पश्चिम नवलपरासीमा ३३ औं जनआन्दोलन दिवस मनाइयो

0

नवलपरासी २४ चैत्र – नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीको आयोजनामा बर्दघाटमा विहीवार ३३ औं जनआन्दोलन दिवस विहीवार मनाइएको छ । २०४६ सालको जनआन्दोलनको स्मरणमा दिवस मनाइएको क्रान्तिकारी माओवादीका जिल्ला इञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । बर्दघाट–४ स्थित देवीनगरटोलमा आयोजित कार्यक्रममा बोल्दै बक्ताहरुले जनआन्दोलनले उचाई लिदै गर्दा नेतृत्व पक्तिबाट धोकाधडी हुने गरेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी माओवादीका जिल्ला इञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले बि.स. २००७ साल देखि २०६२–२०६३ साल सम्मका हरेक आन्दोलनमा नेतृत्व बाट जनताले धोका पाएको बताउदै मजदु्र किसान सुकुम्वासी तथा आधारभुत एंव उत्पिडित वर्गका जनताले पटक पटक नेतृत्वबाट धोका पाएको भन्दै संसदवादीहरु जनतालाई झुक्याउनमा माहिर रहेको चर्चा गर्नुभयो । कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिल बहादुर चुदाँराले शैक्षिक क्षेत्रमा भएको नीजिकरण ब्यापारीकरण र माफियाकरणका बिरुद्ध उत्रदै निर्वाचन बहिष्कारको आन्दोलनमा संगठन लागि परेको उल्लेख गर्नुभयो । कार्यक्रममा क्रान्तिकारी माओवादी प्रदेश सदस्य तथा कार्यबहाक जिल्ला सेक्रेटरी रवि पाण्डेयले भुमीहिन सुकुम्वासी तथा विपन्न वर्गको भावना माथि खेलबाड गर्दै संसदवादीहरुले फेरि गाउँ गाउँमा भोट माग्न आएकोले यस पटक जनता सजग भएर त्यसका बिरुद्ध प्रतिकारमा उत्रिनुपर्नेमा जोड दिनुभयो । क्रान्तिकारी पत्रकार महासंघका महासचिव समेत रहेको पाण्डेयले नो भोटको ब्यवस्था हुनुपर्नेमा जोड दिदै कसैलाई पनि मत दिन्न भन्न जनताले पाउनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मनोज थापा , शहिद परिवारकी खुसी थापा लगायतको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमको संचालन सो पार्टीका जिल्ला सचिवालय सदस्य दुर्गानारायण चौधरी र स्वागत जिल्ला सदस्य ज्ञानबहादुर केसीले गरेका थिए । कार्यक्रममा बिभिन्न जनवर्गीय संगठन आबद्ध नेता कार्यकर्ता एव स्थानीय समुदायको उपस्थिति रहेको थियो ।

You might also like