फेसबुक लाइभ आएर युवतीले गरिन् आत्महत्या

0

Jul 2, 2020

दाङको तुलसीपुरमा एक युवतीले फेसबुक लाइभ आएर आत्महत्या गरेकी छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी अन्दाजी २२-२३ वर्षीया एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फ्यानमा पासो लगाइ झुण्डिएर आत्महत्या गरेकी हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार एलिसा माइतीमा एक्लै बस्दै आएकी थिइन्।

उनका बुवाआमा भारत बस्छन्।  सम्बन्धबिच्छेद गरेकी उनको एक छोरी छन्। छोरी उनको पूर्वपति सँगै बस्छिन्।

गौतमले फेसबुकमा लाइभबाट आत्महत्या गर्न लागेको पहिलो खबर डिएसपी सिंहलाई चितवनका एक पत्रकारले दिएका थिए।

‘चितवनका एक पत्रकारले मलाई रातको १:२७ बजे फोन गर्नु भएको थियो,’डिएसपी सिंहले भने, ‘तपाईंको एरियामा एक जना लेडिजले फेसबुक लाइभमा आएर आत्महत्या गर्दैछ सक्नुहुन्छ भने उसलाई बचाउनुहोस् भन्ने जानकारी गराउनु भएको थियो।’

त्यसपछि लगत्तै डिएसपी सिंहले प्रहरी निरीक्षक झलकप्रसाद शर्माको नेतृत्वमा १२ जनाको प्रहरी टोली साइरन बजाउँदै सम्भावित क्षेत्रमा युवती खोज्न पठाए पनि बचाउन सम्भव भएन।

युवतीलाई बचाउन डिएसपी सिंहले युवती बसेको स्थान पत्ता लगाउन प्रहरीको साइबर क्राइम विभागसँग सम्पर्क गरेका थिए।

त्यसपछि साइबर क्राइमले उपलब्ध गराएको एक नम्बरमा सम्पर्क गर्दा त्यो नम्बरमा फोन हान्दा एक व्यक्तिले फोन उठाए। उनले घटना रानीजरुवा क्षेत्र भएको बताएपछि बल्ल त्यहाँ प्रहरी पुग्न सफल भयो।

त्यतिबेलासम्म बिहानको साढे ३ बजिसकेको थियो। सोझै झरेमा रानीजरुवा क्षेत्र इलाका प्रहरी कार्यालयवाट बढीमा जम्मा ५०० मिटरको दूरीमा पर्छ।  तर प्रहरी बाइक र गाडीमा साइरन बजाउँदै बस पार्कको घुमाउरो बाटो गयो। त्यसरी जाँदा त्यो दूरी झन्डै २ किलो मिटर पश्चिममा पर्छ।

प्रहरी पुग्दा युवतीले आत्महत्या गरिसकेकी थिइन्।

उनको आत्महत्याको कारण भने खुलिनसेकेको प्रहरीले जनाएको छ।

‘डिप्रेसनमा गएर पनि हुन सक्छ र कोही अरू युवासँग प्रेम अफियर भएर पनि हुनसक्छ,’ डिएसपी सिंहले भने, ‘हामी उनको नम्बरको सम्पर्कमा आएका पछिल्ला व्यक्तिहरूको सम्भावित व्यक्तिहरूको खोजीमा लागेका छौं।’

Daunne news

You might also like