रणनैतिक संयुक्त मोर्चाद्वारा मोर्चाका नेताद्वय भुसाल र केसीलाई तत्काल रिहा गर्न माग

रिहाइमा पहल गरिदिन मानवअधिकारवादी संघसंस्था, सञ्चार जगत र नागरिक समाजसँग अपिल

0

रवि पाण्डेय/टेक मास्की
बुटवल ७ फागुन – नेकपा (क्रान्तिकारी माओवादी ) सहित चार क्रान्तिकारी पार्टी सम्मिलित रणनैतिक संयुक्त मोर्चाले मोर्चाका केन्द्रीय सदस्य भेषराज भुसाल र सदस्य देवबहादुर केसीलाई तत्काल रिहा गर्न सरकारसंग माग गरेको छ ।
मोर्चाले शुक्रबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका मोर्चाका नेताद्वय भुसाल र केसीलाई रिहा गर्न माग गरेको हो ।
मोर्चाद्वारा बिहीबार बुटवलमा आयोजित सभामा सहभागी भएर फर्किदै गरेका नेता भुसाल र केसीलाई प्रहरीले बुटवलको मिलनचोकबाट पक्राउ गरेको थियो ।
मोर्चाका नेताहरु रामसिंह श्रीस र ऋषिराम कट्टेलले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेताहरुको रिहाइमा पहल गरिदिन मानवअधिकारवादी संघसंस्था, सञ्चार जगत र नागरिक समाजसँग अपिल गर्नुभएको हो ।
कार्यक्रममा नेकपा ( क्रान्तिकारी माओवादीका) स्थायी समिति सदस्य तथा मोर्चाका केन्द्रिय सदस्य रामसिंह श्रीसले क्रान्तिकारीहरुको एकताबाट सरकार तर्सिएको भन्दै नेताहरुको गिरफ्तारी सरकारको हतास मानसिकताको उपज भएको टिप्पणी गर्नुभयो ।
क्रान्तिकारी शक्तिबीचको धुब्रीकरण एकताका लागि मोर्चा गठन भएको बताउदै श्रीसले जनणतन्त्र/बैज्ञानिक समाजवादका पक्षमा देशैभर उभार आउने जनाउनुभयो ।
मोर्चाका अर्का केन्द्रिय सदस्य ऋषिराम शर्मा कट्टेलले नागरिकलाई स्वतन्त्रतापूर्वक आफ्नो अभिव्यक्ती राख्न समेत नदिएको भन्दै सरकारको यस्तो कदमले देशमा अर्को युद्ध निम्त्याउने बताउनुभयो । नेकपाका संयोजक समेत रहेका कटटेलले मोर्चाले कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा दिने दावी गर्नुभयो । विप्लव नेकपालाई मात्र किन हामीलाई पनि प्रतिबन्ध लगाओस् –कटट्ेलले भने – सामना गर्नका लागि संयुक्त कार्यक्रम लिएका आएका छौ ।
कार्यक्रम क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेको संचालनमा भएको थियो ।
क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सेक्रेटरी प्रेम सुवेदीले भुसाललाई भेट्न आफूहरु जिल्ला प्रहरी कार्यालय भैरहवा पुगेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयको भैरहवामा राखिएका नेता भुषाल र उनीसँगै पक्राउ परेका केसीको अवस्था बुझ्न रणनैतिक मोर्चाका केन्द्रिय सदस्य, मानवअधिकारकर्मी, वकिल र पत्रकारको समुह जिल्ला प्रहरी कार्यालय भैरहवामा पुगे पनि भुषाललाई काठमाण्डौं पठाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविन पोखरेलले जानकारी गराउनुभयो ।
भुषाल बिरुद्ध देशभर ५ बटा मुद्दा रहेको र उनलाई काठमाडौं पठाईएको एसपी पोखरेलले जानकारी दिएको मोर्चाका नेताहरुले बताएका थिए । काठमाडौं कहाँ राखिएको भन्नेबारे प्रहरी स्रोतले परिवारलाई समेत जानकारी नदिएको पारिवारिक स्रोतले जनाएको छ ।
भुसाललाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी हुदै पूर्व नवलपरासीमा लगिएको बताइएको छ ।

You might also like