धरापमा विश्व व्यवस्था

0

कसैलाई थाहा छैन युक्रेनमाथि रुसको सैन्य हस्तक्षेपले सुरु भएको युद्ध कहिले र कुन रूपमा समाप्त हुन्छ । युद्धकै बीच तीन पटक दुवै देशबीच निकासका लागि वार्ता भइसकेको छ तर कुनै पनि पक्षले आफ्नो अडानबाट पछाडि हट्ने सङ्केत देखाएको छैन, सहमतिका लागि इजरायल, टर्की, भारत, चीनलगायतका देशबाट पहल भएको छ तर इतिहास, अर्काको क्षेत्र हडप्ने कुत्सित मनसाय र सुरक्षाका लागि अर्काको सहारा खोज्ने सेरोफेरोमा सुरु भएको युद्धले जति ढिलो हुँदै गयो परिदृश्य अर्कै भएर विश्व व्यवस्था खल्बलिने र चौतर्फी सुरक्षा जोखिम बढाउने स्पष्ट छ ।

केही हप्तादेखि नै युक्रेन रुस सीमा क्षेत्रमा जुन प्रकारको गतिविधि भइरहेको थियो त्यसका आधारमा अनुमान गरिँदै थियो उसले चाँडै नै युक्रेनमाथि आक्रमण गर्ने छ । सन् २०२२ फेबु्रअरी २४ को बिहान जब रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा पूर्ण सैन्य शक्तिसाथ हमला सुरु गरेको घोषणा गरे पश्चिमा देशहरूको अनुमान सत्यमा परिणत भयो । त्यसअघि पुटिनले सीमा नजिक र बेलारुसमा आफ्नो ठूलो स्तरको सैन्य बन्दोबस्तीलाई अभ्यासको जामा पहि¥याएर संसारलाई झुक्याउने कोसिस नगरेका होइनन् तर पत्याएको कसैले पनि थिएन ।

युक्रेनमा आक्रमण सुरु गरिएपछि अमेरिका विश्वका कैयौँ देशबाट पुटिनको कदमको आलोचना र भत्सर्ना सुरु भएको छ र यो क्रम जारी छ, रुसलाई बिझाउने र तर्साउने खालका अभिव्यक्ति पनि आइरहेका छन् तर हालसम्म रुसप्रति कडा खालका आर्थिक, व्यापारिक, हवाई, प्राविधिक प्रतिबन्ध लगाउने काम मात्र भएको छ, युक्रेनले आशा गरेको जसरी लडाइँमा सहयोग गर्न सैनिक पठाउन कसैले हिम्मत गरेका छैनन् ।

वर्तमान सङ्कटमा सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने यदि युक्रेनले भन्ने जस्तो सहयोग पाउँदैन र रुसले आफ्नो अभियानमा सफलता पाउँछ भने भोलिको विश्व व्यवस्था कस्तो हुने छ । किनभने यो चानचुने युद्ध प्रतित भइरहेको छैन, द्वितीय विश्वयुद्धपछि युरोपमा यत्तिको विध्न लडाइँ भएको थिएन ।
सन् २०१५ मा सिरियामा चलिरहेको युद्धमा रुसको प्रवेशलाई विश्लेषण गर्दा अहिलेको सङ्कटको भावी दिशालाई केलाउन सहयोग पुग्न सक्छ । रुसले सिरिया युद्धमा आफ्नो सैन्य भूमिका देखाउने जमर्को गर्दा उसको त्यस निर्णयलाई अमेरिकालगायत उसका मित्रराष्ट्रले अचम्म मानेका थिए किनभने रुसले चाल्ने यस कदमको अलिकति पनि अनुमान थिएन । अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाले त रुसको कदमलाई दलदलमा भासिने पहल भनेर कटाक्षसमेत गरे । अमेरिकाले भियतनाम युद्धमा र तत्कालीन सोभियत सङ्घले अफगानिस्तानमा यस्तै नियति बेहोरेको र अब रुस सिरियाको लडाइँमा फस्ने अनुमान गरियो, इतिहासमा सबैभन्दा ठूलो भूल हुने दाबी गरियो तर इतिहास त्यसरी लेखिएन । सिरियामा रुसले आफ्नो रणकौशलबाट युद्धको दिशा परिवर्तन गरिदियो र सिरियाका राष्ट्रपति बसर अल असाद पश्चिमा देशको घेराबन्दीमा परेको भए पनि उनको पद जोगियो ।

सिरियामा रुसले क्षतिलाई आफ्नो नियन्त्रणमा समेत राख्यो तथा घरेलु विद्रोही, पश्चिमा देश र रुसको सैन्य अभियान सञ्चालित त्रिध्रुवीय लडाइँमा रुस कूटनीतिक र रणनीतिक लाभ लिनसमेत चुकेन । उत्तरी सिरियाको टार्टसमा रुसले आफ्नो सैन्य आधार शिविरसमेत खडा ग¥यो । उसले लिबियामा समेत यस्तै सफलता हासिल गरेकाले आज मध्यपूर्वको राजनीतिमा रुस एक महìवपूर्ण खेलाडी बनेको छ । मध्यपूर्वमा अमेरिकाको एकछत्र प्रभुत्व कम गरी विश्वास र शक्ति आर्जन गरेको रुसले त्यस क्षेत्रमा आफ्नो प्रभुत्व विस्तार गर्दै लैजान राष्ट्रपति असादका रूपमा एक सूत्रधारसमेत पाएको छ ।
यस कारण हामी भन्न सक्छौँ सिरिया युद्धमा रुसको सहभागितालाई राष्ट्रपति ओबामाले कम आकलन गरेका थिए, जसको नतिजा छर्लङ्गै छ । सिरियाको प्रसङ्ग यहाँ किन उठाइयो भने त्यसले युक्रेनमा रुसको हमलालाई व्याख्या गर्न सहज हुने छ । युक्रेनमा अब रुस दलदलमा फस्ने छ वा उसले विश्व व्यवस्था नै परिवर्तन गर्ने गरी आफ्नो प्रभुत्व विस्तार गर्ने छ ? प्रश्न यही छ ।

रुसले जसरी युक्रेनमा आममानिस, स्कुल र अस्पताललाई पनि निशाना बनाउन लागेको छ त्यसलाई हेर्दा यो युद्ध उसले सोचेको भन्दा फरक दिशामा गइरहेको प्रतित हुन्छ । दुई÷चार दिनमै जित हासिल हुने रुसको अनुमान थियो वा थिएन त्यो पछि खुलस्त होला तर लडाइँ उसका लागि सहज भइरहेको छैन । अमेरिकाले सार्वजनिक गरेको जानकारीअनुसार रुसले आफ्नो सैन्य शक्तिको ९० प्रतिशत जोर युक्रेनमा लगाएको छ तर युद्ध लम्बिँदै गएको छ र उसको क्षतिको आयतनमा पनि ठूलो देखिएको छ ।

वर्तमान परिदृश्यमा रुसलाई जित सहजै मिल्ने छैन, एक सम्भावना यही छ । यस कारण यो कदम रुसको ठूलो भूल हुने छ, उसलाई आर्थिक र जनशक्तिका हिसाबले ठूलो क्षतिसमेत हुने देखिन्छ । युद्ध लम्बिँदै जाँदा पुटिनप्रति रुसका जनताको विश्वास र लोकप्रियता कम हुने तथा त्यहाँका सम्भ्रान्त वर्गको समर्थन घट्ने छ । किनभने पश्चिमा देशले लगाएको प्रतिबन्धको असर रुसमा पर्न थालिसकेको छ र त्यसले अहिले नै सभ्रान्त वर्गलाई ठूलो नोक्सानी भएको छ ।
युद्धले निम्त्याउने दैनिक समस्या चाङ्का चाङ अगाडि आउने छन्, दैनिक उपभोग्य वस्तुको आपूर्ति रुसमा कमजोर बन्न थालिसक्यो र यो क्रम जारी रहेमा पुटिन असन्तुष्टिबीच आफ्नै घरमा घेराबन्दीमा पर्ने छन्, रुसमा जनविरोध सुरु भइसकेको पनि छ ।
यसबाहेक नेटोले युद्धमा अप्रत्यक्ष वा छदम युद्धबाट सहभागिता जनाएमा त्यो कदम रुसलाई वर्षसम्म टाउको दुःखाई हुनेछ किनभने यसले युक्रेनको प्रतिरोध शक्ति बढ्ने छ, जसबाट पार पाउन रुसले ठूलो धनराशि र जनशक्ति प्रयोग गर्न‘पर्नेछ । अफगानिस्तानमा सोभियत सङ्घले वर्षौंसम्म अल्झिएर बस्नु परेझैँ रुसले युक्रेनमा निकासको बाटो खोजिरहने छ ।

यसविपरीत अर्को परिदृश्यलाई हेरौँ । यदि युक्रेनमा रुसले जित हासिल गरेमा के हुने छ ? पश्चिमा एकथरि विश्लेषकको मान्यता के छ भने पुटिनलाई युद्धबाट विभिन्न फाइदा हुन सक्छ, जस्तो सिरियामा भएको थियो ।
रुसले जित हासिल गरेमा विश्व व्यवस्थाले नयाँ कोल्टे फेर्ने छ, यस्तो अनुमान छ । रुसले जित हासिल गरेमा अमेरिका र युरोपेली सङ्घले युरोपको सुरक्षा सुनिश्चितताका लागि पुनर्विचार गर्नुपर्ने बाध्यकारी स्थिति आउने छ । अमेरिका र उसका पक्षधर सहयोगी राष्ट्रलाई यो एउटा ठूलो चुनौती हुने छ ।
युक्रेनमा रुसले आफ्नो सैन्य आधार शिविर स्थापना नगर्ला तर आफ्नो कठपुतली सरकार गठन गर्न सक्छ, जुन कुरा वर्तमान राष्ट्रपति भेलोदोमिर जेलेन्स्कीलाई अपदस्थ गराएर बेलारुसमा पलायन जीवन बिताइरहेका पुटिनका समर्थक भिक्टर यानुकोभिचलाई सरकारको नेतृत्व दिने रुसको प्रस्तावबाट स्पष्टै छ ।

अर्को अवस्था पनि आउन सक्छ ः युक्रेनको पुनः विभाजन । पूर्वी युक्रेनबाट सन् २०१४ मा क्रिमिया अलग भएको थियो, जुन क्षेत्र हाल रुसको अभिन्न अङ्ग छ । अब डोनबास्क क्षेत्रको विभाजन होस् । यस्तो पनि हुन सक्छ युक्रेनमा सैनिक शक्ति क्षीण भएर युक्रेन एक असफल राष्ट्रमा परिणत भएर त्यहाँ गृहयुद्ध सुरु होस, अफगानिस्तानमा यस्तै भएको छ । जुनसुकै अवस्था सिर्जना होस् त्यसले युक्रेनको भाग्य अब परिवर्तन हुनेछ ।

यसको ठूलो असर युरोपमा अमेरिकाको नेतृत्वमा रहेको नेटो र युरोपेली सङ्घसँगको सम्बन्धबाट प्राप्त अमेरिकाको प्रभुत्वमा पर्ने छ । युरोपेली देशका अगाडि यी संस्थाको औचित्य र विश्वसनीयता कमजोर पर्नेछ किनभने नेटो र युरोपेली सङ्घ दुवै यो युद्ध टार्नमा असफल भएका हुन् ।
विशेषगरी रुसी सीमासँग जोडिएको पूर्वी युरोपेली क्षेत्रमा यसको असर बढी पर्नेछ । युरोपमा सामूहिक सुरक्षाको प्रश्न उठाएर कतिपय सदस्य राष्ट्र नेटो र युरोपेली सङ्घबाट अलग हुन पनि सक्छन् । यसो हुँदा युरोपमा सुरक्षा सरोकारले गर्दा विभाजन सुरु हुने छ ः अमेरिका नजिकका पश्चिमी युरोपेली देश एकातिर र रुसको प्रभावमा परेका पूर्वी युरोपका देश अर्कोतिर । पूर्वी युरोपका साना देश युरोपेली सङ्घ र नेटो त्यागेर सुरक्षाका लागि रुसको छातामुनि गएमा एक किसिमले विगतको सोभियत सङ्घको स्वरूप देखिने छ । के पुटिनले यही चाहन्छन् ?
युक्रेनमा रुसको विजय र नेटो कमजोर परे पनि सोभियत सङ्घ युगमा जसरी रुसको प्रभुत्व विस्तार नहुन सक्छ, केही विद्वान् यसमा सहमत छन् किनभने रुसी प्रभावको युक्रेनले पूर्वी युरोपमा रुस विरोधी मानसिकता सिर्जना गर्ने छ र असुरक्षाको भावनाको जन्म हुने छ । टर्की जस्तो देश, जो अमेरिकी नीतिको विरोधी भएर पनि नेटोमा छ र युक्रेनप्रति सदभाव राख्ने मित्र पनि हो । टर्की समेत रुसप्रति अभैm बढी सशङ्कित हुनेछ र आफ्नो सुरक्षाका लागि सतर्क रहनेछ । टर्कीले युक्रेनलाई आफ्नो असल मित्र ठान्दछ र युक्रेनमा रुसको उपस्थिति टर्कीले पचाउने छैन । साथै ब्ल्याक सी र पूर्वी मेडिटेरियन क्षेत्रमा रुसको उपस्थितिलाई टर्कीले एक चुनौतीका रूपमा लिनेछ ।

तर यी सबै सम्भावनाबीच विपरीत घटनाको प्रक्षेपण गर्ने विद्वान्हरू पनि छन् । यदि रुसले सोचेको जस्तो भएन र नेटो पनि कमजोर परेन भने पूर्वी युरोपमा नेटोको उपस्थिति बढ्नेछ, त्यसले स्थायी रूप पनि लिन सक्छ । यसका अतिरिक्त यो युद्धले अमेरिका र नेटोका लागि दुई सम्भावित प्रतिक्रिया सिर्जना गर्नेछ । या त अमेरिका र नेटोले आफूलाई युरोपमा सीमित गर्नेछन् या प्रतिक्रियास्वरूप आफूलाई अझै बलियो बनाउने र प्रभाव विस्तारमा लाग्ने छन् ।

युरोपमा आफ्नो उपस्थितिलाई विस्थापित गर्ने आँट अमेरिकाले गर्न सक्दैन किनभने उसले हाल चीनलाई आफ्नो ठूलो प्रतिद्वन्द्वी रूपमा हेरेको छ तथा चीन केन्द्रित आफ्ना नीतिलाई प्राथमिकता दिने गरेको छ र यस प्रतिस्पर्धामा अमेरिकाले युरोपको साथ खोजेको छ ।
अमेरिकालाई युरोपको महìव यत्तिमै सीमित छैन चाहे आर्थिक तात्पर्यमा होस् वा भूराजनीतिक प्रभावका लागि नै किन नहोस् यी दुवै एकअर्काका ठूला लगानी साझेदार, बजार र राजनीतिक विचारधाराका साझेदार हुन् । हामीले देखेकै छौँ युरोपको शान्ति अमेरिकाको अमनचयनसँग जोडिएको तथ्य कसैबाट लुकेको छैन ।
यदि युरोपको सुरक्षा अस्तव्यस्त भयो र अशान्ति फैलियो भने दशकौँदेखि स्थापित भूराजनीतिक सन्तुलन, प्रभाव र सहकार्य प्रणाली धराशायी हुनेछ र अमेरिका विश्वमा एक्लो पर्नेछ । यस कारण अमेरिकाले आफूलाई युरोप केन्द्रित नै राख्ने छ र नेटोलाई थप बलियो बनाउनमा लाग्ने छ । यसर्थ युक्रेनमा रुसको विजयले नेटोको पुनरुत्थान गर्नेछ, हामी भन्न सक्छौँ ।

पुनरुत्थान एक रक्षात्मक सैन्य गठबन्धन जस्तो हुनेछ । यसका अतिरिक्त नेटोमा सहभागी हुने देशहरूको सङ्ख्या त बढ्ने छ नै हरेक देशले आफ्नो सैन्य शक्तिमा खर्च पनि बढाउने छन् ।
द्वितीय विश्वयुद्धपछि सैन्य शक्ति आर्जनमा खासै खर्च नगरेको जर्मनीले युक्रेनमा युद्ध सुरु भएपछि पहिलो पटक आफ्नो सैन्य शक्ति बढाउन ११३ अर्ब डलर छुट्याएको छ । ब्रिटेन र फ्रान्स जस्ता सैन्य शक्ति धेरै भएका देशले जर्मनी, इस्टोनया, लात्भियाजस्ता देशमा उत्पन्न हुने सुरक्षा भयको फाइदा उठाएर सहयोगका नाममा आफ्नो प्रभाव बढाउने देखिन्छ । अमेरिकाले समेत सुरक्षा सहयोग भन्दै नेटोमार्फत प्रभाव वृद्धि गर्नेछ । यसरी हेर्दा पूूर्वी युरोपमा नेटोका सैनिकको सङ्ख्या वृद्धि हुने सम्भावना देखिन्छ ।

युक्रेनमा रुस जाइलागेपछि पश्चिमा देश र संस्थाले अनेक खालका कडा प्रतिबन्ध रुसमाथि लगाएका छन् र प्रतिबन्ध थपिँदै गएको पनि छ । रुसले यसको प्रतिरोध कसरी गर्ने छ ?, प्रश्न स्वाभाविक नै छ । उसले पक्कै पनि आफ्नो साइबर सेनाको प्रयोग तथा चीन, इरान जस्ता देशसँग निकट सम्बन्ध विकासमा लाग्ने छ । आफूमाथि ऊर्जाका लागि युरोपको निर्भरतालाई समेत रुसले सौदाबाजीको हतकण्डा बनाउन सक्छ । यसअतिरिक्त रुसले युरोपका जनतालाई हरेक किसिमले आफ्नो प्रभावमा ल्याउने कोसिस गर्ने छ । पैसाले हुन्छ कि प्रविधिले उसले कोसिस त गर्ने नै छ ।
रुसले पनि आफूसँग भएका स्रोतले मोलतोल गर्ने प्रयास थालिसकेको पनि छ । युरोपमा ग्यास आपूर्तिदेखि केही विशेष खनिज पदार्थको आपूर्तिमा उसले युरोपलाई घुँडा टेकाउने प्रयास गर्नेछ । उसले युरोपेली देशबीचको एकतालाई पनि बिथोल्ने प्रयास गर्नसक्छ । यसका लागि उसले युरोपमा केही देशमाथि आफ्नो प्रतिबन्ध हटाउने र सहुलियत दिने जस्ता काम गरेर हुन्छ वा अन्य किसिमले विभाजनको उपाय खोज्ने छ ।
एलिट ट्राप कार्य पनि रुसबाट हुन सक्छ । यो यस्तो विधि हो जसअन्तर्गत आफ्नो पक्षधर नेता वा सभ्रान्त व्यक्तिलाई पैसाले किन्ने हो कि चुनावमा सहयोग गरेर हुन्छ प्रभावित गरिन्छ, यसको सम्भावना पनि प्रबल छ । 

स्रोतः सीएनएन, वासिङ्टन पोष्ट लगायत विभिन्न सञ्चारमाध्यम ।

इतिहासले के भन्छ

रुस र युक्रेनबीच इस्वी संवत्को नवौँ शताब्दीदेखि ऐतिहासिक सम्बन्ध रहेको देखिन्छ, जसमा टेकेर पुटिनले बारम्बार र रणनीतिक रूपमा कुरा उठाउने गरेका छन् । रुस र युक्रेनबीच मध्ययुगदेखि नजिकको सामाजिक र सांस्कृतिक नाता जोडिएको छ । आक्रमणको आदेश दिनु केही दिन पहिले आफ्नो मन्तव्यमा पुटिनले युक्रेनलाई रुसकै भागका रूपमा बुझेको बताएका थिए, जुन अवस्था १८औँ शताब्दीमा क्याथरिन दी ग्रेटको रुसी साम्राज्यका दिनमा थियो ।
सन् २०१४ मा युक्रेनमा भएको जनप्रदर्शनले रुस समर्थित राष्ट्रपति यानुकोभिचलाई अपदस्थ गर्दा रुसले हस्तक्षेप गरी क्रिमियालाई आफूमा विलय गरेको थियो । यस पटक पुटिनले युक्रेनको कुनै इतिहास नभएको कुरा दोहो¥याएर आफ्नो मनसाय प्रकट गरिसकेका छन् ।
मास्कोको इशारामा युरोपेली सङ्घसँगको एक व्यापार सम्झौताबाट पछाडि हट्ने निर्णय गरेर यानुकोभिच विवादमा फसेका थिए  । पुटिनले उनको बहिर्गमनमा अमेरिका र युरोपेली सङ्घले फासिस्ट भूमिका निर्वाह गरेको दोषारोपणसमेत गरेका थिए ।
दुवै देशबीचको मनमुटावको आधार यतिमै सीमित छैन । सन् १९३० को दशकमा अकाल पर्दा लाखौँ युक्रेनीले भोकमरीमा परेर ज्यान गुमाए र त्यसको सम्पूर्ण दोष सोभियत सङ्घका नेता जोसेफ स्टालिनलाई दिइयो, त्यतिबेला युक्रेन सोभियत सङ्घअन्तर्गत थियो । यसले के देखायो भने भाषिक र जातीय भिन्नता त्यहाँ सधैँ रहिआएको छ ।
रुस र युक्रेनबीच सन् २०१५ मा मिन्स्क शान्ति सम्झौता भयो, किभ र मास्कोबीच निरन्तरको द्वन्द्व समाप्त गर्न यसको सूत्राधार थिए फ्रान्स र जर्मनी । यस सम्झौताअन्तर्गत युक्रेनले रुससँगको आफ्नो सीमामा नियन्त्रण राख्न आफ्ना दुई क्षेत्रलाई विशेष दर्जा र धेरै स्वायत्तता दिनुपर्ने थियो तर वार्ता अवरुद्ध भयो ।
युक्रेनले सम्झौता लागू गर्ने मनसाय नराखेको आरोप पुटिनले लगाए । युक्रेनले चाहिँ सम्झौतामा संशोधन गरिनुपर्ने कुरा उठायो किनभने सम्झौताका सर्तहरू युक्रेनमा रुसको प्रभाव बढाउने खालका थिए, तिनले युक्रेनको परराष्ट्र नीति प्रभावित हुने र युक्रेनको सम्प्रभुताको बेवास्ता हुने दाबी गरियो ।
यसबीचमा रुसले पृथकतावादी क्षेत्रका आठ लाख रुसीलाई आफ्नो राहदानी वितरण गरेर विवाद चर्काउने काम ग¥यो । त्यसपछि युक्रेन र पश्चिमा देशले पृथकतावादीलाई रुसले हतियार र अन्य सहयोग गरिरहेको खुलेरै आरोप लगाए, रुसले यो कहिल्यै स्वीकार गरेन ।
पुटिन कहिल्यै पनि युक्रेनप्रति सकारात्मक देखिएनन् । उनले रुसी र युक्रेनी नागरिक एकै भएको विषय उल्लेख गरेर गत जुलाई १ मा लेख नै लेखेका थिए ।
मास्कोले नाटो र रुसका बीच युक्रेनलाई एक बफर जोनका रूपमा समेत हेर्दछ, अर्थात् नाटोलाई रुसको सीमासम्म विस्तार हुनबाट रोक्ने क्षेत्र ।

युक्रेन र नाटो

युद्धको आधार रुसले धेरै पहिलेदेखि नै देखेको भए पनि हालको हमलाको पछाडि उसले युक्रेनको नाटोमा प्रवेश गर्ने प्रयासलाई मुख्य कारणका रूपमा उल्लेख गरेको छ तर युद्ध लम्बिँदै जाँदा अन्य कारणको पटाक्षेपसमेत हुँदै गएको छ ।
प्रश्न उठ्न सक्छ, नाटोमा युक्रेनले प्रवेश गर्दा रुसको टाउको दुःखाई किन ? यसको उत्तर नाटोको संहिताको दफा ५ मा छ । द्वितीय विश्वयुद्ध समाप्त भएलगत्तै सोभियत सङ्घसँग सुरु भएको शीतयुद्ध ताका सन् १९४९ मा युरोपेली देशसँग मिलेर अमेरिकाले गठन गरेको सैन्य सङ्गठन नाटो, जसलाई वासिङ्टन सन्धि पनि भनिन्छ, को मुख्य सिद्धान्त भनेको आफ्ना सदस्य राष्ट्रको सामूहिक सुरक्षा हो । यसको अर्थ नाटोको कुनै पनि सदस्य राष्ट्रमा कसैले हमला ग¥यो भने त्यसलाई नाटोको सम्पूर्ण सदस्यमाथि आक्रमण भएको ठानिन्छ । दफा ५ मा यही कुरा उल्लेख छ ।
यदि युक्रेन नाटोको सदस्य भएको भए रुसको आक्रमणलाई अमेरिका लगायतका नाटो देशहरूमाथि आक्रमण भएको मानिने थियो । यस कारण रुसलाई नाटोमा युक्रेनको प्रवेश मान्य छैन ।

डोनबास क्षेत्र
युक्रेनको पूर्वी क्षेत्रमा डोनबास रुसको सीमासँग जोडिएको छ । यो औद्योगिक क्षेत्रका रूपमा परिचित छ । रुसले क्रिमियालाई आफूमा समाहित गर्दा डोनबास क्षेत्र दुई फरक भागमा विभाजित हुन पुग्यो । राजधानी किभको नियन्त्रण रहेको डोनेस्क र लुहान्स्क प्रशासकीय इलाका तथा रुस समर्थित पृथकतावादीको डोनेस्क र लुहान्स्क जनगणतन्त्र ।

पृथकतावादीहरू सबै डोनेस्क र लुहास्क इलाकालाई आफ्नो दाबी गर्छन् तर उनीहरूको नियन्त्रणमा एक तिहाइ भूभाग, करिब ६५ हजार वर्गमाइल छ । त्यो नियन्त्रित भाग रुसको सीमासँग जोडिएको छ । युद्ध सुरु गर्नु ठीक पहिले रुसले पृथकतावादी नियन्त्रित मात्र होइन सम्पूर्ण डोनेस्क र लुहान्स्क क्षेत्र अर्थात् डोनबासलाई छुट्टै देश घोषणा ग¥यो, यद्यपि उसको निर्णयलाई कसैले मान्यता दिएको छैन ।
सन् २०१४ मा पृथकतावादीहरूसँग लडाइँ सुरु भएदेखि डोनेस्क र लुहान्स्कमा किभको खासै नियन्त्रण थिएन । तैपनि सरकार र पृथकतावादीबीचको लडाइँमा अहिलेको युद्ध सुरु हुनु पहिलेसम्म करिब १४ हजार मानिसको ज्यान गइसकेको थियो । त्यहाँ करिब ८० प्रतिशत मानिस रुसी भाषी छन् ।gorkhapatra

You might also like