मदन भण्डारी जोगाउनेदेखि सेल्टर दिनेसम्म १७ जनालाई एमालेको कम्युनिस्ट योद्धा सम्मान

0

काठमाडौं : नेकपा एमालेले कम्युनिस्ट आन्दोलन र पार्टी निर्माणमा योगदान स्वतन्त्रसहित पार्टीका १७ जना योद्धालाई सम्मान गरेको छ।

कम्युनिस्ट पार्टी दिवसका अवसरमा शुक्रबार आयोजित समारोहमा अध्यक्ष केपी शर्मा ओलीले दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरे।

सचिव प्रदीप ज्ञवालीले उनीहरुकै योगदानले कम्युनिस्ट पार्टी सबैभन्दा ठूलो, बलियो, सहि र सन्नुत विचार भएको पार्टी बनेको बताए।

‘यहाँसम्म ल्याउन धेरै योद्धाहरुले असाधारण योगदान गरेका छन्। ओझेलमा परेका योद्धाहरु, भुइँमा रहेकाहरु, मन्दिर बनिसकेपछि सबैको आँखा गजुरमा जान्छ। जग बनाउनेहरु महत्वपूर्ण हुन्। त्यस्तै जगका सारथीलाई सम्मान गर्दैछौं। कम्युनिस्ट योद्धा सम्मानबाट सम्मान गर्दैछौं,’ उनले भने।

‘अग्रजलाई सम्मान गर्दै अघि बढ्ने नीति हामीले सुरुवात गरेका छौं,’ उनले भने, ‘राज्यको सुविधा र सार्वजनिक ओहदामा रहनुभएन। पार्टीलाई बलियो र सबल बनाए।’

सचिव ज्ञवालीकाअनुसार सम्मानित हुनेमा झापा आन्दोलनमा सहभागीदेखि मदन भण्डारीलाई जोगाउनेसम्म छन्।

पोखरा स्वतन्त्र वामपन्थी नेता टेकनाथ बराल सम्मानित भएका छन्। अर्घाखाँचीका नेत्रप्रसाद ढुंगाना र तुलसीराम मिश्र सम्मानित भएका छन्।

काठमाडौंकी नानीमैया नकर्मी र मदन भण्डारीलाई जोगाउँदा घाइते भएका गोरखाका कुमार गुरुङ जो मस्तिष्क घातले प्रताडित छन् उनलाई एमालेले कम्युनिस्ट योद्धाबाट सम्मान गरेको हो।

ललितुरका चतुर व्यनजरकार, बागलुङ बसन्तप्रसाद गौचन, मजदुर हरिप्रसाद शर्मा काफ्ले, गायक रामप्रसाद दुवाल सम्मानित भएका छन्।

सिन्धुपाल्चोकका छत्र बोहरा अक्सिजन सिलिण्डरसहित उपस्थित भएर ओलीबाट कम्युनिस्ट योद्धा सम्मान ग्रहण गरे।

शिक्षक नेता माधवप्रसाद अधिकारी, एमाले नेता विष्णु पौडेललाई जेल ब्रेकमा सघाउने चुमकला बन्जाडे, जेल ब्रेक गरेर महाकाली नदीको भेल तरेर संगठन विस्तार गर्ने कञ्चपुरका लक्ष्मीराज जोशी सम्मानित भएका छन्।

झापाका अमर कार्की, भीमबहादुर थापा, काठमाडौंका फोटो पत्रकार एवं कम्युनिस्ट नेताहरुलाई सेल्टर दिने विष्णु ढंगोल, धनुषाबाट ईश्वर पोखरेललाई सेल्टर दिने कुमारी देवी महरा चमार  कम्युनिस्ट योद्धाबाट सम्मानित भएका छन्।  annapurnapost

You might also like