आठ महिनापछि गुल्मी प्रहरीद्वारा छिनुवा घटनाका तीन आरोपी गरे यसरी गिरफ्तार
गुल्मी प्रहरीले आइतबार इस्मा गाउँपालिका– २ का २० वर्षीय मोतीबहादुर कुँवरको हत्यामा संलग्न भएको आरोपमा आठ महिनापछि तीन युवालाई सार्वजनिक गरेको छ ।
इस्मा गाउँपालिका– १ छिनुवामा होटेल व्यावसाय सञ्चालन गरेका कुँवरको हत्यामा संलग्न इस्मा गाउँपालिका– १ का १८ वर्षीय रमेश कुमाल, १८ वर्षकै गोले भन्ने सन्तोष कुमाल र २० वर्षीय सुशील कुमाललाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।
उनीहरूले कुँवरलाई गत भदौ २१ गते आफ्नै होटेलमा कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते मोतीबहादुरको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भट्टराईले केन्द्रबाट आफूले जिम्मेवारी पाएर आएका सबै घटना सार्वजनिक गर्न पाएकोमा गुल्मी प्रहरी र सहयोगी सबैको प्रशंसा गरे । भदौ ३ गते तिजको मेला हेर्न जाने क्रममा हत्या आरोपित तीनजना युवा युवतीसँग बसेको अवस्था मोतीबहादुरले मुखमा लाइट देखाएपछि झगडा सुरु भएको थियो ।
युवाहरूले तिजको इगो साँधेर दुई हप्तापछि घटना घटाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए । गुल्मी प्रहरीले छिनुवासहित पछिल्लो समय आन्दोलनसमेत भएको भाड्गाउँ हत्या, पराल्मी हत्या, रुरु हत्या र ठूला चोरीका घटनामा संलग्नलाई सार्वजनिक गरेको छ।नागरिकले आस मारेका मुख्य घटना प्रहरीले एकपछि अर्को गरेर सार्वजनिक गर्न थालेपछि लोकप्रियता कमाएको छ । इस्मा गाउँपालिका उपप्रमुख विमला खत्रीले इस्माका दुई हत्यामै प्रहरीले देखाएको सक्रियताले नागरिक र प्रहरीबीचको आत्मीयता र विश्वास बढेको बताइन् ।
प्रहरीले सार्वजनिक गरेका तीनैजनालाई जिल्ला अदालत गुल्मीबाट म्याद थपेर घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Janata khaber