आज प्रचण्ड माधव समुहको शक्ति प्रदर्शन, एक लाख कार्यकर्ता उतार्ने तयारी
माघ ९ काठमाण्डौं । पुष ५ मा संसद विघटन र पार्टी विभाजन पछि आन्दोलित बनेको नेकपा प्रचण्ड माधव समुहले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । एकलाख कार्यकर्ता उतार्ने सो समुहको दाबी छ ।
भोली बिहान पौने ११ बजे तोकिएका ९ स्थानमा भेला हुने कार्यकर्ताहरुको र्याली रत्नपार्कमा केन्द्रीत हुने छ ।
जनआन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले र्याली र त्यसको अगुवाई गर्ने नेताहरुको नाम सार्वजनिक गरेका छन् ।
माईतीघर, डिल्लीबजार, त्रिपुरेश्वर, लैनचौर, कुपण्डोल, प्रदर्शनी मार्ग, शान्तिवाटीका, त्रिचन्द्र कलेज र कालीमाटीबाट विभिन्न नेताहरुको अगुवाईमा र्याली निस्कने छ ।
आजको शक्ति प्रदर्शनमा नेकपाले बागमति प्रदेश र गण्डकी प्रदेशबाट कार्यकर्ता ल्याउदैछ ।
यस अघि पनि उसले राजधानीमा शक्ति प्रदर्शन गरेको थियो ।
सो समुहले संसद विघटन असंवैधानिक भन्दै संसद पुनस्थापना हुनु पर्ने माग गरेको छ ।
आजको प्रदर्शनमा तोकिएका बाहेक नाराबाजी गर्न निषेध गरिएको छ । यस प्रदर्शनलाई प्रचण्ड, माधव कुमार नेपाल लगायतका नेताले संवोधन गर्नेछन् ।
Mirmire Online