सहरको रहर, गाउँ खण्डहर
गोरखा : बारीका ठुल्ठूला स्वाँरा (गरा)को माझामाझीमा एउटा सुन्दर बस्ती थियो। ढुंगामाटाका गारो। स्लेट ढुंगाको छाना। सबै घरमा आँखीझ्याल। कठबार ठोकेका कौशी र बार्दली निकालिएका दुई–तीनतले घर। एकबाट अर्को घर जोड्ने बाटोमा पनि ढुंगा बिछ्याइएको। गाउँको माझमा भीमसेन मन्दिर। गाउँ आसपास सुन्तला र आँपका बगैँचा। बेदमकली, गोलैँची (चुवा), गुलाबका बगैंचाले सुन्दर बनाएको यो गाउँको नाम हो, स्वाँरा।
जुन गाउँको नामबाट गाविसकै नामकरण गरियो। यही गाउँ खण्डहरमा परिणत भएको छ। यहाँका १४ घरका परिवार सबै बसाइँ गएका छन्। अहिले गाउँ रित्तो छ। सबै घरका ढोका ह्वांगै छन्। कोठा, चोटा, मझेरी, पिँढी र आँगन सिस्नु, ऐंसेलु र अँगेरीको झ्याङले ढाकेका छन्। गारो भत्किएका छन्। कठबार फुक्लिएका छन्। धुरी र छाना भाँचिएका छन्। कतिपयको पाली ढलेका छन्। कत्तिको धुरीमा बुट्यान उम्रिएका छन्। कतिपयको पुतली गारो उदांगो भएको छ।
बारीका ठुल्ठूला पाटामा, गाउँभित्र बनमारा, उन्यू, पाती फुलेको छ। गाउँसम्म विस्तार गरिएका बिजुलीको पोल ढलेका छन्। लाइन बेपरवाह लत्रिएका छन्। बारीको पुछार गरादेखि निष्पट्ट झाडीले गाउँभित्र छिरिनसक्नु भइसकेको सहर पसेकाहरूलाई थाहा पत्तो छैन।
‘घर छाड्दा कटक्क मन काटिएको थियो। कोही धुरुधुरु रोएका थिए। तर, अहिले भित्र बाघ छ कि भालु छ भनेर यहाँ आउन डर लाग्छ’, हुँडीखोलामा बसाइँ सरेका ६९ वर्षका शक्तिप्रकाश श्रेष्ठ भन्छन्, ‘म सबैभन्दा पछि झरेको हुँ। म निस्केको पनि ६ वर्ष भइसक्यो।’ अरू हिँडेपछि डर लागेर आफू पनि गाउँ छाड्न बाध्य भएको श्रेष्ठ बताउँछन्। ‘यता हेरे पनि रित्तो, उता हेरे पनि रित्तो’, उनी भन्छन्, ‘डरलाग्दो हुन थालेपछि मैले पनि छाड्न बाध्य भएँ।’
किन बसाइँ हिँडे गाउँले ?
स्थानीय कमलनारायण श्रेष्ठले सबैभन्दा पहिले गाउँ छाडेका थिए। ८६ वर्षका चन्द्रनारायण श्रेष्ठका अनुसार कमलनारायण ४४ वर्षअघि व्यापार गर्न गोरखा बजार गएका थिए। बाँकी तीन घरपरिवारले ०४५ सालमा गाउँ छाडे। त्यसपछि धमाधम कोही काठमाडौं, कोही चितवन, कोही पोखरा र कोही गोरखा बजार गएका चन्द्रनारायण सुनाउँछन्।
उनका अनुसार कसैले व्यापारको सिलसिलामा गाउँ छाडे त कसैले छोराछोरी पढाउन। कोही धेरै सम्पत्ति जोडेपछि सहरको सुख, सुविधामुखी भएर गाउँबाट पलायन भएको उनको भनाइ छ। ‘पहिले–पहिले व्यापार गर्न भनेर घर छाडेर सहरतिर गए। उनीहरूले आफ्ना खलकलाई ताने। कसैले धेरै पढे। सहरतिरै जागिर खाए। सहरमै घरघडेरी जोडे। आफ्नो खलकलाई उतै लगे’, उनी भन्छन्, ‘कोही विदेश गएर धेरै पैसा कमाएर उतै बसे। कोही राजनीति गर्ने भए, सहरतिरै रमाए। यो डाँडामा को आउने ? गाउँ छाड्न पाइँदैन, यहीँ बसिरहनुपर्छ भन्न पनि मिलेन।’
गाउँ छाडेर गएपछि कोही फर्केर नआएको शक्तिप्रकाश श्रेष्ठको भनाइ छ। ‘पिठ्युँ फर्काएर गएपछि कोही फर्केका छैनन्। कसैले फोन गरेर गाउँको हालत के कस्तो छ भनेर सोधेका पनि छैनन्’, उनी भन्छन्, ‘हाम्रा पनि छोराछोरी काठमाडौँमै व्यापार गरेर बसेका छन्। हातगोडा चल्न छाडेपछि हामी पनि कता हुने हो, थाहा छैन। अब त के फिर्ला र यो गाउँको अनुहार ?’
भूकम्पअघि ६ घरपरिवार गाउँमै थिए। ‘भूकम्पले घर भत्काइदियो, पानीको मूल पनि सुकाइदियो। साउनसम्म त त्रिपालमा जेनतेन गरेर बसेका थिए’, अर्का स्थानीय नारायण श्रेष्ठ भन्छन्, ‘यसैउसै नयाँ घर बनाउनुपर्ने भयो। गाउँभरिका बडेबडे तीनतले घर खाली भए। जता हेरे पनि डरलाग्दो भएपछि बचेखुचेका पनि हुँडीखोला झरे।’
गाउँमा मान्छे नभएपछि वनका बाँदरले बस्न, खान नदिएकाले पनि आफूहरूको उठिबास लागेको उनको भनाइ छ। ‘मेलापात, अर्मपर्म गर्ने मान्छे भएनन्। घरघरै बाँदर आउन थाले। बारीको अन्नबाली पनि राख्न दिएन। घरभित्रैको पनि लान थाल्यो त्यही भएर मान्छेले गाउँ छाड्न बाध्य भएको हो’, उनी भन्छन्। आफूले बनाएको पिँढी, कठबार फेरि आफैंले भत्काएर हुँडीखोला झर्नुपर्दा आँखाबाट बर्बर आँसु झरेको उनी सुनाउँछन्।
सहरमा गइसकेका यहाँका दुई परिवारले भूकम्पपीडितलाई सरकारले बाँडेको तीन लाख रूपैयाँ लिएर हुँडीखोलामा एककोठे घर बनाएका छन्। नयाँ घर बनाएर ताला लगाएपछि अहिलेसम्म उनीहरू पनि फर्केर आएका छैनन्।
संस्कृति संकटमा
स्वाँरा गाउँ करिब ३ सय वर्षअघि स्थापना भएको स्थानीयको अनुमान छ। ६५ वर्षीय नारायण श्रेष्ठका अनुसार उनीभन्दा चार पुस्ताअघि पाटन (ललितपुर)का कालिदास र दुर्गादास श्रेष्ठ व्यापारका क्रममा यहाँ आएका थिए। ‘कालिदास यहाँ आएर बयँरघारी फाँडेर बस्नुभयो। दुर्गादास ताकुकोटमा बस्नुभयो। अहिले जति पनि हामी छौँ, कालिदासकै सन्तति हौँ’, उनी भन्छन्, ‘आनापोम रक्सी दिएर स्वाँरा गाउँमा बसोबास गर्न थालेको चार पुस्ता भइसकेकाले कम्तीमा पनि ३ सय वर्ष पुगेको हाम्रो अनुमान छ।’
कालिदास पाटनबाट तान ल्याएर आसपासका गुरुङ गाउँमा घरबुनाको कपडा बेचबिखन गर्थे। ‘सिरानथरका गुरुङहरूलाई घरबुना कपडा र जिरा मरीच बेच्दा बेच्दै हाम्रा पुर्खाले उनीहरूको खेतबारी किने। अहिले यो घरखेत न नेवारलाई भयो न त उनीहरूलाई। खेतचाहिँ ग्याजीका किसानले गरेर खाएका छन्। पाखोबारी पटबाँझो भयो’, गाउँ छाडेका अर्का
सीताराम श्रेष्ठ भन्छन्, ‘गाउँ रित्तो भएपछि यहाँ प्रचलित संस्कार, संस्कृति पनि लोप भएको छ। भीमसेनथानमा नित्य पूजा हुन्थ्यो, त्यो हरायो। गुठी थियो, त्यो पनि हरायो। कुलदेवता पूजा हुन्थ्यो। गाउँले छिन्नभिन्न भएपछि त्यो पनि रहेन। गाउँको लाखे नाच्ने चलन थियो। त्यो पनि कहाँ पुग्यो।’
गाउँ रित्तो हुँदै गएपछि विभिन्न समस्या झेल्नुपरेको हुँडीखोलामा बसाइँ सरेकाहरूको दुखेसो छ। पुरानो थातथलो रित्तिएपछि हुँडीखोलामा बसेका ६ घरपरिवारलाई मर्दापर्दा हारगुहार दिने मान्छेको अभाव छ। दुःख पर्दा सौरपानीका नेवार समुदाय गुहार्नुपरेको शक्तिप्रकाश सुनाउँछन्।
स्वाँरा रित्तिएपछि छिमेकी गाउँलाई पनि असर परेको छ। मेलापात, अर्मपर्म गर्न जनशक्ति अभाव भएको गुरुङ गाउँका भोजबहादुर गुरुङ गुनासो गर्छन्। एउटा गाउँ नै रित्तिएपछि स्थानीय भानु आधारभूत विद्यालयमा विद्यार्थी कम भएर समस्या भएको उनको भनाइ छ। ‘हारगुहार, मेलापात, अर्मपर्म सबैमा असर परेको छ’, उनी भन्छन्, ‘दुइटा गाउँको माझ पारेर स्कुल खुलेको थियो। अब एउटा गाउँ नै रित्तिएपछि विद्यालयमा विद्यार्थी घटे।’ उनका अनुसार पाँच कक्षासम्म मात्र चलेको उक्त विद्यालयमा २७ जना मात्र विद्यार्थी छन्।
बेलाबेला काठमाडौंमा बस्ने युवाबीच गाउँलाई पुनः गुल्जार गर्नेबारे छलफल हुने गरेको सीताराम श्रेष्ठ बताउँछन्। ‘हामीले गत साता पनि पुरानो थातथलोलाई कसरी फेरि गुल्जार गर्ने भनेर छलफल गर्यौँ। एउटा सहकारी संस्था बनाएर पुख्र्यौली थलोमा अलैँची खेती गर्ने, मौरी पालन गर्ने कि भन्नेबारे छलफल भएको छ’, उनी भन्छन्।
Annapurna post