मुस्ताङको हिमपहिरोमा १५ चौरी मरे
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर हिजो १५ वटा चौरी मरेका छन् ।
छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेका हुन् ।
शनिबार बिहानको हिमपहिरोमा परेर थप १० वटा चौरी हराएका कृषक गौचनले बताए । “चौरी बास बसेको खर्कमा बिहान ३ बजे हिउँपहिरो खसेको थियो”, उनले भने, “हिउँले पुरिएर चौरी मरेका हुन् ।”
चौरी खर्कमा राखेर गोठाला कोवाङ झरेका थिए । बिहान गोठाला जाँदा चौरी मरेका भेटिएपछि खबर गरेका थिए । प्रहरी, कृषक र पशु सेवा प्राविधिकको टोलीले क्षतिको विवरण सङ्कलनका लागि घटनास्थलतर्फ गएका छन् ।
हिउँदमा जाडो छल्न बेशी झरेका चौरी गोठ गर्मी बढेपछि लेकतर्फ उकालिएको थियो । मानापाथी हिमालको फेदीमा रहेको छिप्लिङ, हेपिम, हुम्लुङ, पड्के, ह्याङ्लिङ, सरेका खर्कमा हिमपहिरो खस्ने गर्छ ।
गत कात्तिक २९ गते पनि मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो । मुस्लोसहित हिउँ पहिरो खसेपछि भाग्ने क्रममा कोवाङका अमरसिंह माविका नौ शिक्षक विद्यार्थी घाइते भएका थिए । नाउरीकोटका सकेन्द्र गौचन र भीम थकालीका २१ वटा याक र नाक मरेका थिए । khabardabali