‘सिंगो बुटवलः एक विद्यालय’ असफलताको संकेतः विद्यालयहरु कतै खुला कतै बन्द

0

गृहमन्त्रालयले जारी गरेको उक्त विज्ञप्तिसँगै शैक्षिक संस्थाहरु पनि बन्द वा खुला रहने अभिभावकहरु अन्यौलमा देखिए । त्यसैगरी शिक्षक कर्मचारीहरुलाई पनि यो सूचनाले अन्यौलनै गरायो । अन्यौलका बीच केही विद्यालय सञ्चालन भए भने केही विद्यालयले बिदा रहेको जानकारी अभिभावकहरुलाई गराए । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा समेत अन्यौलता आउँदा केही खुल्ने र केहीमा विदा गरियो ।

बुटवलका सामुदायिक विद्यालयहरु बीच नै तालमेल नमिलेको घटनाले उपमहानगरले गौरवका साथ भन्दै आएको ‘सिंगो बुटवलः एक विद्यालय’ को अवधारणामा प्रश्न उठेको छ । नगरभित्रका सबै सामुदायिक विद्यालयको समान शैक्षिकस्तर स्थापित गर्न ‘सिंगो बुटवलः एक विद्यालय’ अवधारणा लागू गरिएको उपमहानगरभित्र केही विद्यालयहरुमा पठनपाठन चलिरहेका छन् भने केही विद्यालय बन्द हुनुले प्रश्न उठेको हो ।

बुटवल–१० कालिकानगरमा अवस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले पठनपाठन सञ्चालन गर्दा बुटवल–११ नहरपुरमा अवस्थित नहरपुर माविले भने विदा मनाएको छ । यसैगरी नविन औद्योगिक मावि।, कान्ति मावि लगायतका सामुदायिक विद्यालयहरुले सार्वजनिक विदा मनाएका हुन् । समान शिक्ष लागू गर्ने दाबी गर्दै आएको उपमहानगरले शैक्षिक संस्थाहरुको पठपाठन सञ्चालन गर्ने सामान्य विषयमा पनि निर्देशन गर्न नसक्नुले ‘सिंगो बुटवलः एक विद्यालय’को अवधारणा नाराका लागि मात्रै हुने देखिएको छ ।

२०७४ सालमा नगर शिक्षा ऐन लागू गरेको उप–महानगरपालिकाको यो अवधारणा कार्यान्वयन सफल भएमा बुटवल शैक्षिक क्षेत्रमा नमूना बन्ने दाबी गरेको छ । नगर प्रमुख शिवराज सुबेदीले बुटवल उप–महानगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा शिक्षाको समानस्तर कायम गरी विद्यार्थीलाई नजिकैको विद्यालयमा अध्ययन गर्ने वातावरण तयार गर्न यस्तो अवधारणा अगाडि बढाईएको बताउने गरेका छन् ।

सुवेदीले बुटवलभित्रका जुनसुकै सामुदायिक विद्यालयमा अध्ययन गरे पनि शैक्षिकस्तर एउटै हो भन्ने मान्यता स्थापित गर्न सबै विद्यार्थीलाई समान शैक्षिक कृयाकलाप प्रदान गर्न ‘सिंगो बुटवलः एक विद्यालय अवधारणा’ अगाडि ल्याईएको बताउँछन् । उपमहानगरका शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालका अनुसार यहीँ अवधारणा कार्यान्वयनका लागि ४० लाख रूपैयाँ विनियोजन गरिएको छ । उपमहानगरले चालु आर्थिक वर्षमा शिक्षाका लागि ९ करोड बजेट बिनियोजन गरेको छ ।

बुटवल उप–महानगरपालिका भित्र ३८ वटा सामुदायिक विद्यालय छन् । ती मध्ये आधारभूत १२, माध्यमिक २२, विशेष १ र मदरसा ३ वटा छन् भने संस्थागत विद्यालयको संख्या ५७ रहेको छ ।globalaawaj

You might also like