वरोका बिरामीहरूको संख्यासमेत बढ्दै गएको छ।

डेंगु नियन्त्रणमा रामेछापको सक्रियता 

पछिल्लो समय देखिएको डेंगु रोगको प्रकोप रामेछापमा पनि भित्रिएको छ। जिल्लामा एक दर्जन मानिसमा रोगको लक्षण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र शाहले जानकारी दिए। जसमध्ये मन्थली नगरपालिकामा तीन जना र रामेछाप नगरपालिकामा ८ जनामा परीक्षण गर्दा डेंगुको लक्षण देखिएको पनि शाहले बताए। डेंगुको लक्षण देखिएका बिरामी केहीको उपचार भइरहेको र केही उपचारपछि घर फर्केको पनि शाहले जानकारी दिए।

पालिकामा रहेका स्वास्थ्य शाखाहरूलाई पनि डेंगुको लक्षण देखिएका बिरामी भए जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी गराउन निर्देशन दिएको उनले बताए। डेंगु रोगको परीक्षण गर्ने किट अभावको कारण पालिकाहरूले परीक्षण गराउन सकेका छैनन्। रामेछाप जिल्लाका आठवटा स्थानीय तहाले डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि भने जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। लामखुट्टेबाट बच्ने उपाय र घर वरिपरि रहेका पानी जम्ने खाल्डाखुल्डी पुर्ने र पानीका भाँडाहरू खुला नराख्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको खाँडादेवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठले जानकारी दिए।

दिनहुँ थपिँदै बिरामी, छैन नियन्त्रणको प्रयास

बुटवलमा नगरपालिका र जनस्वास्थ्य कार्यालयले डेंगुरोग नियन्त्रणसम्बन्धी देखिने गरी काम गरेका छैनन्। लार्भा मार्नका लागि बुटवल उपमहानगरपालिकाले झारा टार्ने मात्र गरेको नगरवासीहरूले गुनासो गरेका छन्।

डेंगुकै कारण यसै साता मालारानी गाउँपालिका १ अर्घाखाँची घर भई हाल बुटवल ११ बस्ने ७६ वर्षीय चुरामणि आचार्यको मृत्यु भएको छ। मृतक आचार्य अर्घाखाँची साविक मरेङ गाविस पूर्वउपाध्यक्ष हुन्। लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकका अनुसार सरकारी र निजी अस्पतालमा गरी बुटवलभरिमा ५० जना बढी डेंगुका बिरामी उपचाररत रहेको जानकारी गराए। लुम्बिनी प्रादेशिक अस्पतालमा आउने बिरामीहरूमध्ये कम्तीमा २५-३० जना बिरामी डेंगुका आउने गरेका छन्। प्रादेशिक अस्पतालका अनुसार ओपीडीमा दैनिक ३ सय बढी बिरामी आउने गर्छन्।

वर्षात् र गर्मी मौसम, बुटवलको मुख्य सडकसहित भित्री सडकहरू विस्तार हुँदा खाल्डोमा संकलन भएको फोहोर पानी र लामखुट्टे निराकरणसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू नहुँदा डेंगुका बिरामीहरू बढ्दै गएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर इन्द्र ढकालको भनाइ छ।

न सचेतना, न पूर्वतयारी 

जाजरकोटमा हालसम्म डेंगुका बिरामी देखिएका छैनन्। टाइफाइड र ज्वरोका बिरामी अस्पतालमा आए पनि परीक्षण गर्दा डेंगुका बिरामी फेला नपरेको जिल्ला अस्पतालका डाक्टर औसरसिंह राठौरले बताए। तर, छिमेकी जिल्ला रुकुमपश्चिममा भने डेंगुका बिरामी बढेका छन्। जिल्ला अस्पताल सल्ले र निजी अस्पतालमा पछिल्लो एक सातामा १० जना बिरामी फेला परेका हुन्।

जिल्ला अस्पताल सल्लेमा तीन जना र साझा मुराल अस्पतालमा सात जना डेंगुका बिरामीको उपचार भएको छ। जिल्ला अस्पताल सल्लेका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीका अनुसार पछिल्लो एक सातामा अस्पतालमा तीन जना डेंगुका बिरामी फेला परेर उपचार गरिएको छ। मुसिकोट नगरपालिका–१ मा रहेको साझा मुराल अस्पतालमा पनि एक सातामा सात जना डेंगुका बिरामी फेला परेका छन्। अस्पतालका प्रबन्धक डा. दीपक पुनका अनुसार दुई जनालाई डिस्चार्ज गरिएको छ भने ५ जना अस्पतालमा उपचाररत छन्।

घर छेउछाउमा थुप्रिएको फोहोर, खोल्साखोल्सीमा जम्मा हुने पानी लगायतका कारण बढेका लामखुट्टेको टोकाइ, सचेतनाको अभावलगायतका कारण डेंगुका बिरामी फेला पर्न थालेको डाक्टर पुनले बताए। विशेषगरी साँझ बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गरेको उनको भनाइ छ। रुकुमपश्चिममा डेंगुको संक्रमण बढिरहदा स्थानीय सरकारले सचेतनाको कार्यक्रम सञ्चालन नगरेको जनगुनासो बढेको छ।  annapurnapost

You might also like