कैलाली काँग्रेसमा यसरी सम्भव भयो नारायणदत्त भट्टको जित
पहिलो चरणको मतदान १५ माघमा सम्पन्न भएपछि मतगणनाबारे विवाद भएको थियो। भट्ट पक्षले जसरी मतदान भयो त्यसरी नै (निर्वाचन क्षेत्रअनुसार) मतगणना हुनुपर्ने माग राखेको थियो। बम पक्ष सबै क्षेत्रको मत मिसाएर गणना हुनुपर्ने अडानमा थियो। अन्ततः भट्ट पक्षको मागअनुसार मतगणना सुरु भयो।
पहिलो चरणको निर्वाचनमा निर्वाच क्षेत्र नम्बर १, ३ र ५ मा भट्टले बढी मत पाएका थिए भने २ र ४ मा बमको बढी मत थियो। ‘पहिलो चरणको मतगणनाले कस्ले सहयोग गरे–गरेनन् स्पष्ट बनाइदियो,’ भट्ट पक्षकै अर्का नेताले भने, ‘त्यसले दोस्रो चरणमा हामीलाई रणनीति बनाउन सहज भयो। पहिलो चरणमा भट्टको साथमा देखिएर पनि सहयोग नगरेका केन्द्रीय सदस्यहरु दोस्रो चरणमा भने भट्टलाई जिताउन सक्रिय भए।’
देउवाको फोटो राखेर उनैविरुद्ध उत्रिदा बमलाई घाटा
बम पनि विगतदेखि नै संस्थापन अर्थात वर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेता हुन्। तर यसपटक देउवाले बमलाई सभापतिमा रुचाएनन्। देउवाले भट्टलाई अघि सारेपछि चुनावी प्रचारमा बम देउवाविरुद्ध खनिए। देउवाकै फोटोसंगै आफ्नो फोटो राखेर प्रचाप्रसार गरिरहेका बमले सिंगो सरकार र प्रधानमन्त्री आफ्नाविरुद्ध लागेको भाषण दिए।
‘एकातिर देउवाविरुद्ध उत्रिने र अर्कोतर्फ देउवाकै फोटोसंग आफ्नो फोटो राखेर प्रचाप्रसार गर्ने बमको दोहोरो प्रवृत्तिलाई मतदाताले बुझे,’ भट्ट पक्षका नेता भन्छन्, ‘यसले हामीलाई दोस्रो चरणको निर्वाचनमा सहज भयो।’
सत्ताको दुरुपयोग भयो : बम पक्ष
बम पक्षको विश्लेषणमा पहिलो चरणमा सबैभन्दा बढी मत पाएर पनि दोस्रो चरणमा पराजित हुनुको कारण सत्ताको दुरुपयोग हो। ‘निर्वाचन क्षेत्र ४ र ५ मा ठूलै फरक नपरे पनि १ र २ मा सत्ताको दुरुपयोग गरेर मतदान गर्न लगाइएको छ,’ बम पक्षका एक नेताले भने, ‘जिल्ला तहका हरेक नेतालाई सांसदको टिकट दिने, विभिन्न नियुक्ति दिने आश्वासन बाडिएको छ। प्रत्येक प्रतिनिधिलाई २५ हजार रुपैयाँ बाडेर मतदान गर्न लगाइएको छ।’
सत्ताको दुरुपयोग भएपछि पहिलो चरणमा आफ्नो पक्षमा रहेका कार्यकर्तालाई पनि रोक्न नसकिएको तर्क बम समूहको छ। ‘पहिलो चरणको निर्वाचनमा गाउँबाट भरिएर आएका बस, दोस्रो चरणको मतदानमा खाली फर्किए,’ बम पक्षका नेता दिनेशखबरलाई भन्छन्, ‘यो अवस्था देखेर मतदानकै क्रममा हार हुन्छ भन्ने निश्चित भइसकेको थियो।dineshkhabar