चौतारा झडप : सिसा तोडफोड गर्ने तीन जना पक्राउ, अन्य फरार
जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरको चौतारा बजारमा असन्तुष्ट पक्षबाट उम्मेदवारी दर्ताको क्रममा भएको झडपमा तोडफोड सुरु गर्नेमध्ये तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतका अनुसार समूहमध्ये समातिएका चौतारा साँगाचोकगढी नगर-४ का २७ वर्षे मिलन श्रेष्ठ, वडा नं. १ कै २६ वर्षका प्रज्ज्वल कार्की र त्यही गाउँका ४१ वर्षका कालुमान कामी रहेका छन् ।
मुख्य निर्वाचन कार्यालय चौतारामै उम्मेदवारी दर्ता जाने बहानामा हुलदंगा मच्चिँदा रोकिएको उम्मेदवारी दर्ता प्रक्रिया दुई घण्टापछि चर्को सुरक्षाबीच निरन्तरता दिइएको थियो । ‘धेरै समूहमध्ये तीन जनालाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ र अनुसन्धान गरिरहेका छौं; अन्य भने फरार छन् । टिकटकै असुन्तुष्टिले गर्दा यस्तो भएको बाहिरबाट बुझिन आएको छ,’ डीएसपी बस्नेतले भने । उनका अनुसार सोमबार दिउँसो अन्दाजी चार बजे उनीहरूले चौसागढी नगरको निर्वाचन कार्यालयभित्र पसेर एक्कासी तोडफोड सुरु गरेका थिए । त्यसयता चौतारा साँगाचोकगढी नगरमा नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षको समूहबीच झडप भएको थियो ।
दुवै पक्षबीच हानाहान हुन थालेपछि अवस्थालाई नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सामूहिक रुपमा परिचालन गरिएको थियो । ‘प्रहरीबाट तीन राउन्ड अश्रुग्याँस प्रहार गरिएको छ । झडप मच्चाउन सुरु गर्ने अन्य समूह फरार छन् । प्रहरीले उनीहरूलाई खोजिरहेको छ,’ उनले भने । प्रत्यक्षदर्शीका अनुसार झडपको क्रममा असन्तुष्ट पक्षले ढुंगा प्रहार गरेर नगरपालिकाको सिसा फुटाउन खोज्दा केहीलाई चोटपटकसमेत लागेको थियो । मेयरका उम्मेदवार सापकोटालाई भिडबाट छिचोलेर कार्यालयभित्र पुर्याउनासाथ सुरक्षाकर्मीले गेट बन्द गरेपछि कार्यालयको चारैतिरबाट गालीगलौज‚ ढुंगा-लाठी‚ इट्टा प्रहार गर्न सुरु भएको थियो । सुरक्षाकर्मीलाई यो थेग्न हम्मे परेको थियो ।
यसरी सुरु भयो झडप
केही दल र स्वतन्त्र दलका विद्रोही उम्मेदवारले आइतबार नै उम्मेदवारी दर्ता गरिसकेका थिए । एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपालाई उम्मेदवारी दर्ताका लागि सोमबार दिउँसोको समय छुट्याइएको थियो । कांग्रेस, एमाले र राप्रपाले कार्यकर्ताका साथ गएर दर्ता गराए तर अन्तिममा मनोनयन दर्ता गर्न खोज्दै अघि बढेका माओवादी-समाजवादीको हुलबीच धकेलाधकेल सुरु भयो ।
१४ वडा रहेको नगरमा माओवादी र सामाजवादीबीच गठबन्धन भए पनि उपप्रमुख, वडा १ र १० मा अध्यक्ष पदका लागि समाजवादी पार्टीलाई दिइएको थियो । त्यसयता यही कुरालाई लिएर माओवादी कार्यकर्ताको अर्को पक्ष असुन्तष्ट थिए । ‘समयमै छलफल नहुँदा यत्रो दुखद् घटना भयो । जुलुसकै बेला माओवादीको तर्फबाट मेयर उम्मेदवार कृष्णप्रसाद सापकोटा देशबन्धुमाथि हातपातको प्रयास भयो । समाजवादीका नेता सोम सापकोटा र सुभाष कर्माचार्यलाई समेत ‘टार्गेट’ गरियो,’ एक नेताले भने । kantipurnews