ऊनको अभावमा गाउँघरमा चर्खा चल्न छाडे
गलेश्वर । उत्तरी र पश्चिमी म्याग्दीमा व्यावसायिक रुपमा भेडापालन हुँदै आएपनि भेडाको ऊन निकालेर कपडा बनाउने चलन भने हराउँदै गएको छ । गाउँघरमा चर्खा चलाउने र भेडाको ऊनबाट धागो निकालेर कपडा बनाउने जनशक्तिको अभावमा ऊनका कपडा नै गाउँघरबाट लोप हुन थालेका स्थानीयवासीले बताएका छन् ।
भेडापालनबाट गाउँलेले राम्रो आम्दानी गर्दै आएका भएपनि भेडा मासुका रुपमा मात्र प्रयोग गरिंदा ऊनबाट हुने व्यावसायिक फाइदातर्फ किसानको ध्यान जान सकेको छैन । भेडाको रौं निकालेर चर्खामा घुमाई ऊन (धागो) बनाउने सीप नहुँदा आम्दानीको गतिलो माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरमा समेत मुस्किलले देख्न पाइने मल्काबाङका पुनम छन्त्यालले बताए । भेडाको रौंबाट बनेका ऊनका कपडाको माग देश-विदेशमा समेत उच्च रहेपनि चर्खा चलाएर धागो निकाल्ने र तान लगाएर कपडा बुन्ने जनशक्तिको अभावमा दोहोरो आम्दानीबाट वञ्चित हुनु परेको भेडापालक किसानको भनाइ छ ।
ऊनबाट बन्ने कपडा (हापदुला, काम्लो, बख्खु, घुम)को माग नेपाली तथा बाहिरी बजारमा निकै बढेको पाइन्छ । गाउँघरका बूढापाकाले सीप हस्तान्तरण गर्न नसक्दा अहिलेका युवापुस्तामा चर्खा चलाएर धागो निकाल्ने र तान फिजाएर कपडा बनाउने सीप भाव छ । उनीहरु परम्परागत सीप सिकेर जीविकोपार्जन गर्नुभन्दा विदेश गएर पैसा कमाउनतर्फ आकर्षित हुँदा गाउँघरमा चर्खा चल्न छाडेको मालिका गाउँपालिका-५ देवीस्थानका टेकबहादुर बुढाले बताए ।
धवलागिरि गाउँपालिका-५ की तेजमाया विक उमेरले ७१ वर्षकी भइन् । जान्ने भएदेखि नै चर्खा चलाएर भेडाको रौंबाट ऊन निकाली हापदुला र काम्लो बनाउने गरेकी उनले अहिले हातले भर दिन छोडेपछि चर्खा चलाउन पनि छोडिन् । उनले ४३ वर्षसम्म चलाएको चर्खा अहिले सिकुवामा थन्किएको छ ।
तेजमायाले ऊनबाट बन्ने कपडा सानैबाट बनाउँदै आएकी हुन् । रौंबाट बन्ने कपडा बुन्न उनले हजुरआमाबाट सिकेकी हुन् । ‘मैले सानैदेखि बुन्दै आएकी हुँ, सानोमा बजैले बुनेको देखें, त्यसपछि मैले पनि बुन्न थालें । तीन वर्षअघिसम्म त बुन्दै आएकी थिएँ, अहिले हातगोडा दुख्न थाल्यो र बुन्न छोडेकी हुँ,’ उनले भनिन्, ‘अहिलेका पुस्ताले यस्ता काम गर्नै जान्दैनन्, चासो पनि दिंदैनन् । हाम्रो शेषपछि यी सबै कुरा हराएर जान्छन्न् होला ।’
अहिलेका पुस्ताले परम्परागत सीप नसिकेकोप्रति उनी चिन्तित छिन् । ‘अहिलेका केटाकेटीहरु पुरानो जमानाका कुरालाई खुइले कुरा भन्छन्, चासै दिंदैनन् । हामी बाँचुन्जेल ओढ्ने, ओछ्याउने हो मरेपछि यी पुराना थाङ्नालाई हामीसँगै पोलिदिन्छन्,’ उनी भन्छिन् ।
ऊनबाट बुनेको कपडाको मूल्य पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म पर्ने गरेको स्थानीय बूढापाकाहरुको भनाइ छ । न्यानो र पानीसमेत छेक्ने हुँदा यसको माग बढ्ने गरेको धवलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।
उनले पछिल्लो समय ऊनका कपडाको उत्पादन कम हुँदै गएको बताए । नयाँ-नयाँ प्रविधिका कारण र बजारमा आउने विदेशी कपडाले ऊनका कपडा ओझेलमा परेको उनको भनाइ छ । ‘पहिले पहिले दुःख पाउने (गरिब) मान्छेले मात्र लगाउने र ओढ्ने ऊनका कपडा अहिले धनीमानी र सौखिन मान्छेले मात्रै खोज्ने र लगाउने गरेको पाइन्छ,’ मालिका गाउँपालिका-७ बिमका कर्मबहादुर जुग्जालीले भने, ‘यस्ता कपडा वातावरणीय दृष्टिकोणले पनि अत्यन्तै फाइदाजनक हुने हुनाले बुझेका र किन्न सक्ने मानिसहरुले खोजी गर्ने गर्छन् ।’ onlinekhabar