नाका खुलाउन अझै अन्योल
कञ्चनपुर — सरकारले थप १६ सीमा नाका खुला गर्ने निर्णय गरे पनि कञ्चनपुरको गड्डाचौकी नाका अझै खुल्न सकेको छैन । गृह मन्त्रालयबाट स्पष्ट आदेश नआएकाले नाका खुला हुन नसकेको हो ।
कञ्चनपुरको गड्डाचौकी नाकामा नेपाल भित्रिन लागेका नेपाली तथा आँखा उपचारका लागि आउन लागेका भारतीय नागरिकहरु । तस्बिर : भवानी भट्ट/कान्तिपुर
सरकारले गत बिहीबार चैतको लकडाउनसँगै बन्द भएका विभिन्न नाकाहरू खुला गर्ने निर्णय गरेको थियो । सोहीअनुसार भारतसँग जोडिएका कतिपय नाकाहरूमा आवागमन सहज भइसके पनि पश्चिमी नाका गड्डाचौकीमा भने निर्बाध आउजाउ हुन सकेको छैन । ‘निर्बाध रूपमा आवागमन हुन सक्ने भन्ने कुनै परिपत्र आएको छैन,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने, ‘तत्काल पूर्ण रूपमा आवागमन हुन सक्ने सम्भावना छैन ।’
अहिले कामको खोजीमा वा उपचारका लागि भारत जाने नेपालीलाई आधार कार्ड वा स्थानीय प्रशासनको सिफारिस अनिवार्य गरिएको छ । भारतीय क्षेत्रका नागरिकलाई भने आउन दिइएको छैन । सीमावर्ती क्षेत्रका व्यवसायीलाई भने दिनमा ८ जना मात्रै गरेर आउन दिने गरिएको छ ।
‘नेपालीहरूलाई आउन र जान रोकिएको छैन, पूर्ण रूपमा नाका सिल पनि छैन,’ प्रजिअ महतोले भने, ‘भारतीय नागरिकलाई आउन दिने कुनै निर्देशन छैन ।’ प्रजिअ महतोले नेपालीलाई आउजाउ गर्न रोक नभएको दाबी गरे पनि सीमापार गर्न खोज्नेहरू निकै झन्झट बेहोर्नुपरेको सुनाउँछन् ।
सरकारले गरेको निर्णय कार्यान्वयनमा स्थानीय प्रशासनले तदारुकता देखाउनुपर्ने कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले बताए । स्थानीय स्तरमा सीमा क्षेत्रका समकक्षीहरूसँग पनि समन्वय गरेर छिटोभन्दा छिटो नाकामा आवागमन सहज बनाइनुपर्ने उनको भनाइ छ । झन्डै एक वर्षदेखि नाका बन्द हुँदा सीमा क्षेत्रको व्यापार व्यवसाय ठप्प छ ।
बेलाबेलामा नाका खुलाउन माग गर्दै व्यवसायीले प्रदर्शन पनि गर्दै आएका छन् । सीमा क्षेत्रमा बिहेबारी भएका थुप्रै चेलीबेटीहरू छन् । सीमामा घन्टौं लाइन लाग्नुपर्ने र स्थानीय प्रशासनको सिफारिस खोजिने हुँदा उनीहरू माइतीसमेत जान सकेका छैनन् ।
Kantipur