ललितपुर बालिका बलात्कार प्रकरण : सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस

0

 

काठमाडौँ — ललितपुरकी एक १४ वर्षीया बालिका बलात्कार मुद्दामा प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको छ । प्रहरी परिसर ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहले ती बालिकाको बलात्कार आरोप लाग‍ेका व्यक्ति थुनामै रहेको बताए ।

१६ चैतमा प्रहरी परिसर ललितपुरमा ती बालिकाले आफूमाथि घरधनीका छोराले तीन वर्षयता बलात्कार र यौन हिंसा गरेको भन्दै जाहेरी दिएकी थिइन् । घरेलु सहयोगीका रुपमा बस्दै आएकी ती बालिकाले एक सरकारी स्कुलमा आठ कक्षामा पढ्थिन् । तीन/चार दिनदेखि कक्षामा ध्यान नदिने, एकोहोरो टोलाएर बस्ने जस्ता व्यवहार देखाएकाले उनलाई विद्यालय प्रशासनले आवश्यक अनुसन्धानका लागि प्रहरीमा पुर्‍याएको थियो ।

मुद्दा दर्ता भएपछि पीडितकी बाबु, आमा र मामाले उनलाई मुद्दा फिर्ता लिन दबाब दिएका थिए । यो मुद्दालाई हेरिरहेका एक बाल अधिकारकर्मीले शक्तिशाली पीडक परिवारका अलवा बालिकाकै परिवारले पनि दबाब बढाएपछि ती बालिका होस्टाइल हुने सभ्भावना बढेको बताए । अनुसन्धान सुरु गरेपछि प्रहरी र राष्ट्रिय बाल अधिकार परिषद्ले ती बालिकालाई संरक्षणका लागि एक बाल गृहमा राखेको थियो ।

बाल गृहमा बस्दा बालिकामा मानसिक समस्या देखिएको भन्दै उनलाई उपचारका लागि एक निजी अस्पतालमा भर्ना गरिएको थियो । विद्यालयले बालिकालाई प्रहरी प्रभागमा बुझाएको २० दिनपछि बालिकाका बाबु र मामाले उनलाई जर्बजस्ती अस्पतालबाटै उठाएर लगेका थिए ।

परिवारले नै पीडित बालिकालाई होस्टाइल गराउन दबाब दिइरहेको र अनुसन्धान प्रक्रिया पनि सुस्त भएको भन्दै बाल अधिकार परिषद्ले राष्ट्रिय मानव अधिकार आयोगलाई पत्र नै लेखेर बालिका होस्टाइल हुने खतरा रहेको र बालमैत्री वातावरणमा निष्पक्ष अनुसन्धानको वातावरण मिलाइदिन भन्दै पत्राचार गरेको छ ।स्रोतका अनुसार अनुसन्धान जारी रहे पनि बालिकाका परिवार प्रहरी सर्म्पकमा छैनन् ।  kantipurdainik

You might also like