वायु प्रदूषण घटाउन सरकारले बनाएको कार्ययोजना कार्यान्वयन फितलो

0
डढेलो र फोहोर बाल्ने गतिविधिले प्रदूषण बढेको पौडेलको भनाई

वायु प्रदूषणको समस्या हरेक वर्ष दोहोरिए पनि त्यसलाई घटाउन सरकारले बनाएको कार्ययोजना कार्यान्वयन हुन सकेको छैन । सरकारले उद्योग, यातायात, निर्माणको क्षेत्रबाट हुने प्रदूषण न्यूनीकरणका लागि दुई वर्ष अगाडि नै नीति तथा कार्ययोजना बनाएको थियो । राष्ट्रिय वातावरण नीति–२०७६ ले वायु, जल, माटो, ध्वनीलगायत सबैप्रकारका प्रदूषण रोकथामको उद्देश्य लिएको भए पनि प्रदूषण घट्न सकेको छैन । यतिबेला काठमाण्डौसहित मुख्य शहरमा प्रदूषणको अवस्था अस्वस्थकर छ ।

उद्योग, कलकारखाना, गाडीमा वातावरण मैत्री प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने समेत सरकारको नीति छ । शहरी क्षेत्रमा मुख्य गरी वायु प्रदूषण र ध्वनी प्रदूषणको समस्या उच्च छ । प्रदूषणको मुख्य कारण बढ्दो गाडीको संख्या, शहरीकरण, विकास निमार्णलगायत मानिन्छ । तर अहिले केहि जङगलमा डढेलो लागेको र फोहोर बाल्ने तथा आगलागीजन्य गतिविधिले प्रदूषण बढेको वातावरण विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले बताउनुभयो । अहिले नेपालसहित दक्षिण पूर्वि एसियामा नै डढेलो उच्च रहेकाले नेपालमा प्रदुषण बढेको उहाँको भनाई छ ।

सरकारको नीति कार्यान्वयन गरी प्रदुषण घटाउन विद्युतीय गाडीलाई प्राथमिकता दिने र पुराना गाडीलाई विद्युतीय रुपमा रुपान्तरण गर्ने, ठूला बसलाई चार्जिङ्ग गर्नेगरी स्टेशन बनाउने र साझा यातायातले विद्युतीय गाडी सञ्चालन गर्ने प्रकृया कार्यान्वयनमा गएको विभागले जनाएको छ । अरु क्षेत्रबाट हुने प्रदूषण र त्यसका असर घटाउन विभिन्न निकायबीच समन्वय गर्ने काम भैरहेको तर यो बीचमा कोरोना महामारी र जनशक्ति अभाव मुख्य समस्या बनेको प्रवक्ता पौडेलको दाबी छ । उहाँले जथाभावी आगो नबाल्न तथा वनमा डढेलो नलगाउन, फोहोर नजलाउन पनि आग्रह गर्नुभएको छ ।   parasifm

You might also like