गंगालालमा अक्सिजन उत्पादन सुरु, प्रतिदिन ६३४५ लिटर उत्पादन गर्ने क्षमता

0

काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबारदेखि अक्सिजन उत्पादन सुरु भएको छ। काठमाडाैं महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लाण्टको आइतबार एक समारोहकाबीच उद्घाटन भएसँगै अक्सिजन उत्पादनको काम सुरु भएको हो।

 

 

२०७६ साल माघ १५ गते महानगरपालिका र केन्द्रबीच अक्सिजन प्लाण्ट स्थापना गर्ने  सम्बन्धी सम्झौता भएको थियो। प्लाण्टको प्रतिदिन ६ हजार तीन सय ४५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ। चलनमा रहेको अक्सिजन सिलिण्डर अनुसार, प्रतिदिन एक सय ३५ वटा सिलिण्डर उत्पादन हुनेछ। एउटा अक्सिजन सिलिण्डरमा ४७ लिटर अक्सिजन हुने गर्दछ। सो अक्सिजन प्लाण्ट दुई करोड ७५ लाख रुपैयाँमा निर्माण भएको हो।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अक्सिजन मात्रै दिन सक्दा पनि धेरै विरामी बचाउन सकिने अवस्थामा अक्सिजन उत्पादन सुरु हुनु निकै राम्रो काम भएको बताए। अक्सिजन उत्पादनसँगै गंगालाल अस्पतालमा यसअघि खपथ हुने अक्सिजन अन्यत्र प्रयोग गर्न सकिने भएकाले कोरोनाका विरामीको उपचारमा पनि ठूलो सहयोग पुग्ने विश्वास उनले व्यक्तगरे।

अक्सिजन पर्याप्त भए पनि सिलिण्डर अभाव भएको कुरा आएको भन्दै शाक्यले सिलिण्डर होल्ड गर्ने काम नगर्न सबैलाई सचेत गराए। उनले अक्सिजन मास्क प्रयोग गर्नुपर्ने अवस्था आउन नदिन मेडिकल मास्क प्रयोग गरेर घरमै सुरक्षित भएर बस्न पनि सबैलाई अपिल गरे।

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले विगतमा पनि गंगालाल हृदयरोग केन्द्रले विरामीका लागि निशुल्क अक्सिजन उपलब्ध गराएको र भविष्यमा पनि निशुल्क नै उपलब्ध गराउने बताए।

उनले कोरोनाको लहर भन्दा अगाडिनै अक्सिजन प्लाण्ट स्थापना गर्ने योजना अनुसार प्लाण्ट निर्माणको काम अघि बढेको भएपनि अहिले अक्सिजन अभावको समस्या परेका बेला अक्सिजन उत्पादन हुनु निकै राम्रो कुरा भएको बताए। महानगरपालिकाले कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गरेको छ। अस्पतालमा अहिले अक्सिजन प्लान्ट निर्माणको काम भइरहेको छ।

Thaha khaber

You might also like