क्रिकेटले दिएको खुसी

0

२९ फागुन, काठमाडौं । रुपन्देहीकी गीता पौडेलले क्रिकेट खेल्न थालेको १५ वर्ष भयो । नेपालले विश्वकै पहिलो नेत्रहीन महिला राष्ट्रिय टोली बनाउँदा उनी सदस्य थिइन् । त्यसयता निरन्तर सक्रिय उनले डेढ दशकको करिअरमा राष्ट्रिय स्तरदेखि दुईवटा अन्तर्राष्ट्रिय सिरिजसमेत खेलिसकेकी छन् ।

सुर्खेतकी दुर्गा आचार्यले पनि विद्यालयस्तरदेखि नै नेत्रहीन क्रिकेट सुरुवात गरेकी हुन् । स्थानीयदेखि प्रदेश छनोट पार गरी काठमाडौं आएर खेल्न थालेको पनि ४-५ वर्ष हुन लाग्यो । टेबलटेनिससमेत खेल्ने दुर्गालाई खेलकुदबाट सन्तुष्टि छ ।

पहिलो पुस्ताकी गीता र दोस्रो पुस्ताकी दुर्गा फरक क्षमता भएका खेलाडीको प्रतिनिधि पात्र हुन्, जसले अवसर पाए गर्नसक्छन् भन्ने प्रमाणित गरेका छन् ।

‘खेलकुदमा लागेपछि फिजिकल फिटनेस त हुने नै भयो । सामाजिक रुपमा सबैसँग घुलमिल हुने अवसर पाएका छौं,’ गीता भन्छिन्, ‘फरक क्षमता भएकालाई हेरिने नजर पनि बदलिएको छ । यिनीहरुले पनि खेल्न सक्ने रहेछन्, केही गर्न सक्ने रहेछन् भनेर सन्देश गएको छ । समाजमा पहिचान मिलेको छ ।’

गीताले नेपालको नेत्रहीन महिला टोलीबाट सन् २०१४ मा बेलायतविरुद्ध र सन् २०१९ मा पाकिस्तानविरुद्ध शृंखला खेलेकी छन् । पाकिस्तानविरुद्ध उसकै भूमिमा पाँच खेलको श्रृंखला जितेर आएपछि गीताले बिहीबार पहिलो पटक खेलेकी हुन् ।

अस्ट्रेलियाली दूताबासको आर्थिक सहयोग र नेत्रहीन क्रिकेट संघ (क्याब) नेपालको आयोजनामा भएको एकदिने प्रतियोगितामा दुई टिमले प्रतिस्पर्धा गरेका थिए । महिला र पुरुष मिसाएर टिम खेलाइएको थियो । लामो समयपछि खेल्दा सन्तुलन मिलाउन कठिन भएपनि खेल भएकोमा क्रिकेटरहरु खुसी देखिए ।

क्याबका अध्यक्ष पवन घिमिरे भन्छन्, ‘खेलाडीले सामान्य रुपमा बाँच्न सिके । हामी पनि गर्न सक्छौं भन्ने आत्मविश्वास बढाए । अन्तर्राष्ट्रिय स्तरमा पुगेर साथीहरु बनाए । खेलाडीको क्षमताको प्रशंसा गरिरहँदा हामीले गरेको काममा गर्व लाग्छ ।’

नेपालले विश्वकपसम्म पुगेपछि फरक क्षमता भएका नयाँ पुस्ताले क्रिकेट खेललाई रोज्न थालेका छन् । लोकपि्रयता बढ्न थालेकोमा संस्थापकहरु खुसी देखिन्छन् ।

सुर्खेतकी दुर्गा आचार्य पनि नेपालको सफलता देखेर भविष्य खोज्न क्रिकेटमा आएकी हुन् । ‘स्कुलबाटै खेल्न सुरु गरे पनि नियमित खेलेको ५ वर्षजति भयो,’ दुर्गाले अनलाइनखबरसँग भनिन्, ‘खेलकुदले अनुशासन र सामूहिक भावना सिकाउने रहेछ । शारीरिक र मानसिक रुपमा पनि स्वस्थ बनाउने रहेछ ।’

क्रिकेटमा लागेपछि पहिचान र सम्मान दुवै पाएकोमा उनी खुसी छन् । ‘म यो खेलमा नलागेको भए कसैले चिन्दैनथे । तपाईंको र मेरो पनि भेट हुँदैनथ्यो । खेलाडी बनेपछि समाज र साथी सर्कलमा पहिचान पाएको छु,’ भन्छिन्, ‘आँखा नदेख्नेले पनि क्रिकेट खेल्ने रहेछन् भनेर थाहा पाउँदा सबैले सकारात्मक रुपमा लिन्छन् ।’

पुरुष टोलीबाट विश्वकप खेलिसकेका नेपालगञ्जका भरत चौलागाईं पनि नेत्रहीन क्रिकेटले जीवनप्रतिको धारणा परिवर्तन भएको बताउँछन् । ‘हामीले शारीरिक रुपमा तन्दुरुस्त हुने मात्र होइन, अनुशासनमा हुन र एकजुट भएर काम गर्न सिकेका छौं । जीवनको दृष्टिकोण नै परिवर्तन भएको छ,’ त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रमा स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत भरतले भने ।onlinekhabar

You might also like