जाग्यो आत्मसम्मान तर सुध्रिएन आर्थिकस्तर

0

सिरहा — छाता ओढेर पुराना जुत्ताचप्पल सिलाइरहेका भेटिन्छन् लहान–१ का ४७ वर्षीय शिवनारायण महरा चमार । पूर्व–पश्चिम राजमार्गको लहानस्थित मुख्य चोकमा सधैं बसेका हुन्छन् । २५ वर्षको उमेरदेखि जुत्ताचप्पल सिलाउने काम गर्दै आएका उनको दैनिकी अहिले पनि उस्तै छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानस्थित मुख्य चोकमा जुत्ता सिलाउँदै गुदर महरा । तस्बिर : भरत/कान्तिपुर

२२ वर्षअघि उनले सुनेका थिए दलितहरूको जीवनस्तर उकासिने छ । पेसा व्यवसाय सम्मानको हुनेछ । उनलाई लाग्छ, पेसा जे भए पनि उनी अब पहिलेभन्दा आत्मसम्मानका कुरा निर्धक्क बोल्न सक्छन् ।

राजमार्गमै जोडिएको लहान–१ स्थित चमार बस्ती २०५६ चैत ९ मा घेराबन्दीमा परेका थियो । दुई सय घर दलित समुदायको बसोबास रहेको बस्ती नाकाबन्दीमा पर्‍यो । सोही वडाको मटियर्वामा अघिल्लो दिन पाडो मरेको थियो । त्यो फाल्न गाउँलेले नजिकका चमारहरूलाई अह्राए । तर चमारहरूले सिनो फाल्दैनौं भनेर इन्कार गरे । कथित उच्च जातका भनिनेहरूले दलित बस्तीलाई घेरामा पारे ।

अह्राएको नमानेको भन्दै कथित उपल्लो ११ जातिले चमारलाई ज्याला मजदुरीमा कसैले नखटाउने, पैंचो सापट वा ऋण नदिने, लहानमा कुल्ली तथा रिक्सा ठेला चलाउने काम गर्न नदिने, बसमा टिकट काट्ने बुकिङको काम, जुत्ता चप्पल सिलाउने काम, हली, गोठाले वा कुनै फर्ममा काम गर्न नदिने, कुनै पनि पसलमा कुनै सामान किन्न नदिने, कसैको जग्गामा टेक्न नदिने प्रतिबन्ध घोषणा गरे । चमार जातिलाई दास बन्न बाध्य पार्ने निर्णय गर्दै नाकाबन्दी लगाइयो ।

नाकाबन्दीबिरुद्ध चमार समुदाय आन्दोलनमा उत्रियो । अन्य दलित समुदायले समेत आन्दोलनमा साथ दिएपछि दुई साता लामो संघर्षपछि नाकाबन्दी स्वतः हटेको थियो । ‘२२ वर्षअघि चमार आन्दोलन हुँदा नाकाबन्दीमा परेको थिएँ, त्यतिखेर पनि यही चोकमा जुता–चप्पल सिलाएर गुजारा चलाउँथे,’ शिवनारायण भन्छन्, ‘अहिले पनि यही कामले गुजारा चलाइरहेको छु ।’ जुत्ता सिलाउने उनको पुर्ख्यौली पेसा हो ।

‘चमार समुदायको त्यो आन्दोलनले गुजारा र पेसामा परिवर्तन त गर्न नसके पनि आत्मसम्मान भने बढाएको महसुस हुन्छ,’ उनी भन्छन् । फाटेका जुता–चप्पल सिलाउने र पालिस लगाएर दैनिक एक हजार रुपैयाँसम्म कमाउने उनले पछिल्लो समय जातीय रूपमा हेपेर नबोल्ने गरेको बताए । शिवनारायण जस्तै लहान–६ का ४९ वर्षीय गुदरराम पनि जुत्ता चलाएर गुजारा चलाउँछन् । ३५ वर्षदेखि जुत्ता सिलाउँदै आएका उनले चमार आन्दोलनले आफूहरूको दिनचर्या फरक नपरेको सुनाउँछन् ।

‘पहिला पनि जुत्ता सिलाएरै गुजारा चलाउनुपरेको थियो, अहिले पनि उस्तै छ,’ उनले भने, ‘आन्दोलनले २–४ टाठाबाठालाई मात्रै फाइदा फाइदा पुगेको बताए । लहान–१ का ५४ वर्षीय सनहु राम चमार आन्दोलनले चमार समुदायको आर्थिक अवस्थामा कुनै सुधार नआएको बताउँछन् । ‘आन्दोलन अघि र पछि केही फरक छैन,’ उनी भन्छन्, ‘तर हाम्रो समुदायमा आन्दोलनले आत्मसम्मान र जागरुक बनायो ।’

लहान–१ मटियर्वाबाट २०५६ चैतमा सुरु भएको सिनो बहिष्कार आन्दोलन झन्डै २२ वर्ष बित्न लागेको छ । जातीय छुवाछूत तथा विभेदविरुद्ध सामाजिक परिवर्तनको त्यतिखेरको आन्दोलनले सिनो बहिष्कार मात्र गरेन दलित एकतालाई जोड दिन सफल भएको थियो । दलित अधिकारकर्मी उमेश बिसुन्के आन्दोलनपछि सिनो चमारले मात्रै फाल्नुपर्ने जातीय बाध्यता हटेको बताउँछन् ।

‘त्यही आन्दोलनले आफ्नो घरगोठको सिनो घरधनीले नै फाल्ने चलन आयो,’ उनले भने, ‘आफूहरूमाथि गरिने छोइछिटोविरुद्ध गाउँ–सहर सबैतिर दलित जाग्न थाले ।’ नागरिक समाजका अगुवा राजकुमार राउत कुर्मी भन्छन्, ‘चमार आन्दोलनकै परिणाम हो, गाउँमा परम्पराको नाउँमा इनार कुवा, धारा छोयो भने आर्थिक जरिवाना तिर्न विवस दलितहरू अहिले त्यसका विरुद्ध निर्धक्क बोल्न थालेका छन् । त्यतिले पनि नटेरे छिमेकी प्रहरीसम्म जाने हिम्मत गर्न थालेका छन् ।’kantipurnews

You might also like