भारतद्वारा दशगजा नजिक सडक निर्माण, सुस्ता आसपास डुबानको जोखिम

0

 

 

पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रमा नेपाली भूमि डुबान हुने गरी भारतले बनाउदै गरेको सडक । तस्विर : गोपी ज्ञवाली

पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रमा नेपाली भूमि डुबान हुने गरी भारतले सीमाक्षेत्रमा अग्लो सडक निर्माण गरेको बताइएको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले आफ्ना समकक्षी भारतको महाराजगञ्ज जिल्लाका प्रमुख जिल्ला अधिकारी (डिएम) सत्यन्द्र कुमारसमक्ष पानीको प्राकृतिक बहाव रोकिने गरी नेपालको सीमा नजिकै भारतले बनाउन लागेको सडकको संरचनाप्रति आपत्ति जनाउँदै विरोध गर्नुभएको पश्चिम नवपरासीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय मान्यता विपरीत नेपाली भूमि एवं बस्तीहरु डुबान हुने गरी भारतले सिमाना नजिकै बनाइरहेको सडक र यसले पार्ने असरको विषय मुख्य रुपमा दुई देशबीच कूटनीतिक स्तरबाट पहल हुनुपर्ने विषय भएको स्थानीयको भनाइ छ । अन्तर्राष्ट्रिय मान्यताविपरीत भारतले दशगजा नजिकै बनाउँदै गरेको सडकको विषयमा जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई लिखित जानकारी गराएको भए पनि अहिलेसम्म कुनै ठोस प्रभाव परेको छैन ।

वर्षायामको समयमा पहिलादेखि नै डुबानमा पर्दै आएको नवलपरासीका पाल्हीनन्दन, सरावल, प्रतापपुर एवं सुस्ता गाउँपालिकाका सीमावर्ती क्षेत्रमा भारतले दशगजा नजिकै पूर्वपश्चिम सडकका कारण आगामी वर्षायाममा डुबानमा पर्ने भन्दै सीमावर्ती क्षेत्रका बासिन्दाहरु चिन्तित भएको पाल्हीनन्दन गाउँपालिका महेशपुरका स्थानीयवासी ध्रुवनारायण बनियाँले बताउनुभयो ।

नेपालको चुरे पहाडहरुबाट दक्षिण भारततर्फ बग्ने नदीनालाको बहाव रोकिने गरी भारतले दशगजादेखि करिब १० मिटरको दूरीमा पश्चिमदेखि पूर्वतर्फ चार लेनको सडक निर्माण गरिरहेको छ । भारतले यसरी बनाइरहेको सडक पश्चिम भारतको सिद्धार्थनगर (कपिलवस्तुपारि), महाराजगञ्ज हुँदै अहिले नवलपरासीको दक्षिणी सीमा पारिसम्म पुर्याएको छ ।

यो सडक निर्माणले नेपाललाई ठूलो क्षति हुने भन्दै नेकपा एमाले नवलपरासीले गत बिहीवार नवलपरासीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञाप पत्र बुझाएको थियो । एमालेले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएपछि नवपरासीका प्रमुख जिल्ला अधिकारी मिश्रासहित अन्य पार्टीका नेताहरु, सञ्चारकर्मी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, मानवअधिकारकर्मी लगायतले त्यस क्षेत्रमा अवलोकन र सडक निर्माणको विरोध गरे पनि भारतीय पक्षले भने अटेरी गरी बाँध जस्तो सडक निर्माण कार्य जारी राखेको छ ।

नेपालका दर्जनौैँ गाउँहरु डुबानमा पर्ने गरी बनाइएको यो सडकको ऊचाइ एउटा बाँधको जस्तै करिब ६ फिटको छ । उत्तरबाट बग्ने खोलानालाका लगायतको पानी सहज रुपमा बग्ने गरी आवश्यक स्थानहरुमा कल्वर्ट, साइफन नराखी बनाइएको यो सडकका कारण नवलपरासीको पाल्हीनन्दन, सरावल एवं सुस्ता गरी तीन गाउँपालिकाका करिब दुई दर्जन गाउँ बस्ती एवं हजाराैं बिघा खेत डुबानमा पर्ने बताइएको छ ।gorkhapatra

You might also like