सैनामैनामा मेयर कप फुटबल प्रतियोगिता फागुन २८ गतेदेखि, १२ टिमको सहभागिता

0

 

 

फागुन २५, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा सर्वाधिक राशीको चौँथो ‘मेयर कप’ खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

“राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद” भन्ने नारासहित सैनामैना-१० पानबारीस्थित कन्दरा युवा क्लवको आयोजनामा प्रतियोगिता सुरु हुने भएको हो ।

पानबारीमा रहेको श्री पशुपति माध्यमिक विद्यालयको खेलमैदानमा फागुन २८ गतेदेखि चैत्र १० गते सम्म प्रतियोगिता चल्ने खेल संयोजक यमबहादुर श्रीसले जानकारी दिनुभयो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा कन्दरा युवा क्लवका अध्यक्ष तुल्सीराम पौडेलले प्रतियोगितामा विभिन्न जिल्लाका गरि १२ टोलीको सहभागिता रहने जानकारी दिनुभयो । १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको प्रतियोगितामा २० लाख १३ हजार बढी खर्च हुने क्लवले अनुमान गरेको छ ।

मेयर कप प्रतियोगिताका लागि सैनामैना नगरपालिकाले ७ लाख २५ हजार रुपँैया उपलब्ध गराउने भएको छ, भने बाँकी रकम क्लवले व्यापारिक प्रतिष्ठानबाट व्यवस्थापन गर्ने जनाएको छ ।

प्रतियोगिताको विजेता समूहले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै द्धितीय हुने समूहले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने सेमिफाइनलमा पराजित हुने समूहले समान २१ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ( प्लेयर अफ द टुर्नामेण्ट ) ले माउण्टेन साइकल र १० लाख बराबरको एक वर्षको प्रिमियम रकम प्रदान गरिने भएको छ ।

विधागत रुपमा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने क्लवले जनाएको छ ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि सैनामैना नगर उपप्रमुख बिना रानाले खेलकुद क्षेत्रलाई अगाडी बढाउनका लागि नगरमा खेलकुद विकास समिति गठन गरि खेलहरु सञ्चालन भइरहेको बताउनुभयो ।

स्थानीय स्तरमा आयोजित प्रतियोगिताले व्यवसायिक खेलाडीहरु उत्पादन गर्न सहयोग पु¥याउने उपप्रमुख रानाको भनाई छ ।

यस वर्ष नगरमा विभिन्न प्रतियोगिताहरु सञ्चालन भएको बताउँदै प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको नगर खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष अमर लम्सालले बताउनुभयो ।

प्रतियोगितामा १२ समूहमध्ये कपिलवस्तु ११, कञ्चन ११, विश्व शान्ति युवा क्लव सालझण्डी, गौतम बुद्ध सामुदायिक विकास केन्द्र, फर्साटिकट युवा क्लव, सेन्टर कलेज फोर बर्दस नवलपरासी , सौभाग्य युवा क्लव बुटवल, मुर्गिया फुटबल क्लव सैनामैना, वि.पि स्मृति भैरव फुटबल क्लव नवलपरासी, गोर्खा ब्याइज स्पोटस् क्लव बुटवल, एकता युवा क्लव पिपरिचापा र सितल युथ क्लव सितलापुर रहेका छन् ।

जसअन्तर्गत माघ २८ गते उद्घाटनको खेलमा कपिलवस्तु ११ र कञ्चन ११ का बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यसभन्दा अघिका संस्करण सैनामैना ७ स्थित श्री जनप्रिय स्पोटिङ्ग युवा क्लवको व्यवस्थापनमा सञ्चालन हुँदै आएको थियो । मेयरकप नगरकै प्रतियोगिता भएकोले फरक फरक ठाउँमा गर्नुपर्ने सोचका साथ यस वर्ष भने सालझण्डी क्षेत्रमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

प्रतियोगितालाई सैनामैना नगरपालिका र सैनामैना नगर खेलकुद समितिले संरक्षकत्व प्रदान गर्दै आएको छ ।

सैनामैना १० पानबारीमा भएको पत्रकार सम्मेलन कन्दरा युवा क्लवका अध्यक्ष तुल्सीराम पौडेलको अध्यक्षता, सैनामैना नगरपालिकाका उपमेयर बिना रानाको प्रमुख आतिथ्यता, नगरखेलकुद विकास समितिका अमर लम्साल, कन्दरा सामुदायिक तथा उपभोक्ता समितिका अध्यक्ष लिलामणी न्यौपानेको आतिथ्यतामा भएको भएको हो । malmalafm

You might also like