कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

0

 

काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दैछ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको तयारी र संसदीय समिति गठनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्नेछ । बैठकले केन्द्रीय संसदीय समिति गठन गर्नेछ ।

विधानअनुसार संसदीय समितिमा सभापति र महामन्त्री संसदीय समितिमा समेत सभापति र महामन्त्री नै हुन्छन् । बाँकी पदाधिकारीहरू संसदीय समितिको पदेन सदस्य हुनेछन् । त्यसबाहेक सभापति देउवाले बढीमा ११ जना सदस्यहरू मनोनीत गर्न पाउनेछन् । सभापति देउवाले केन्द्रीय सदस्यहरूमध्येबाट नाम प्रस्ताव गरेपछि केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । स्थानीय तह चुनावमा महानगरपालिकाको टिकट वितरण केन्द्रीय संसदीय समितिले गर्नेछ ।

त्यस्तै, स्थानीय तहको चुनावको तयारीका सन्दर्भमा भएको अभियानका क्रममा जिल्ला जिल्ला खटिएका केन्द्रीय नेताहरूले केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्नेछन् । अभियानको प्रारम्भिक समीक्षाले देशभर पार्टीको संगठनको अवस्था कस्तो छ ? र कार्यकर्ताको चाहना कस्तो छ भन्नेबारे प्रस्ट हुने सहमहामन्त्री जीवन परियारले बताए । ‘अभियानको क्रममा केन्द्रीय प्रतिनिधिहरू देशभर सबै पालिकामा पुगेर फर्किनुभएको छ, उहाँहरू त्यहाँको अवस्थाबारे रिपोर्टिङ गर्ने र स्थानीय चुनावको तयारीमा त्यहीअनुसार रणनीति बनाएर अघि बढ्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यो स्थानीय चुनाव हो, त्यसैले तल्ला तह नै निर्णायक हुन्छन् । टिकटसमेत तलबाटै वितरण हुने हो ।’

नेताहरूका अनुसार केन्द्रीय समिति बैठकमा सभापति देउवाले चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयसमेत प्रस्तावस्वरुप छलफलका लागि प्रस्तुत गर्नेछन् । सभापति देउवाले यसअघि नै अन्य दलहरूलाई गठबन्धन गर्ने वचन दिइसकेका छन् । तर, पार्टीभित्र गठबन्धन गर्नु हुँदैन भन्ने मत समेत बलियो छ । नेता शेखर कोइराला पक्षले भने गठबन्धनबारे दुई मत रहेको भन्दै केन्द्रीय समितिले त्यसबारे निर्णय गर्न नमिल्ने बताएको छ ।

‘टिकट वितरण तलबाटै हुने हो, त्यसैले गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय पनि तलबाटै गर्नुपर्छ, जहाँ गठबन्धनको आवश्यकता छ, त्यहाँ गठबन्धन गर्ने हो, जहाँ आवश्यकता नै छैन, त्यहाँ किन गर्ने ?,’ एक नेताले भने, ‘त्यसैले केन्द्रीय समितिले गठबन्धनबारे निर्णय गर्न मिल्दैन, त्यो अधिकार केन्द्रलाई छैन ।’ सभापति देउवाले भने शुक्रबारको बैठकबाट गठबन्धनबारे सैद्धान्तिक निर्णय गराउने तयारी गरेका छन् ।kantipurnews

You might also like