बर्दघाट २ चुरे पहाडी क्षेत्रस्थित बाख्रा पकेटका कृषकलाई उन्नत बोका
बर्दघाट – बर्दघाट नगरपालिका २ को पहाडी चुरेक्षेत्रस्थित बाख्रा पकेटमा २ वटा उन्नत बोका उपलब्ध गराइएको छ । चालु बर्षमा पकेट कार्यक्रम विस्तारका लागि ६ वटा बोका दिने कार्यक्रम रहेको नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो ।
तस्बिर – रामप्रसाद पौडेल
पकेट विस्तारसंगै यस क्षेत्रका बाख्रापालक कृषकहरु संगठित हुन थालेका छन् । बर्दघाट नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको सक्रियतामा बाख्रापालक कृषक संगठित हुन थालेका हुन । नगरमा नेपाल लाइभस्टक इनोभेसन परियोजनाले कार्यक्रम समेत संचालन गर्दै आएको छ । सो कार्यक्रम अनुसार बर्दघाट २ बाँसखोलाका कृषकहरुले बिर बहादुर राईको संयोजकत्वमा २२ सदस्सीय बाख्रापालक कृषक समुह गठन गरेका छन् ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले बाख्रा पकेट क्षेत्र विकास कार्यक्रम अन्तरगत बर्दघाट – २ को पहाडी क्षेत्रका आमबाँस र सुखौरा गाँउका कृषकहरुलाई लक्षित गरेर सुधारिएको खोर निर्माण कार्य अन्तिम चरण पुगेकोे जानकारी दिनुभयो ।
बर्दघाट २ को पहाडी चुरेक्षेत्र र वडा १६ लाई बाख्रा पकेट क्षेत्र बनाउने पालिकाको योजना रहेको बस्यालको भनाई छ । चुरेक्षेत्र भित्रकै बाँसखोला संसारकोट तिल्केनीलगायतका गाउका कृषकलाई आगामीबर्ष यस कार्यक्रममा समाबेश गर्न समुह गठनका काम भइरहेको पशुपन्छी विकास शाखा प्रमुख भरत लम्सालको भनाई छ । चालु बर्षमा आमबाँस र सुखौरामा ४५ बटा सुधारिएको खोर निर्माण सम्पन्न हुनेछन् । हाम्रो कार्यक्रम अनुसार सुखौरामा २० र आमबाँसमा २० खोर बन्नेछन् – उहाँले भन्नुभयो – परियोजनाबाट ५ वटा नमुना खोर तयार हुदैछन् ।
तस्बिर – रामप्रसाद पौडेल
नगरतर्फको १५ लाख रुपैया लागतमा सुधारिएको खोर, डिपिङ ट्याङक, भुई तथा बहुबर्षे डाँले घाँस विकास , नश्ल सुधार र प्रबिधि प्रदान गर्ने योजना रहेको शाखा प्रमुख लम्सालले बताए । लम्सालका अनुसार ५ वटा माउ बाख्रा पाल्नका सुबिधा हुने गरी खोर बन्ने छन् । सो वापत १५ हजार रुपैया प्रति खोर कृषकलाई उपलब्ध गराइने उहाँले बताउनुभयो।
त्यस्तै नेपाल लाइभस्टक इनोभेसन परियोजनाका सामाजिक परिचालक प्रेम वलीले परियोजनाबाट आँसबासमा ५ वटा नमुना खोर बनाइएको जानकारी दिनुभयो । हामीले समुह प्रवद्र्धन गरेर पाठशाला संचालन गर्दै आएका छौ –वलीले भन्नुभयो – बर्दघाट नगरमा गठित ५ समुहमध्ये तीनवटा बाख्रापालक कृषकका छन् । यस कार्यक्रम अन्तरगत प्रति खोर २० हजार प्रदान गर्ने वलीको भनाई छ ।