बाघ संरक्षणमा उत्साह
काठमाडौँ — लक्ष्य अनुसारै १२ वर्षमा बाघको संख्या दोब्बर हुने सुनिश्चित हुनु वन्यजन्तु संरक्षणका क्षेत्रमा उत्साह सञ्चार गर्ने खबर हो । रुसको सेन्ट पिटर्सबर्गमा २०६७ सालमा गरिएको संकल्प बमोजिमै नेपालसहित भुटान, चीन, भारत र रुसले १२ वर्षको अवधिमा बाघको संख्या बढाएका हुन् ।
बाघ संरक्षणमा सफल भएबापत नै नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सत्यमंगलम् टाइगर रिजर्भले त डब्लूडब्लूएफ इन्टरनेसनलको ‘टी एक्स टु अवार्ड’ समेत पाउने भएका छन् । यो लक्ष्य तोक्दा नेपालमा बाघको संख्या १ सय २१ थियो भने २०१८ को गणनामै २ सय ३५ पुगिसकेको छ, र अहिले भैरहेको गणनामा दोब्बर पुग्ने विश्वास अधिकारीहरूको छ । यसरी प्रकृतिको यस अद्भुत जनावरको संख्या बढ्नुमा सरकार र साझेदार संस्थाहरूका अतिरिक्त स्थानीय समुदायको भूमिका पनि उत्तिकै छ ।
बाघको संख्या वृद्धिसित जोडिएर आएका/आउने चुनौती पनि त्यत्तिकै छन् । पहिलो त, संख्या बढेसँगै मान्छे र पशुमाथि बाघको आक्रमण बढेको छ । मानव–बाघ द्वन्द्व व्यवस्थापन तथा मानव–बाघ सहअस्तित्वमा विशेष ध्यान दिनुपर्ने भैसकेको छ । सामान्य रोजीरोटीकै निम्ति जंगलमा आश्रित समुदायहरूलाई आय–आर्जनका वैकल्पिक कार्यक्रमहरूमा समेट्न सक्ने हो भने यस्ता घटनाहरू स्वतः कम हुन्छन् । बर्दिया र चितवनमा बाघ मान्छेको बस्तीभित्र छिरेर उपद्रव मच्चाएका घटना कम छन् । खास गरी उसको बाटो, बासस्थान र आहार तथा बच्चा भएको खास क्षेत्रभित्र फेला परेका मान्छेमाथि आक्रमण भएको देखिन्छ । अतः जीविका चलाउने क्रममा मानिसहरू जंगल छिर्नुपर्ने अवस्थाको अन्त्य गर्ने हो भने बाघबाट त्यति डराइरहनुपर्ने देखिन्न । यसकै निम्ति बर्दिया राष्ट्रिय निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापन रणनीतिक योजना (२०७८–८३) लागू गरेको पनि छ । योजनामा निकुञ्ज, सरोकारवाला निकाय र समुदायबीचको सहकार्यबाट द्वन्द्व न्यूनीकरण गर्ने तथा स्थानीयको जीविकोपार्जनमा सुधार गर्ने कार्यक्रमलाई जोड दिइएको छ । स्थानीयवासीलाई पर्यटन लगायतका आयआर्जनका कार्यक्रमसित जोड्ने यस योजनाको उचित कार्यान्वयन भएमा बाघको आक्रमणजस्ता समस्या घट्ने विश्वास गर्न सकिन्छ ।
दोस्रो, संरक्षित क्षेत्रसँग जोडिएका सडकमा गाडीमा सवार यात्रुमाथि आक्रमणका घटना भएका छन् । यस्ता क्षेत्रका सडकलाई वन्यजन्तुमैत्री बनाउने अर्थात् जनावरलाई सडक पार गर्नका निम्ति ‘अन्डरपास’ र ‘ओभरपास’ निर्माण गरेर यो समस्या घटाउन जोड दिनुपर्छ । तेस्रो, संख्या बढ्दै जाँदा बाघकै बासस्थान विस्तार पनि गरिनुपर्छ । अहिले संरक्षण क्षेत्रबाहिरका सामुदायिक वन र मध्यवर्ती क्षेत्रबाहेक अन्यत्र पनि बाघहरू देखिन थालेका छन् । बाँकेको जंगलमा मात्र होइन, डडेलधुरा र इलामतिर पनि यो वन्यजन्तु उक्लिएको छ । तसर्थ, ती स्थानहरूमा मानव समुदायसित भोलिका दिनमा हुन सक्ने द्वन्द्व घटाउन पनि बाघको वासस्थान विस्तार गरिनुपर्छ । चौथो, खानाकै खोजीमा बाघलाई जंगलबाहिर निस्कन नपरोस् भनेर जंगलभित्र उसका आहार प्रजातिको संख्या वृद्धिमा पनि केन्द्रित हुनुपर्छ, तिनका लागि उचित बासस्थान, घाँस, पानी लगायतको व्यवस्था गरिनुपर्छ ।
समग्रमा बाघको बासस्थान, तिनको आहाराको यथोचित बन्दोबस्त र मानव समुदायसितको सहअस्तित्वजस्ता सबै पक्षमा ध्यान दिइयो भने बाघको संख्या वृद्धि त निरन्तर रहने नै छ, यसका उपोत्पादनहरूबाट पीडित पनि हुनुपर्दैन । त्यसका निम्ति अहिलेजस्तै गरी सरकारी संयन्त्र, साझेदार संस्था र स्थानीय समुदायबीच सघन सहकार्य निरन्तर भइरहनुपर्छ । यसो भएमा बाघमा आधारित पर्यटन प्रवर्द्धन गर्नसमेत सकिन्छ ।kantipur news