कैलालीमा गठबन्धनमा आवद्ध दलबीच यसरी हुनसक्छ सिट बाँडफाँट

0

धनगढीः कैलालीमा १३ स्थानीय तह र एक सय २६ वडा छन्। जिल्लामा ६ सय ५६ पदका लागि स्थानीय तह निर्वाचन हुनेछ। नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत सामाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले जिल्लामा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गरेका छन्।

तर दलहरुका अ–आफ्ना अडानका कारण गठबन्धन गर्न सहज भने छैन। गठबन्धनका लागि सुदूरपश्चिम सरकारमा भाग पाउनुपर्ने नेपाली काँग्रेसको पहिलो शर्त छ। काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले प्रदेश सरकारमा काँग्रेसको सहभागिता हुनुपर्ने बताए। ‘गठबन्धनमा जाने त निश्चित हो तर खास कुरा भएको छैन,’ उनले भने, ‘अनौपचारिचक छलफल भइरहेको छ। तर कसरी जाने कुरा भएको छैन।’

गठबन्धन हुँदा सबै क्षेत्रमा हुनपर्ने तर्क उनको छ। ‘प्रदेशमा काँग्रेस प्रतिपक्षको भूमिकामा हुने तर स्थानीय तहमा गठबन्धन गर्ने कुरा मिलेन,’ उनले भने। गत निर्वाचनमा प्रमुख जहाँ जसले जितेको छ, उसले लिने र एमालेले जितेको ठाउँमा दोस्रो धेरै मत पाएको दलले प्रमुख पाउनुपर्ने अडान काँग्रेसको छ।
त्यसमा माओवादी केन्द्र पनि लगभग सहमत देखिएको छ। काँग्रेस र माओवादी केन्द्रले जितेका स्थानीय तह र वडाबाहेक अन्यमा मात्र भागबण्डा हुनुपर्ने तर्क उनीहरुको छ। माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालबहादुर सोडारीले गठबन्धनमा आवद्ध दलहरुबीच सिट बाँडफाँटबारे सहमति नभएको बताए। उनले भने, ‘हामीले मोहन्याल गाउँपालिकाका कार्यबहाक अध्यक्षलाई पनि पार्टीमा प्रवेश गराएका छौ,’ उनले भने, ‘स्वतन्त्र वडाध्यक्ष पनि माओवादीमा प्रवेश गरेका छन्। तर गठबन्धनको सहमति भएको छैन।’

०७४ को निर्वाचनमा कैलालीको गोदावरी, गौरीगंगा, घोडाघोडी, टीकापुर, लम्कीचुहा, चुरे र मोहन्याल गाउँपालिका गरी ७ वटा पालिकामा नेकपा एमाले विजयी भएको थियो। मोहन्याल गाउँपालिकाका अध्यक्षको निधन भएपछि कार्यवाहक अध्यक्ष माओवादीमा प्रवेश गरेकी छिन्। माओवादी केन्द्र भजनी नगरपालिका र कैलारी गाउँपालिकामा विजयी भएको थियो। धनगढी, जोशीपुर र बर्दागोरियामा नेपाली काँग्रेस विजयी भएको थियो भने जानकी गाउँपालिकामा फोरमका उम्मेदवार विजयी भएका थिए। अहिले फोरमले नेपाली काँग्रेससंग एकता गरिसकेको छ।

०७४ को निर्वाचनमा जिल्लाका ५४ वडाध्यक्ष काँग्रेस, ३७ वडाध्यक्ष एमाले र ३५ वडाध्यक्षमा माओवादी केन्द्रले जितेको थियो। एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले भने एमाले जितेको ठाउँ आफूले पाउनुपर्ने तर्क गरेको छ। एकिकृत समाजवादीका कैलाली सचिव खडक रावतले गठबन्धनका लागि दुईपटक छलफल भएको बताए।

‘गठबन्धन गर्ने सहमति भएको छ,’ उनले भने, ‘प्राविधिक विषयमा शुक्रबारदेखि छलफल सुरु हुन्छ। केन्द्रबाट पनि वडासम्म पाँच दलिय गठबन्धनको निर्देशन छ। हामीलाई पनि यस्तै सर्कुलर छ। वडा तहसम्म जाने हाम्रो छलफल हुँदैछ।’ गठबन्धनमै रहेका जनमोर्चा र जसपाले पनि वडाध्यक्षमा दाबी गर्दै आएका छन्। काँग्रेस र माओवादीले ०७४ को निर्वाचनमा जितेका पालिकामा प्रमुख पाउने र एमाले जितेको पालिकामा सबैभन्दा बढी समाजवादीलाई दिने गरी सिट बाँडफाँट हुने चर्चा छ।    dienshkhabar

You might also like