कानुनी छिद्रले म-यो गैँडा
वसन्त पराजुली
भरतपुर, माघ २८ गते । राजमार्गसँगैको नाली निर्माणका क्रममा देखिएको लापरबाहीका कारण गैँडा मरेको सरकारद्वारा गठित छानबिन कार्यदलले निष्कर्ष निकालेको छ । राजमार्गमा १० किलोमिटरसम्म सडक बनाउँदा ईआईए प्रतिवेदन नचाहिने कानुनी छिद्र पत्ता लाएर नाली बनाउँदा गैँडा मरेको प्रतिवेदन कार्यदलले दिएको छ ।
पूर्वपश्चिम राजमार्गको टिकौली जङ्गलमा निर्माण हुँदै गरेको सडक नालीमा परेर गत माघ ९ गते चुरे र महाभारतबीच वन्यजन्तु ओहोरदोहोर गर्ने करिडोर बरण्डाभार वन क्षेत्रमा खनिएको नालीमा परी एक वयस्क गैँडा मरेको थियो । पूर्वपश्चिम राजमार्ग विस्तारसँगै नाली निर्माणका लागि खनिएको खाल्टोमा परेको गैँडा रड गडेर मरेकोे थियो । मरेको सम्बन्धमा छानबिन गर्न गठित समितिले सो निष्कर्षसहितको प्रतिवेदन सरकारसमक्ष प्रस्तुत गरेको छ ।
उक्त घटनाको छानबिन गर्न वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य हुनुहुन्थ्यो ।
मन्त्रालयमा बुझाएको अध्ययन प्रतिवेदनमा वन्यजन्तु ओहोरदोहोर गर्ने करिडोरमा समेत वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी राजमार्ग तथा नाली विस्तार गरिएको पाइएको उल्लेख छ । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले प्रतिवेदनबारे जानकारी दिँदै वन्यजन्तु ओहोरदोहोर गर्ने नाकामा भएको विकास निर्माणमा लापरबाही गर्नेलाई कानुनी कारबाही गर्नसमेत सिफारिस भएको जानकारी दिनुभयो ।
“पूर्वपश्चिम राजमार्ग विस्तार जस्तो ठूलो योजनामा छ किलोमिटर मात्रै सडक विस्तार गर्ने भनी ईआईए नगर्नु गम्भीर त्रुटि हो,” प्रतिवेदनका बारेमा जानकारी दिँदै प्रवक्ता काफ्लेले भन्नुभयो, “दस किलोमिटरभन्दा कम दूरीको सडक निर्माण गर्दा ईआईए गर्न नपर्ने भन्ने कानुनी छिद्र समात्दा यो दुर्घटना हुन पुग्यो ।”
वन्यजन्तु ओहोरदोहोर गर्ने कोरिडोरमा विकास निर्माणको काम हँुदा सङ्घीय सरकारका सरोकार मन्त्रालयहरूबीच समन्वय हुनुपर्नेमा सो समेत नभएको, नाली निर्माणको काम पूरा भए पनि खाल्टो नपुरिएको, वन्यजन्तु ओहोरदोहोर गर्ने नाकामा विकास निर्माणको काम भइरहँदा पनि चितवन राष्ट्रिय निकुञ्ज र यसका कर्मचारीले अनुगमन नगरेको निष्कर्ष कार्यदलको छ ।
कार्यदलका सदस्य एवं चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले गैँडा के कारण र कसको कमजोरीले म-यो भन्नेबारे सूक्ष्म अनुसन्धान गरी प्रतिवेदन सरकारलाई बुझाएको बताउनुभयो ।
यता भरतपुरको गोन्द्राङ सडक विस्तारका ठेकेदार कम्पनी इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई निकुञ्जले अझै पक्राउ गर्न सकेको छैन । निकुञ्जले ठेकेदार खड्काको लापरवाही भएको भन्दै चितवन जिल्ला अदालतसँग अनुसन्धानका लागि पक्राउ गर्न अनुमति लिए पनि निकुञ्जले उनलाई पक्राउ गर्न नसकेको हो !gorkhapatra