चार महिने शिशुको मृत्युपछि कोशी अस्पतालमा प्रदर्शन
२० फागुन, विराटनगर । उपचारका क्रममा चार महिने शिशुको मृत्यु भएपछि विराटनगरको कोसी अस्पतालमा प्रदर्शन भएको छ ।
शुक्रबार उपचारका क्रममा चार महिने शिशु आरभ चौधरीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् ।
मृतकका आफन्तका अनुसार स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान शिशुलाई अस्पताल ल्याइएको थियो ।
इमरजेन्सीमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएको समूहले अस्पतालमा तोडफोडको प्रयास पनि गरेको छ । करिब दुई घण्टा प्रदर्शन गरेका मृतकका आफन्तले शव बुझेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । चिकित्सकले अब लापरवाही नगर्ने सहमतिपछि आफन्तले शव बुझेको उनले बताए ।onlinekhabar