ओलम्पिकमा सोनिया : खजुरादेखि टोकियो

0

१९ वर्षीया जुडो खेलाडी सोनिया भट्टलाई जापानमा हुने टोकियो ओलम्पिकमा खेल्ने अवसर जुर्छ भन्ने पूर्ण विश्वास थिएन।  

यद्यपि, वाइल्ड कार्डको लागि आफ्नो नाम पनि पठाइएको भने थाहा थियो।

आफूभन्दा सिनियर र अनुभवी खेलाडीको नाम समेत नेपाल ओलम्पिक कमिटीले सिफारिस गरेका कारण उनलाई ओलम्पिक खेल्ने पाउँछुजस्तो लागेको थिएन।

तर जे विश्वास थिएन, त्यही भयो। सोनियाले वाइल्ड कार्ड पाइन्।

सुटिङकी कल्पना परियारसँगै सोनिया पनि शुक्रबार ओलम्पिकमा खेल्न जापान प्रस्थान गरिसकेकी छिन्।

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यको भनाइ मान्ने हो भने जुडोको जुनियर वर्ल्ड च्याम्पियनसिपमा एक बाउट जितेकै कारण सोनियाको ओलम्पिकको यात्रा निश्चित भएको थियो।

(बाउट भनेको जुडो खेलको एउटा चरणजस्तै हो। बाउटमा तीन तरिका इप्पोन, वाजा–अरी र युकोबाट अंक पाउन सकिन्छ। ती तीनमध्ये इप्पोन एकदमै महत्वपूर्ण हुन्छ। जसले इप्पोन जित्छ, ऊ तुरुन्तै बाउट विजेता ठहरिन्छ)

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) को छात्रवृत्तिमा सोनियासहित ७ खेलका १२ खेलाडी निरन्तर प्रशिक्षणमा थिए। तर त्यसमा वाइल्ड कार्ड पाउनेमा सोनियासँगै सुटिङकी कल्पना परियार रहिन्।

युनिभर्सालिटी प्लेसमा पौडीकी गौरिका सिंह, एलेक्स शाह र एथ्लेटिक्सकी सरस्वती चौधरीले टोकियो ओलम्पिकमा देशको प्रतिनिधित्व गर्दै छन्। भाग लिने ५ नेपाली खेलाडीमध्ये ४ महिला र एक पुरुष छन्।

सोनियाले ओलम्पिकमा ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्।

जब वाइल्ड कार्ड पाएको थाहा पाइन्…
सोनियालाई वाइल्ड कार्ड पाउँछु भन्ने विश्वास नै थिएन। तर जब थाहा पाइन्, अक्क न बक्क भइन्। के गर्ने कसो गर्ने कौतूहल भयो।

‘प्रशिक्षणमा मभन्दा सिनियर दाइ हुनुहुन्थ्यो, त्यसैले मेरो वाइल्ड कार्ड आउँछ भन्ने विश्वास थिएन। नसोचेको खबर आउँदा कस्तो रियाक्ट गर्ने नै थाहा भएन’, ओलम्पिकमा खेल्ने निश्चित हुँदाको क्षणबारे सोनियाले भनिन्, ‘एकदमै खुसी लाग्यो। तर, नसोचेको कुरा हुँदा हाँस्ने कि रुने भएको थियो।’

आफ्नो लागि वाइल्ड कार्ड आएको जानकारी पाउनेबित्तिकै सोनियालाई कसलाई सुनाऊँ भयो।

सुरुमा देवु (थापा) गुरुलाई फोन गरिन् त्यसपछि मम्मीसँग खुसीको खबर सुनाइन्।

‘गुरुले अब राम्रो भयो। प्रशिक्षणमा दुवै जना पुलिसको नै थियौ जसले खेले पनि खेल्ने हो राम्रो गरेर आऊ भन्नुभयो।’, उनले भनिन्।

उता खुसीको खबर सुनाउन मम्मीलाई फोन गरेकी सोनिया सुरुमा त बोल्नै सकिनन्।

‘उताबाट मम्मी के भो, के भो भन्नुहुन्थ्यो म बोल्नै सकेको थिइनँ। पछि मम्मी मेरो वाइल्ड कार्ड आयो नि भनेँ’, सोनियाले आमाको भनेको कुरा सुनाइन्, ‘उहाँले तँ डराइराखेको थिइस्, मैले भनेको थिएँ नि! आमाले भनेको कुरा कहिले गलत हुँदैन भनेर।’

अरुले पनि हौसला दिए
ओलम्पिकमा जाने निश्चित भएपछि चिनजानको सबैले सोनियालाई सफलताको कामना दिएको उनी बताउँछिन्।

‘राम्रो खेलेर आउ भनेका छन्। साथीहरुले पनि तिमी त ठुलो मान्छे भएछौँ, ओलम्पिक खेल्ने भइसक्यौ भन्छन्’, लजाउँदै सोनियाले भनिन्, ‘त्यस्तो सुन्दा आफूलाई जिस्काएजस्तो लाग्ने। यता उता आफ्नो फोटो, म्यासेज देख्दा पनि खुसी लाग्ने रहेछ।’
***
खजुरादेखि टोकियोसम्म
मध्यपश्चिमेली सहर नेपालगन्ज नजिकै रहेकाे खजुरा गाउँपालिका वडा नम्बर २ की सोनियाले जुडो खेल्न थालेको एक दशक हुन लागिसक्यो।

सुरुमा जुडो उनले गाउँमै झण्डै ३ वर्ष सिकिन्। पछि घरभन्दा ८ किलोमिटर टाढा नेपालगन्ज रंगशालामा पुगेर दलबहादुर र विजय गुरुसँग प्रशिक्षण लिन थालिन्।

१० वर्षको उमेरमा ३ कक्षामा पढ्दादेखि नै उनले जुडो खेल्न थालेकी थिइन्।

उनले भनिन्, ‘त्यो बेला म खेल्न जान थालेपछि गाउँका अन्य साथीहरु पनि जान थाले।’

सुरेश र पार्वतीको जोडीको तेस्रो सन्तान सोनियाका दुई दिदी र एक भाइ छन्।

पढाइ पनि सँगसँगै 
सोनियाले कक्षा १२ सम्म नेपालगन्जमै अध्ययन पूरा गरेकी छिन्।

ओलम्पिकबाट फर्केपछि उनले स्नातक भर्ना गर्ने योजना बनाएको बताउँछिन्।

१२ पढ्दापढ्दै नेपाल पुलिस क्लबमा आबद्ध हुन काठमाडौं आएकी सोनिया परीक्षा दिन भने उनी नेपालगन्ज पुगेकी थिइन्।

क्लबमा सुरुको २ महिना करारमा रहेकी उनी खेलाडी कोटाबाटै पुलिसमा भर्ना भइसकेकी छिन्।

अलि अलि डर लागेको छ
पुलिसकी आफ्नै प्रशिक्षक देवु गुरु, फुपू दिदी (ह्यामु खत्री) ले ओलम्पिक खेलिसकेकोले उनलाई पनि ओलम्पिक खेल्न इच्छा थियो।

‘अब म पनि त्यस्तै खेल्ने तयारीमा छु। त्यसैले उत्साहित छु’, उनले भनिन्, ‘तर त्यहाँ गएर कस्तो खेल्न सक्छु थाहा छैन, राम्रोसँग खेल्न सकिनँ भने कोच र देशको मिहिनेत यसै खेर जान्छ कि भनेर डर पनि लागिरहेको छ।’

जुडोबाट टोकियो ओलम्पिक खेल्न जाने सोनिया एक्लै हुन्। ‘केही गाह्रो हुन्छ कि जस्तो लागेको छ’, उनले भनिन्।

पुलिसमा देवु थापाले प्रशिक्षण दिए पनि सोनियाले ओलम्पिक सुरु हुन केही दिन बाँकी हुँदा जुडोका अर्का प्रशिक्षक सूर्य नारायण श्रेष्ठले प्रशिक्षण दिएका थिए।

दिनको दुई समय प्रशिक्षण गरेकी उनले सबैको साथ पाएको बताउँछिन्। कोचले पनि ठूलो सानो सबैखाले खेलाडीसँग प्रशिक्षण दिएका थिए।

अन्तर्राष्ट्रिय अनुभव
यसअघि जुडोका अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव सोनियासँग छ। सन् २०१८ मा एसियन क्याडेट च्याम्पियनसिप, हङकङ क्याडेट्स एसियन च्याम्पियनसिप लगायतका प्रतियोगिता उनले खेलिसकेकी छन्।
अन्तर्राष्ट्रिय सहभागितामा उनीबारे रोचक प्रसंग पनि छ।

सन् २०१९ मा मोरक्कोमा भएको जुनियर वल्र्ड च्याम्पियनसिप सोनियाले प्रतिस्पर्धा गरेकी थिइन्।  सुरुमा देशबाहिर खेल्दा उनलाई एकदमै डर लागेको थियो।

‘अफ्रिकी मूलका मानिस देखेपछि यसै पनि डर लाग्ने। पहिलो खेलमै अफ्रिकी मूलकी खेलाडीसँग खेल्नुपर्ने भयो’, सोनियाले त्यसबेलाको अनुभव सुनाइन्, ‘यो कुरा मैले चन्द्र गुरुलाई भनेँ, उहाँले केही हुँदैन भनेर हौसला दिनुभयो।’

अन्तमा, मोजाम्बिककी ती खेलाडीलाई सोनियाले हराइन्। त्यही जित उनलाई ओलम्पिक पुर्याउने बलियो माध्यम बन्यो।

‘ओलम्पिक खेल्ने मौका सबैले पाउँदैनन्। मैले पाएको छु। राम्रो गरेर फर्किनुपर्छ भन्ने छ’, उनले भनिन्, ‘फुल बाउट खेल्ने र कम्तीमा एक बाउट जित्ने टार्गेट छ।’

यसपटक वाइल्ड कार्डको माध्यमबाट ओलम्पिक खेल्ने क्रममा रहेकी सोनियाको भविष्यको योजना प्रस्ट छ।

‘अहिले वाइल्ड कार्डबाट ओलम्पिक खेल्दै छु तर अर्को पटक क्वालिफाई भएर ओलम्पिक खेल्ने सपना छ’, उनले भनिन्, ‘पुलिस क्लब र जुडो संघको सहयोग पाएँ भने त्यसमा सफलता प्राप्त गर्छु जस्तो लाग्छ।’

के भन्छन् प्रशिक्षक? 
प्रशिक्षक सूर्य नारायण श्रेष्ठले सोनियालाई २ साता प्रशिक्षण दिए। ओलम्पिक खेलाडीलाई प्रशिक्षण गराउन पाउनु आफ्नो लागि पनि मौका भएको श्रेष्ठ मान्छन्।

‘अलि बढी समय पाएको भए अहिलेभन्दा अझै राम्रो गर्न सकिन्थ्यो कि भन्ने लाग्छ’, उनले नेपालखबरसँग भने, ‘अहिले पनि उनी जुनियर खेलाडी हुन्। ओलम्पिकमा भने सिनियरमा प्रतिस्पर्धा गर्दै छिन्। सकेको राम्रो गर्ने नै प्रयास गराउने प्रयासमा छु।’

प्रशिक्षणमा सोनियाको टेक्निकल पार्टमा विशेष ध्यान दिएको उनले सुनाए।

‘लेफ्ट साइड अलिक कमजोर छ। त्यसलाई बलियो बनाउन फोकस गरेको छु। जुडो खेलाडीको दुवै पार्ट बलियो हुनुपर्छ’, उनले भने।

Nepal khaber

You might also like