इतिहासमै नेपालले सबैभन्दा धेरै रकम बराबरको निर्यात व्यापार गर्न सफल१४७ अर्बको निर्यात
चालु आर्थिक वर्ष २०७८÷७९ को ८ महिनामै (साउन–फागुन) निर्यात व्यापारमा रेकर्ड कायम भएको छ । भन्सार विभागका अनुसार इतिहासमै नेपालले सबैभन्दा धेरै रकम बराबरको निर्यात व्यापार गर्न सफल भएको हो । चालु आवको फागुन मसान्तसम्म नेपालले १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको रहेको थियो ।
यससँगै निर्यात व्यापारले ८ महिनामै नयाँ रेकर्ड राख्न सफल भएको हो । गत आवमा इतिहासमै पहिलो पटक एक खर्ब माथिको निर्यात पुगेकोमा सो रेकर्ड तोड्दै यस वर्ष निर्यातले उत्साहजनक रेकर्ड राखिरहेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷७८ को फागुन मसान्तसम्म भने ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । यस वर्ष निर्यातमा ४४.४३ प्रतिशतको वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो महिनाबाटै आयात उच्चदरमा उकालो लागेको थियो । यसलाई नियन्त्रण गर्न दोस्रो चौमासिकपछि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले कडाई शुरु गरे ।
यसको नतिजा फागुनको तथ्यांकमा देखिएको छ । भन्सार विभागका अनुसार ८ औं महिनासम्म कुल वस्तु आयात १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको भएको छ । गत आवको यसै अवधिमा ९ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । चालु आवमा गत वर्षको तुलनामा३८.६४ प्रतिशत बढी आयात भएको हो । तर, माघ महिनासम्म ४२.७८ प्रतिशतले बढेको आयातको दर फागुनमा आइपुग्दा भने ३८.६४ प्रतिशतमा झरेको छ । parasifm