योग्य अफिसरलाई प्राधिकरणको प्रमुख नियुक्त गर्दा देश लोडसेडिङमुक्त भयो : दाहाल

0

 

काठमाडौँ — नेपालमा २०६२/६३ को राजनीतिक परिवर्तनपछि विकास र समृद्धिले नयाँ गति लिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । चितवनमा विद्युत् सबस्टेसन उद्घाटन गर्दै दाहालले पछिल्लो समय लोडसेडिङबाट जनतालाई मुक्त गरेको उल्लेख गर्दै भावि सन्ततिका लागि विकासको नयाँ मोडेल निर्माणको काम अगाडि बढेको बताए ।

दाहालले विगतमा विकासका कुरा भएको तर काम नभएको पनि बताए । उनले राजनीतिक व्यवस्था परिवर्तनपछि मुलुकमा विकासले गति लिएको बताए । ‘हिजोका राजा, महाराजाले ठूल्ठूला कुरा त गरे तर जनतालाई सेवा दिने, राहत दिने कुरामा हामी सयौं वर्ष उही स्थिति भोग्दै आयौं,’ उनले भने, ‘क्रान्तिकारी परिवर्तनपछि विकास र समृद्धिले पनि नयाँ गति लिन थालेको छ । त्यसैको प्रमाण हो लोडसेडिङ मुक्त नेपाल । त्यस्तै, यातायात, कृषि, शिक्षा, सिंचाइ सबै क्षेत्रमा आमूल परिवर्तन गर्नसक्ने स्थितिमा पुगेका छौं ।’

नेपालमा अपार जलस्रोत भएको र त्यसको सदुपयोगबाट विकास सम्भव भएको दाहालको भनाइ थियो । राजनीतिक नेतृत्वले सही निर्णय लिएमा राम्रो काम गर्न सकिन्छ भन्ने ऊर्जा मन्त्रालयले देखाएको उनले बताए । ‘ऊर्जामन्त्रीले गरेको निम्न आय भएका र निश्चित युनिट विद्युत् उपभोग गर्ने जनतालाई नि:शुल्क गर्ने निर्णयले लाखौं जनता लाभान्वित भएका छन् । नेतृत्वले गर्न चाह्यो भने धेरै गर्न सकिन्छ भन्ने ऊर्जा मन्त्रालयको यो निर्णयले देखायो,’ उनले भने ।

नेपालको जलस्रोत वर्षौंदेखि बगेर गएको त्यसबाट विद्युत् उत्पादन गर्ने र त्यसको बजारीकरण गर्नुपर्ने दाहालको भनाइ थियो ।

नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङलाई नियुक्त गर्दा मुलुक लोडसेडिङ मुक्त भएको दाहालको भनाइ थियो । घण्टौं हुने लोडसेडिङ अन्त्य गरेर मुलुक विद्युत बेच्ने अवस्थामा पुगेको उनले बताए ।’हाम्रै पहलमा देशमा विद्युतीकरणसम्बन्धी योग्य अफिसरलाई विद्युत प्राधिकरणको कार्यकारी प्रमुख बनाएपछि मानिसहरूलाई आश्चर्य जस्तो भयो । केही महिनाभित्र नेपाल लोडसेडिङबाट आक्रान्त देश लोडसेडिङमुक्त भयो । त्यहाँबाट यहाँसम्म आइपुग्दासम्म लोडसेडिङमुक्त मात्रै होइन विद्युत् बेच्ने अवस्थामा आइपुग्यो । म हामीले लिएको निर्णयप्रति गर्व गर्न चाहन्छु र यो क्षेत्रमा योगदान गर्नेप्रति आभार व्यक्त गर्न चाहन्छु,’ दाहालले भने ।  kantipurnews

You might also like