जलविद्युत् परीक्षणको तयारी
बेनी, फागुन १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिष्ट्रि खोला जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माणसँगै उत्पादन परीक्षणको तयारी भएको छ ।
माउन्टेन इनर्जी प्रालि नेपालले निर्माण गरी रहेको आयोजनाको ९९ प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । सुरुङ तथा पाइपमा पानी पठाएर परीक्षण गरिसकिएको छ भने अब पुनः पानी राख्ने एवं पावर हाउसभित्र इलेक्ट्रिकसम्बन्धी निर्माणका काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर दिवाकर खड्काले जानकारी दिनुभयो । फागुनभित्र विद्युत् उत्पादनका लागि परीक्षण सुरु हुने इन्जिनियर खड्काले बताउनुभयो ।
खड्काले भन्नुभयो, विद्युत् गृहभित्रको केही प्राविधिक काम भइरहेको र सबै सकिएपछि फागुन अन्तिमसम्ममा विद्युत्को परीक्षण उत्पादन हुनेछ । खड्काका अनुसार सिभिल क्षेत्रको सबै काम सकियो अब इलेक्ट्रो मेकानिकल पाटोको काम बाँकी छ त्यो सकिएपछि फागुनभित्रै विद्युत् उत्पादनको समेत
परीक्षण हुनेछ ।
दुई हजार तीन सय मिटर लामो सुरुङ तथा एक हजार छ सय मिटरको पाइपबाट ल्याइएको पानी तीन सय मिटर माथिको उचाइबाट टर्वाइनमा खसालेर विद्युत् उत्पादन गरिनेछ । नारच्याङमा निर्माण गरिएको आयोजनाको पावर हाउसदेखि दाना सब स्टेसनसम्म विद्युत् जडानका लागि ट्रान्समिसन लाइनसमेत आयोजनाले निर्माण सम्पन्न गरी तयारी अवस्थामा राखिएको इन्जिनियर खड्काको भनाइ छ ।
आयोजना ५६७ करोड रुपियाँभन्दा बढी लगानीमा निर्माण सम्पन्न हुन लागेको आयोजनाका लागि मिष्ट्री खोलाको मुहानतर्फ ड्याम निर्माण गरी ढोका राख्ने कामलगायत अन्य कामहरू सकिएको आयोजनाको हाइड्रो मेकानिकल इन्चार्ज दिलाराम श्रेष्ठले बताउनुभयो ।